All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #37
July 2, 2026

१८औँ द्विवार्षिक प्रतिनिधि सभालाई ऐतिहासिक बनाउन पाँच सदस्यीय पर्यवेक्षक समिति गठन

📅 July 2, 2026
✍️ AAGSU
🕒 12:01 AM

गुवाहाटी, २८ जुन: अखिल असम गोर्खा छात्र संघ (आग्सु) को वर्धित कार्यकारिणी सभा गुवाहाटीस्थित स्वर्गीय मणि कुमार सुब्बा भवनमा सम्पन्न हुँदै आगामी १५ जुलाई २०२६, बुधबार धेमाजि जिल्लाको शिलापथारमा आयोजना हुन गइरहेको आग्सुको १८औँ द्विवार्षिक प्रतिनिधि सभालाई भव्य, व्यवस्थित तथा ऐतिहासिक रूपमा सम्पन्न गराउने लक्ष्यका साथ महत्वपूर्ण निर्णयहरू सर्वसम्मत रूपमा पारित गरेको छ। केन्द्रीय समितिका गरिष्ठ संख्यक पदाधिकारी तथा असमका अधिकांश जिल्ला समितिका पदाधिकारीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न सभामा प्रतिनिधि सभाको समग्र तयारी, व्यवस्थापन तथा कार्यक्रम सञ्चालनबारे विस्तृत समीक्षा गरिएको थियो।

सभामा प्रतिनिधि सभा केवल नियमित सांगठनिक कार्यक्रम मात्र नभई संगठनको भावी दिशा, नीति, नेतृत्व र आन्दोलनको मार्गचित्र तय गर्ने सर्वोच्च लोकतान्त्रिक मञ्च भएकाले यसको प्रत्येक पक्षलाई अत्यन्त जिम्मेवारीका साथ सम्पन्न गर्नुपर्नेमा जोड दिइएको थियो। प्रतिनिधि सभाको गरिमा, अनुशासन, व्यवस्थापन, प्रतिनिधिहरूको सहभागिता, आवास, स्वागत, स्वयंसेवक परिचालन, सुरक्षा व्यवस्था तथा विभिन्न उपसमितिहरूको कार्यप्रगतिबारे विस्तृत छलफल गर्दै आवश्यक निर्देशनसमेत प्रदान गरिएको थियो।

सभाको सबैभन्दा महत्वपूर्ण निर्णयस्वरूप प्रतिनिधि सभाको सम्पूर्ण तयारी, व्यवस्थापन तथा सञ्चालन प्रक्रियाको अनुगमन, समन्वय र आवश्यक परामर्श प्रदान गर्ने उद्देश्यले केन्द्रीय समितिका मुख्य उपदेष्टा बिरेन्द्र सुब्बाको नेतृत्वमा पाँच सदस्यीय पर्यवेक्षक (Observer) समिति सर्वसम्मत रूपमा गठन गरिएको छ। समितिमा पूर्व उप-सभापति पदम बराइली, बि.टि.सि क्षेत्रीय समितिका पूर्व मूल–सचिव डा. रमेश दाहाल, तेजपुर जिल्ला न्यायालयका वरिष्ठ अधिवक्ता खिरोद उपाध्याय तथा युवा वैज्ञानिक सागर भट्टराई सदस्यका रूपमा चयन भएका छन्। समितिले प्रतिनिधि सभाको सम्पूर्ण तयारीको नियमित अनुगमन गर्दै आवश्यक सुझाव, समन्वय तथा मार्गदर्शन प्रदान गर्ने जिम्मेवारी निर्वाह गर्नेछ।

सभाले प्रतिनिधि सभाको सफलताका लागि प्रत्येक जिल्ला समितिले आफ्नो जिम्मेवारी समयमै पूरा गर्दै सम्पूर्ण संगठनात्मक शक्ति परिचालन गर्नुपर्ने निष्कर्षसमेत निकालेको छ। सहभागीहरूले प्रतिनिधि सभालाई संगठनको इतिहासमा अनुकरणीय, उपलब्धिमूलक र स्मरणीय अधिवेशनका रूपमा स्थापित गर्न सम्पूर्ण कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

वर्धित कार्यकारिणी सभामा प्रतिनिधि सभाको कार्यक्रम, व्यवस्थापनको प्रभावकारिता, आर्थिक तयारी, प्रचार–प्रसार, प्रतिनिधि व्यवस्थापन तथा समग्र कार्यक्रमलाई अनुशासित, मर्यादित र सफल बनाउने विषयमा गहन छलफल भएको थियो। सभामा उपस्थित केन्द्रीय समितिका वरिष्ठ पदाधिकारी तथा जिल्ला समितिका प्रतिनिधिहरूले आ–आफ्नो क्षेत्रबाट प्रतिनिधि सभाको सफल आयोजनाका लागि पूर्ण प्रतिबद्धताका साथ कार्य गर्ने विश्वास व्यक्त गरेका थिए।

सभाको अन्त्यमा आगामी १५ जुलाईमा शिलापथारमा आयोजना हुने १८औँ द्विवार्षिक प्रतिनिधि सभालाई संगठनको इतिहासकै सबैभन्दा सफल, व्यवस्थित र ऐतिहासिक अधिवेशनका रूपमा सम्पन्न गराउने सामूहिक सङ्कल्प व्यक्त गर्दै सम्पूर्ण जिल्ला समिति, क्षेत्रीय समिति, पदाधिकारी, प्रतिनिधि तथा कार्यकर्तालाई तयारीलाई अझ तीव्र बनाउन आह्वान गरिएको छ।

📤 Share this story
← First Story in Issue
Scroll to Top