All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #17
February 12, 2026

नगाँव जिल्ला समिति, आग्सु द्वारा शोकसम्बेदना पत्र प्रदान

📅 February 12, 2026
✍️ AAGSU
🕒 12:05 AM

नगाँव, ९ फेब्रुअरी: अखिल असम गोर्खा छात्र संघ (आग्सु) नगाँव जिल्ला समितिले आज जिल्लाका दुई शोकसन्तप्त परिवारको निवासमा उपस्थित भई औपचारिक रूपमा शोकसम्बेदना पत्र प्रदान गरेको छ। हालै दिवंगत भएका श्रद्धेय लेखनाथ शर्मा तथा श्रद्धेय कमल चन्द्र शर्माको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै जिल्ला समितिले परिवारजनसँग प्रत्यक्ष भेटघाट गरी समवेदना प्रकट गरेको हो।
पहिलो शोकसम्बेदना कार्यक्रम अन्तर्गत आग्सु नगाँव जिल्ला समितिको प्रतिनिधि टोली दिवंगत श्रद्धेय लेखनाथ शर्माको निवासमा पुगेको थियो। १ फेब्रुअरी २०२६ को रात्री भागमा यस संसारबाट चिरविदा लिनु भएका श्रद्धेय लेखनाथ शर्मा एक सरल, शान्त र सदाचारी व्यक्तित्वका धनी थिए। ८ अप्रिल १९६२ मा जन्मनु भएका उहाँ दीर्घ समयदेखि जटिल रोगसँग संघर्षरत रहनु भएको थियो। उहाँ आग्सु नगाँव जिल्ला समितिकी पूर्व सम्पादिका बाधा ढकालका पिता समेत हुनुहुन्थ्यो। उहाँको निधनले परिवार मात्र नभई सम्पूर्ण क्षेत्र नै शोकमा डुबेको छ।


त्यसपछि जिल्ला समितिको टोलीले दिवंगत श्रद्धेय कमल चन्द्र शर्माको परिवारलाई पनि शोकसम्बेदना पत्र प्रदान गर्‍यो। २ फेब्रुअरी २०२६ को बिहान प्राप्त दुःखद समाचारले समग्र क्षेत्रलाई स्तब्ध बनाएको थियो। १ जुलाई १९८१ मा बाङलु गाउँको पहारगुरी क्षेत्रमा जन्मनु भएका श्रद्धेय कमल चन्द्र शर्मा शान्त, विनम्र र जिम्मेवार स्वभावका व्यक्ति थिए। उहाँ आग्सु केन्द्रीय समितिका शिक्षा विभागका पूर्व सदस्य लेखनाथ शर्माका भातृ हुनुहुन्थ्यो। सामाजिक सेवामा सधैं अग्रसर रहनु भएका उहाँ भारतीय जनता पार्टीको कलियाबर जिल्ला किसान मोर्चाका साधारण सचिवका रूपमा पनि सक्रिय रहनु भएको थियो।
दुवै शोकसम्बेदना कार्यक्रममा आग्सु नगाँव जिल्ला समितिको तर्फबाट जिल्ला सभापति रोहित धिताल, पूर्व जिल्ला सदस्य टिंकु शर्मा तथा अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। त्यस्तै, कलियाबर महाविद्यालय इकाइको तर्फबाट सल्लाहकार अर्पण कौशिक, इकाइ सभापति संजीव विश्वकर्मा, सदस्यहरू खुशबु उपाध्याय र सौरभ छेत्री उपस्थित रहनु भएको थियो।


आग्सु नगाँव जिल्ला समितिले दुवै परिवारमा पुगेर दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनलाई यो अपूरणीय क्षति सहन ईश्वरले शक्ति प्रदान गरून् भन्ने प्रार्थना व्यक्त गर्‍यो। उपस्थित प्रतिनिधिहरूले दिवंगत व्यक्तिहरूको सामाजिक योगदानको स्मरण गर्दै दुःखको यस घडीमा आग्सु परिवार सधैं शोकाकुल परिवारको साथमा रहने प्रतिबद्धता जनाए।
दुवै शोकसम्बेदना कार्यक्रममा स्थानीयवासीहरूको पनि सहभागिता रहेको थियो। कार्यक्रम शान्त र भावुक वातावरणमा सम्पन्न भयो। आग्सु नगाँव जिल्ला समितिले समाजले जिम्मेवार नागरिक गुमाउनु परेको यस क्षणलाई ठूलो क्षति ठहर गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।

प्रतिवेदक: अर्पण कौशिक-पूर्व सभापति, कलियाबर महाविद्यालय इकाइ

📤 Share this story
Scroll to Top