
तामुलपुर, ०३ जुन: तामुलपुर जिल्ला अन्तर्गत नाग्रिजुलीको १ नम्बर डोङारगाउँ निवासी वरिष्ठ संगठक, समाजसेवी, आग्सु शुभेच्छुक तथा असम गोर्खा सम्मेलन तामुलपुर जिल्ला समितिका सल्लाहकार होमलाल शर्माको असामयिक निधनप्रति अखिल असम गोर्खा छात्र संघले गहिरो दुःख व्यक्त गरेको छ।
अखिल असम गोर्खा छात्र संघका केन्द्रीय कार्यवाहक सभापति सञ्जीव चौहानको नेतृत्वमा आज संघको एक प्रतिनिधिमण्डल स्वर्गीय शर्माको शोकाकुल निवासमा पुगेर परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको गरे।
उक्त प्रतिनिधिमण्डलमा तामुलपुर जिल्ला समितिका सभापति टङ्क भट्टराई, उप सभापति राजेन अधिकारी, मूल सचिव विप्लव चिमरीया, सांगठनिक सचिव जनक नेवार, प्रचार सचिव केशव खड्का, नाग्रिजुली आञ्चलिक समितिका सभापति रविशंकर उप्रेती र मूल सचिव मिलन पौडेल लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सो प्रतिनिधिमण्डलमा असम गोर्खा सम्मेलनका पूर्व सभापति तथा असम सरकारका पूर्व मन्त्री पदमबहादुर चौहान पनि सामेल रहेका थिए।
संघका कार्यवाहक सभापति सञ्जीव चौहानले स्वर्गीय होमलाल शर्माले जीवन कालमा गोर्खा समाजको सामाजिक तथा सांगठनिक क्षेत्रमा पुर्याएको अतुलनीय योगदान सदैव स्मरणीय रहने उल्लेख गर्दै उहाँको निधनले गोर्खा समाजले जातिप्रति समर्पित एक कुशल संगठक तथा समाजसेवी गुमाएको बताएका छन्। साथै शोकाकुल परिवारजनलाई यस अपूरणीय क्षति सहन सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेका छन्।
प्रेरक: विप्लव चिमरिया-मूल सचिव, तामुलपुर जिल्ला समिति, आग्सु