All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #33
June 4, 2026

मुसलपुरमा आग्सु बि टि सी क्षेत्रीय समितिको विशेष अभिनन्दन कार्यक्रम भव्य रूपमा सम्पन्न

📅 June 4, 2026
✍️ AAGSU
🕒 12:04 AM

मुसलपुर, ३१ मेः अखिल असम गोर्खा छात्र संघ (आग्सु) बि टि सी क्षेत्रीय समितिको उद्योग तथा आग्सु बाक्सा जिल्ला समितिको आतिथ्यमा मुसलपुर सांस्कृतिक प्रकल्पमा आयोजित विशेष अभिनन्दन कार्यक्रम भव्य तथा गरिमामय वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गरेका कृति छात्र-छात्रा तथा विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रम बि टि सी क्षेत्रीय समितिका सभापति रोहित कुमार दाहालको सभापतित्व तथा मूल–सचिव राजु सुवेदीको कुशल सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रमको शुभारम्भ आग्सुका वरिष्ठ सल्लाहकार बीरेन्द्र सुब्बाले दीप प्रज्वलन गरी गर्नुभएको थियो भने उद्घाटन बि टि सी क्षेत्रीय समितिका प्राक्तन मूल–सचिव पृथ्वीलास भट्टराईले गर्नुभएको थियो।

समारोहमा आग्सुका केन्द्रीय सभापति सञ्जिव चौहान प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। आफ्नो सम्बोधनमा उहाँले विद्यार्थीहरू राष्ट्र र समाजका भविष्यका कर्णधार भएको उल्लेख गर्दै शिक्षा, अनुशासन र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो। त्यस्तै आग्सुका केन्द्रीय मूल–सचिव नुमल क्षेत्रीले निर्दिष्ट वक्ताका रूपमा संगठनको वर्तमान गतिविधि, शैक्षिक विकास तथा युवा पुस्ताको भूमिकाबारे विस्तृत धारणा राख्नुभयो।

कार्यक्रमका अनुप्रेरक वक्ता सि. के. जगदिसले विद्यार्थी र अभिभावकहरूलाई लक्ष्य निर्धारण, परिश्रम र सकारात्मक सोचको महत्वबारे प्रेरणादायी मन्तव्य राख्नुभयो। उहाँको सम्बोधनले उपस्थित विद्यार्थीहरूलाई उच्च शिक्षातर्फ उन्मुख हुन र आफ्नो क्षमतालाई पहिचान गरी अगाडि बढ्न प्रेरित गरेको थियो।

कार्यक्रममा सरकारी पक्षबाट उपस्थित माननीय विधायक मनेश्वर ब्रह्मले बि टि सी क्षेत्रका गोर्खा समुदायले भोगिरहेका विभिन्न समस्याहरूलाई चरणबद्ध रूपमा समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले शिक्षा, पूर्वाधार विकास तथा सामाजिक उत्थानका विषयमा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने आश्वासन दिनुभयो।

अगोस बि टि सी क्षेत्रीय समितिका सभापति पीताम्बर पाठकले आग्सु बि टि सी क्षेत्रीय समितिद्वारा आयोजित कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई प्रोत्साहन प्रदान गर्नुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो। अनेसास बि टि सी क्षेत्रीय समितिका सभापति भीष्म उपाध्यायले भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सबै पक्ष मिलेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

कार्यक्रमको महत्वपूर्ण आकर्षणका रूपमा बि टि सी क्षेत्रीय समितिका शिक्षा सचिव शंकर राईको नेतृत्वमा कृति छात्र-छात्रा तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका विशिष्ट व्यक्तित्वहरूलाई अभिनन्दन पत्र प्रदान गरिएको थियो। सम्मानित व्यक्तिहरूले आग्सुले प्रदान गरेको सम्मानलाई आगामी दिनमा अझ राम्रो कार्य गर्न प्रेरणाको स्रोतका रूपमा लिएको प्रतिक्रिया दिएका थिए।

उक्त गरिमामय कार्यक्रममा ज्ञानपीठ डिग्री कलेजका अध्यक्ष चन्द्रप्रसाद घिमिरे, बि टि सी क्षेत्रीय समितिका प्राक्तन मूल–सचिव जीवन भट्टराई, आग्सुका केन्द्रीय तथा क्षेत्रीय नेतृत्व, बि टि सी अन्तर्गतका पाँचवटै जिल्ला समितिका प्रतिनिधिहरू, अगोस बाक्सा जिल्ला समिति, अनेसास बाक्सा जिल्ला समिति, विभिन्न सामाजिक संघ-संस्थाका प्रतिनिधिहरू, कृति छात्र-छात्रा तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्त्यमा मूल–सचिव राजु सुवेदीले कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण महानुभावहरूप्रति आभार व्यक्त गर्नुभयो। सभापति रोहित कुमार दाहालले आफ्नो समापन मन्तव्य राख्दै सम्मानित व्यक्तिहरूलाई बधाई ज्ञापन गर्नुका साथै यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विशेष अभिनन्दन कार्यक्रमको औपचारिक समापन घोषणा गरेसँगै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो।

प्रतिवेदक: राजु सुबेदी- मूल-सचिव, बि.टि.सि. क्षेत्रीय समिति।

📤 Share this story
Scroll to Top