
डिब्रुगढ, ३१ जनवरी: गोर्खा उन्नयन परिषद, असम को पहल र गोर्खा सांस्कृतिक महोत्सव २०२६ कार्यान्वयन समितिको आयोजनामा राजगढ, डिब्रुगढ, असममा तीन दिने गोर्खा सांस्कृतिक महोत्सव २०२६ भव्यता र उत्साहका साथ सफलतापूर्वक सम्पन्न भएको छ। २९, ३० र ३१ जनवरी २०२६ सम्म सञ्चालन भएको महोत्सवको मूल नारा “Culture Survives – Community Thrives” रहेको थियो।
महोत्सवको समापन तथा सम्मान समारोहमा आखिल असम गोर्खा छात्र का सभापति श्री सुनील कुमार छेत्री प्रमुख अतिथिको रुपमा आमन्त्रित हुनुहुन्थो वाहाको अनुपस्थितिमा संघ का उप-सभापति श्री दिलिप गजुरेल को गरिमामय उपस्थित रह्यो। उहाँको उपस्थितिले कार्यक्रमलाई विशेष गरिमा प्रदान गरेको आयोजक समितिले जनाएको छ। गोर्खा विकास परिषद्, असमका तर्फबाट अतिथिलाई औपचारिक सम्मान अर्पण गरिँदै समुदायप्रतिको उहाँको दीर्घकालीन योगदानको कदर व्यक्त गरियो।
महोत्सव अवधिभर आग्सु केन्द्रीय समितिका मूल–सचिव श्री निर्मल छेत्रीको नेतृत्वमा केन्द्रीय दरबिलो टोली, असमका प्रायः सबै जिल्लाका समिति नेतृत्वहरू, साथै हजारौँको संख्यामा आञ्चलिक, महाविद्यालय तथा विश्वविद्यालय इकाइ र शाखा तहका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यस व्यापक सहभागिताले महोत्सवलाई जन–आन्दोलनको स्वरूप प्रदान गरेको देखियो।
तीन दिनसम्म चलेको महोत्सवमा गोर्खा समुदायको अमूर्त सांस्कृतिक धरोहरलाई उजागर गर्ने उद्देश्यसहित लोकनृत्य, लोकसंगीत, परम्परागत पोशाक, जातीय परिकार, हस्तकला तथा सांस्कृतिक प्रदर्शनीहरू प्रस्तुत गरिए। गोर्खा उन्नयन परिषद्, असमले असमका विभिन्न जिल्लामा महिनौँसम्म सञ्चालन गरेका सांस्कृतिक कार्यशालामार्फत छानिएका कलाकारहरूद्वारा अन्तिम प्रस्तुति दिइएको थियो, जसमा विभिन्न जाति र समुदायको सांस्कृतिक विविधता सजीव रूपमा प्रतिबिम्बित भयो।

आयोजकका अनुसार महोत्सव अवधिभर असमका विभिन्न स्थानबाट करिब एक लाख दर्शक–पर्यटकले सहभागिता जनाएका थिए। युवापुस्ता, विद्यार्थी, कलाकार र समाजसेवीहरूको सक्रिय उपस्थितिले सांस्कृतिक संरक्षण र सामुदायिक एकताको सन्देशलाई थप सशक्त बनाएको बताइयो।
गोर्खा सांस्कृतिक महोत्सव २०२६ कार्यान्वयन समितिका सभापति तथा गोर्खा उन्नयन परिसद का आध्यक्ष श्री प्रेम तामाङले महोत्सवको सफलतामा सहयोग पुर्याउने सबै अतिथि, कलाकार, स्वयंसेवक, विभिन्न संगठन तथा स्थानीय बासिन्दाप्रति आभार व्यक्त गर्नुभयो। उहाँले यस्ता कार्यक्रमहरूले गोर्खा समुदायको पहिचान, सांस्कृतिक निरन्तरता र सामाजिक सद्भावलाई मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। समग्रमा, राजगढ, डिब्रुगढमा सम्पन्न गोर्खा सांस्कृतिक महोत्सव २०२६ ले असमको बहुसांस्कृतिक पहिचानलाई उजागर गर्दै गोर्खा समुदायको समृद्ध सांस्कृतिक परम्परालाई राष्ट्रिय स्तरमा स्थापित गर्ने महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।