
रौता, ९ फेब्रुअरी: स्वतन्त्रता सेनानी दलवीर सिंह लोहारज्यूको १११ औं जन्म-जयन्तीको उपलक्ष्यमा अखिल असम गोर्खा छात्र संघ (आग्सु) रौता आञ्चलिक समितिको आयोजनामा सम्पन्न ११ औं दलवीर सिंह लोहार क्रिकेट प्रतियोगिताको फाइनल खेल हिजो ८ फेब्रुअरी रौता स्थित भानुचौक हाईस्कुल खेलमैदानमा सम्पन्न भएको छ। Dakku XI र Baishya XI बीच सम्पन्न चुडान्त खेलमा Dakku XI ले १०० रनको लक्ष्य पछ्याउँदै ५ विकेटले विजयी हुँदै प्रतियोगिता जित्न सफल भयो।
प्रतियोगितामा Dakku XI च्याम्पियन घोषित हुँदा Baishya XI Runner-up टोलीको रूपमा रह्यो। Champions ट्रफी स्व. शेर बहादुर राणा तथा स्व. टिकामाया देवीको स्मृतिमा रेनुका देवी ढकाल तथा परिवारद्वारा प्रदान गरिएको थियो भने Runner-up ट्रफी स्व. श्याम निरोलाको स्मृतिमा प्रकाश निरोला तथा परिवारद्वारा प्रदान गरिएको हो।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने Dakku XI का नूर आलम सरकार (फारुक) लाई ‘टुर्नामेन्टका उत्कृष्ट खेलाडी’ घोषित गरिएको छ। उक्त ट्रफी डीबीआईका प्रोप्राइटर संजय सिंहद्वारा प्रदान गरिएको थियो। Baishya XI का नितुल कालिता ‘सर्वाधिक रन बनाउने खेलाडी’ घोषित भए, जसको ट्रफी स्व. दुर्गा ओलीको स्मृतिमा मिलन ओलीद्वारा प्रदान गरिएको हो। त्यसैगरी Baishya XI कै नासिब ‘सर्वाधिक विकेट लिने खेलाडी’ घोषित भए, जसको ट्रफी स्व. लक्ष्मी कुमार पाण्डेको स्मृतिमा अमन पाण्डेद्वारा प्रदान गरिएको थियो। फाइनल खेलका उत्कृष्ट खेलाडीका रूपमा Dakku XI का बिजित डे घोषित भए, उक्त ट्रफी स्व. भोला आचार्यको स्मृतिमा तपन आचार्यद्वारा प्रदान गरिएको हो।

१८ जनवरीदेखि प्रारम्भ भएको यस प्रतियोगिताले खेलकुदमार्फत युवाहरूलाई सकारात्मक दिशामा अग्रसर गराउन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ। फाइनल खेल तथा पुरस्कार वितरण समारोहमा असम सरकारका केबिनेट मन्त्री चरण बोरो, बीटीसीका ईएम फ्रेश मोसाहारी, उदालगुडी जिल्ला समितिका आग्सुका मूल–सचिव किशोर सिर्पाली, जिल्ला समितिका अन्य पदाधिकारीहरू, बीटीआर क्षेत्रीय समितिका वित्त सचिव मणिराज छेत्री, रौता आञ्चलिक समितिका पदाधिकारीहरू, क्षेत्रका बुद्धिजीवीहरू तथा ठूलो संख्यामा जातिप्रेमी गोर्खा जनमानसको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण दाता परिवारहरू, खेलाडीहरू, स्वयंसेवकहरू, दर्शकहरू तथा शुभेच्छुकहरूप्रति अखिल असम गोर्खा छात्र संघ (आग्सु) रौता आञ्चलिक समितिले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।
प्रतिवेदक: राजीव शर्मा- सभापति, रौता आञ्चलिक समिति।