
खाकाराजान (कार्बी आङलङ), १८ नोभेम्बर — अखिल असम गोर्खा छात्र संघ देउपानी–निलिप आञ्चलिक समितिद्वारा १५ र १६ नोभेम्बरमा दुई दिने कार्यसूचीसहित भव्य तिहार समारोह सफलतापूर्वक सम्पन्न गरिएको छ। स्थानीय खाकाराजान क्षेत्रको सक्रिय सहभागिता, विभिन्न समुदायहरूको उपस्थिति तथा गोर्खा सांस्कृतिक ऐक्यबद्धताले कार्यक्रमलाई अझ अर्थपूर्ण बनायो।
कार्यक्रमको पहिलो दिन झण्डोत्तोलन तथा शहीद तर्पणसँगै सुरु भयो। संघका पदाधिकारी तथा स्थानीय नेताहरूले आग्सुको झण्डा फहराउँदै अमर शहीदहरूको त्याग र बलिदानलाई स्मरण गरे। त्यसपछि साहित्य प्रतियोगिता तथा बहुभाषिक कवि गोष्ठीको आयोजना गरियो जसमा गोर्खाली, बंगाली, असमिया लगायत विभिन्न भाषामा साहित्यिक प्रस्तुति दिइयो। विविधतामा एकताको सन्देश बोकेका कविताहरूले सभामा उपस्थित दर्शक–श्रोतालाई मन्त्रमुग्ध पारे।
साँझको सत्रमा तिहार विशेष सांस्कृतिक कार्यक्रम—लोक नृत्य, देउसी–भैली प्रतियोगिताले माहोल झनै उज्यालो बनायो। परम्परागत पोसाकमा सुसज्जित बालबालिका, युवा तथा महिलाहरूले प्रस्तुत गरेका आकर्षक नृत्य–गीतहरूले सभागृहलाई एकै पल्ट उत्सवमय बनाए। देउसी–भैली प्रतियोगितामा स्थानीय समूहहरूले सहभागी भएर आफ्नो कला कौशल प्रस्तुत गरेका थिए।
दोस्रो दिन दिउँसो १ बजेबाट विभिन्न जाति–जनजातिको सांस्कृतिक परम्परा झल्काउने भव्य शोभायात्रा निष्काशन गरियो। शोभायात्रामा विभिन्न ब्यानर–प्लाकार्ड, परम्परागत वेशभूषा तथा समुदायगत झाँकीहरू प्रस्तुत गरिए। बहुसांस्कृतिक पहिचान बोकेको शोभायात्राले कार्बी आङलङ क्षेत्रको सौहार्द र सहअस्तित्वको ऐक्यबद्धता झल्काएको थियो।
बेलुकी ४ बजेदेखि सुरु भएको खुला सभाले तिहार समारोहलाई औपचारिक तथा गम्भीर आयाम प्रदान गर्यो। कार्यक्रमका सभापति श्री हितेश अधिकारी हुनुहुन्थ्यो तथा स्वागत मन्तव्य राख्दै श्रीलखि लिम्बुले गोर्खा समुदायको सामाजिक, सांस्कृतिक पहिचान र अधिकारका विषयमा प्रकाश पार्नुभयो। संघले निरन्तर रुपमा उठाउँदै आएको मुद्दा–विचारहरूलाई दृढता र सहकार्यका साथ अगाडि बढाउनुपर्ने आवश्यकतामाथि उहाँले जोड दिनुभयो।
कार्यक्रमका मुख्य अतिथिमा कार्बी आङलङ जिल्ला समिति (आग्सु) का सभापति श्री नारायण छेत्री तथा कार्बी आङलङ स्वायत्त परिषद (KAAC) का मुख्य कार्यबाहक सदस्य डा. तुलीराम रंहाङ उपस्थित हुनुहुन्थ्यो। डा. रंहाङले आफ्नो सम्बोधनमा कार्बी आङलङमा बसोबास गर्दै आएका गोर्खाहरूको पहिचान र अधिकार सुरक्षित रहेको र माटोको अधिकारका सम्बन्धमा कुनै प्रकारको डर या शंका लिनुपर्ने आवश्यक नभएको स्पष्ट पार्नुभयो। “कार्बी आङलङमा सदियौंदेखि गोर्खाहरू बस्दै आएका छन्, यहाँका माटो–मान्छेले सदैव सहअस्तित्वलाई सम्मान गरेका छन्,” उहाँले भन्नुभयो।
निर्दिष्ट वक्ताका रुपमा अखिल असम गोर्खा छात्र संघका सांस्कृतिक सचिव श्री राकेश लामा उपस्थित हुनुहुन्थ्यो। उहाँले गोर्खा समुदायले आफ्नो अधिकार प्राप्त गर्न अधिकारिक तथा लोकतान्त्रिक संघर्ष जारी राख्नु पर्नेमा जोड दिनुभयो। शहीदहरूको बलिदानी गौरव गाथा स्मरण गर्दै उहाँले “हाम्रा शहीदहरूले देखाएको बाटो नै हाम्रो प्रेरणा हो,” भन्दै भावुक सम्बोधन गर्नुभयो।
सभामा विशिष्ट अतिथिको रूपमा असम विधानसभाका उपाध्यक्ष तथा बोकाजान समष्टिका विधायक डा. नुमल ममिन पनि उपस्थित हुनुहुन्थ्यो। उहाँले विभिन्न ट्राइबल क्षेत्रहरूमा गोर्खाहरू सुरक्षित श्रेणीमा समावेश भइसकेको उल्लेख गर्दै कार्बी आङलङमा समेत त्यही आधारमा गोर्खाहरूलाई अधिकार मिल्नुपर्ने तर्क राख्नुभयो। “सरकारी पक्षका गोर्खा नेताहरू मौन रहनु हुँदैन, समुदायका वास्तविक मुद्दा लागि प्रष्ट आवाज उठाउन आवश्यक छ,” उहाँले चेतना जगाउनु भयो।
प्रतिमा पाण्डे सम्मानद्वारा सम्मानित ‘कलाश्री’ विनोद खनालले गोर्खा संस्कृतिको संरक्षण सबैको सामूहिक जिम्मेवारी भएको बताउँदै आग्सु प्रति आफ्नो विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा असम गोर्खा सम्मेलनका पूर्व कार्बी आङलङ जिल्ला सभापति श्री केशव छेत्री, नेपाली साहित्य सभा कार्बी आङलङका मूल–सचिव श्री ओम प्रकाश शर्मा, आग्सु, केन्द्रीय समितिका का सह–मुखपत्र सचिव श्री महेश शर्मा, कार्बी आङलङ स्वायत्त परिषदका मनोनीत सदस्य श्री कृष्ण भट्टराई, गोर्खा उन्नयन परिषदका अध्यक्ष श्री प्रेम तामाङ लगायत अन्य शिक्षक, समाजसेवी तथा जातीय संगठनका छात्र नेताहरूको उल्लेख्य उपस्थिति थियो।
कार्यक्रमको अन्त्यमा स्वागतकारिणी समितिका मूल–सचिव श्री गमन छेत्रीले सबै अतिथि, सहभागी तथा सांस्कृतिक समूहहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। सभापति श्री हितेश अधिकाऱ्यले समापन मन्तव्य राख्दै दुईदिने तिहार समारोहलाई सफल बनाउने सबैलाई हार्दिक आभार व्यक्त गर्दै सभा सम्पन्न भएको घोषणा गर्नुभयो।
प्रतिवेदन: महेश शर्मा- सह मुखपत्र सचिव ( आग्सु)
