
दुलियाजान, नभेम्बर ४:- अखिल असम गोर्खा छात्र संघ (AAGSU), डिब्रुगड़ जिल्ला समितिको आह्वानमा डिब्रुगड़ जिल्ला अन्तर्गत गोर्खाली सामाजिक, शैक्षिक, सांस्कृतिक तथा धार्मिक संस्था–संगठनका प्रतिनिधिहरूको सहभागितामा एक ऐतिहासिक “बौद्धिक चिन्तन–मन्थन” कार्यक्रम दुलियाजानस्थित लक्ष्मी पेलेस प्रेक्षागृहमा सम्पन्न भयो।यस कार्यक्रमको मुख्य उद्देश्य डिब्रुगड़ जिल्लाभित्र बसोबास गर्ने गोर्खा समुदायले सामना गरिरहेका पहिचान, अस्तित्व, भाषा, संस्कृति र सामाजिक एकताको सवालमा गहिरो विचार–विमर्श गर्नु थियो।
कार्यक्रमको सुरुवात अखिल असम गोर्खा छात्र संघ (AAGSU), डिब्रुगड़ जिल्ला समितिका सभापति रत्न थापा ज्यूको बाहुलीबाट झण्डोत्तोलनका साथ गरियो। त्यसपछि जिल्ला मूल–सचिव दीपु घिसिङ ज्यूले स्मृति तर्पण गर्नुभो। असमका प्राणका शिल्पी जुबिन गर्गज्युको प्रतिच्छविमा माल्यार्पण गर्नु भो आग्सु डिब्रुगड़ जिल्लाका पुर्व मूलसचिव ताम्बे लिम्बुज्युले । कार्यक्रमको दीप प्रज्वलन पूर्व सचिव कैलाश आले ज्यूको बाहुलीबाट सम्पन्न भयो। यस क्रममा आग्सुका पूर्व कार्यकर्ता नित्य छेत्री, ज्ञान शर्मा, जयन्त रसाइली, कृष्ण नेवार, रामकुमार छेत्री, शिक्षागुरु राज कुमार आले लगायत विभिन्न गोर्खाली संस्था–संगठनका नेतृत्ववर्गले श्रद्धाञ्जली अर्पण गरे।
कार्यक्रमको अध्यक्षता जिल्ला सभापति रत्न थापा ज्यूले गर्नुभयो भने स्वागत–अभिभाषण जिल्ला सल्लाहकार प्रदीप भुजेल ज्यूले गर्नुभयो। उद्घाटन मन्तव्य जिल्ला सल्लाहकार गणेश लामा ज्यूले प्रदान गर्दै, यस किसिमका बौद्धिक विमर्शहरूले समाजभित्र विचारको स्पष्टता र आत्मपरिचयको जागरण ल्याउने विश्वास व्यक्त गर्नुभयो।
जिल्ला मूल–सचिव दीपु घिसिङ ज्यूले सभाको उद्देश्य प्रस्तुत गर्दै भन्नुभयो — “डिब्रुगड़ जिल्लामा बसोबास गर्ने गोर्खा महाजातिका सदस्यहरू अझै पनि कतिपय सामाजिक, सांस्कृतिक र प्रशासनिक समस्याहरूको सामना गरिरहेका छन्। हाम्रो पहिचानको प्रश्न अझै पनि विभिन्न भ्रम र असमझदारीका कारण अस्पष्ट छ। कतिपय स्थानमा अझै ‘नेपाली’ शब्दको प्रयोगले हामीलाई विदेशी झल्को दिने भ्रम फैलिरहेको छ। हामी दृढ़तापूर्वक यो भनिरहेका छौं कि हामी भारतीय गोर्खा जाति हौं — हाम्रो भाषा नेपाली भए पनि हाम्रो पहिचान ‘गोर्खा’ हो।”
उहाँले जिल्लास्तरमा बसोबास गर्ने सबै जातीय संगठनहरू, समाज, मन्दिर तथा संस्थाहरूलाई गोर्खा पहिचानलाई प्राथमिकता दिने कार्यमा एकजुट हुन आह्वान गर्नुभयो।
कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (AAGSU) का केन्द्रीय सचिव अजय कुमार आले ज्यूले भन्नुभयो — “हामी नेपाली भाषी हौं, तर हाम्रो पहिचान भारतीय गोर्खा हो। हामी यो देशका नागरिक हौं र हाम्रो अस्तित्व भारतको गौरवसंग जोडिएको छ। जातीय चेतना र एकता नै हाम्रो शक्तिको मूल आधार हो।”
त्यसैगरी केन्द्रीय सांगठनिक सचिव दीपक नेवार ज्यूले भन्नुभयो — “वर्तमान भारतीय संविधानले हामीलाई ‘गोर्खा’ भनेरनै सांवैधानिक मान्यता दिएको छ। त्यसैले हाम्रो प्रत्येक संस्था, प्रतिष्ठान र अनुष्ठानमा ‘गोर्खा’ नामको प्रयोग गर्नु हाम्रो पहिचानप्रतिको सम्मान हो।”
कार्यक्रममा विभिन्न प्रमुख गोर्खाली संस्थाका प्रतिनिधिहरूले पनि आफ्ना विचार प्रस्तुत गरे — भारतीय गोर्खा परिसंघ, डिब्रुगड़ जिला समितिका सभापति प्रेम बहादुर क्षेत्री, असम गोर्खा सम्मेलन डिब्रुगड़ जिल्ला सभापति मोहन उपाध्याय, असम नेपाली साहित्य सभा डिब्रुगड़ जिल्ला सभापति रोशन छेत्री तथा मूल–सचिव ऋतुराज कमल, गोर्खा नारी परिषद डिब्रुगड़ जिल्ला सभानेत्री बबी क्षेत्री तथा मूल–सचिवा कञ्चन समाल, साथै समाजकर्मी जापान थापा, सुरेन छेत्री, बादल गुरुङ, प्रकाश राई लगायतका व्यक्तित्वहरूले गोर्खा समाजको एकता र पहिचान सुदृढीकरणमा जोड दिए।
कार्यक्रममा उपस्थित बौद्धिक वर्ग, समाजसेवी, शिक्षाविद्, कलाकार र जनप्रतिनिधिहरूले सामूहिक रूपमा गोर्खा समाजको अस्तित्व र नामको प्रश्नमा गहिरो छलफल गरे। लामो विचार–विमर्शपछि सभाले सर्वसम्मतिले निम्नलिखित तीन महत्वपूर्ण सिद्धान्तहरू पारित गर्यो
(१) डिब्रुगड़ जिल्ला अन्तर्गतका सबै समाज, संस्था, मन्दिर, संघ, प्रतिष्ठान आदिले आफ्नो नाममा रहेको “नेपाली” शब्दको सट्टामा “गोर्खा” शब्द प्रयोग गर्न आह्वान।
(२) यसै सम्बन्धमा अखिल असम गोर्खा छात्र संघ (AAGSU) केन्द्रीय समितिलाई लिखित रूपमा पत्र प्रेषण गरी “गोर्खा” शब्दको प्रयोगलाई असमव्यापी अभियान बनाउने निर्णय।
(३) डिब्रुगड़ जिल्लाभित्रका सबै गोर्खा जातीय संस्था (आग्सु, अगोस, भागोप, अनेसास र गोर्खा नारी परिषद) का सभाहरू र कार्यक्रमहरूका लागि स्थानीय मन्दिर, सभागृह वा कार्यालयहरूले निःशुल्क अनुमति प्रदान गर्नुपर्ने सिद्धान्त स्वीकृत।
सभा अन्त्यमा निर्णय गरियो कि अखिल असम गोर्खा छात्र संघ (AAGSU) को “केन्द्रीय प्रतिष्ठा दिवस” दुलियाजानमा भव्य रूपमा आयोजना गर्न डिब्रुगड़ जिल्ला समितिले केन्द्रीय समितिसँग समन्वय गर्दै “स्वागत कारिणी समिति” गठनार्थ एक आम सभा बोलाउनेछ।
कार्यक्रमको अन्त्यमा सभापति रत्न थापा ज्यूले मन्तव्य दिँदै भन्नुभयो — “डिब्रुगड़ जिल्ला समितिले सधैं ऐतिहासिक कार्यको सुरुवात गर्दै आएको छ। पहिलो गोर्खा युवा महोत्सवदेखि केन्द्रीय तिहार सम्मेलनसम्म, हाम्रो जिल्ला समितिले उदाहरणीय भूमिका निर्वाह गरेको छ। आज हामीले जुन संकल्प गरेका छौं — ‘नेपाली’को सट्टामा ‘गोर्खा’ बनाउने अभियान — यही डिब्रुगड़बाट सुरु हुनेछ। यस अभियानमा अवरोध गर्ने कुनै पनि तत्वलाई हामी एकजुट भएर सामना गर्नेछौं।”
उहाँले उपस्थित सबै अतिथि, प्रतिनिधि, संस्था र कार्यकर्ताहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको विधिवत् समापन घोषणा गर्नुभयो।
✒रत्न थापा-सभापति, डिब्रुगड़ जिल्ला समिति (आग्सु )
