All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #6
November 27, 2025

अखिल असम गोर्खा छात्र संघ, डिमा हासाओ जिल्ला समितिको तेस्रो द्वैवार्षिक अधिवेशन सम्पन्न, नयाँ जिल्ला समिति गठन

📅 November 27, 2025
✍️ AAGSU
🕒 12:05 AM

डिमा हासाओ, २२–२३ नोभेम्बर २०२५ — अखिल असम गोर्खा छात्र संघ (AAGSU) डिमा हासाओ जिल्ला समितिको तेस्रो द्वैवार्षिक अधिवेशन गोर्खा भवन, अपर बगेतार, हाफ्लङमा दुई दिनसम्म अत्यन्त उत्साहपूर्ण, व्यवस्थित र अनुशासित रूपमा सम्पन्न भयो। २२ नोभेम्बरमा आयोजित प्रतिनिधि सभा तथा 23 नोभेम्बरमा सम्पन्न आमसभा सहित पूरा कार्यक्रम सफलतापूर्वक सम्पन्न हुँदै नयाँ जिल्ला समिति घोषणा गरिएको छ। अधिवेशनले संगठनात्मक विकासदेखि विद्यार्थी हितसम्मका सवालमा महत्वपूर्ण निर्णयहरू पारित गर्दै आगामी कार्यकालका लागि स्पष्ट तथा दिगो कार्यदिशा तय गर्‍यो।

सम्मेलनको पहिलो दिन २२ नोवेम्बरमा प्रतिनिधि सभा आयोजना गरिएको थियो, जसले आग्सु डिमा हासाओ जिल्लाको नयाँ नेतृत्व चयन गर्ने महत्वपूर्ण भूमिका खेलेको थियो। यस सत्रमा आग्सु केन्द्रीय समितिबाट कार्यालय सचिव बिकास शर्मा र सुचना एवं प्रविधि सचिव किरण खर्का पर्यवेक्षक का रूपमा उपस्थित थिए। उनीहरूले प्रतिनिधि सभाको कार्यविधि, छलफल र निर्णय प्रक्रियालाई नजिकबाट अवलोकन गर्दै केन्द्रीय समितिको तर्फबाट मार्गदर्शन प्रदान गरे। त्यस्तै, डिमा हासाओ जिल्लाबाट प्रतिनिधित्व गर्दै केन्द्रीय समितिका कार्यकारिणी सदस्य दिलीप छेत्री पनि उपस्थित रहेर सम्पूर्ण प्रक्रियामा सक्रिय सहयोग प्रदान गरे। प्रतिनिधि सभामा विगत कार्यकालका गतिविधि, संगठनात्मक संरचना, आर्थिक प्रतिवेदन, कार्यसम्पादन, समस्या तथा आगामी लक्ष्यबारे विस्तृत छलफल भयो। यसै सत्रले अवस्थित पुरानो जिल्ला समिति विघटन गर्दै नयाँ जिल्ला समिति गठन गर्‍यो।

सर्वसम्मत रूपमा गठित नयाँ जिल्ला समिति निम्नानुसार रहेको छ— सभापति: श्री उत्तम घर्ती, उपसभापति: दिलीप थापा, कृष्ण शर्मा, विशाल शर्मा, पूजा क्षेत्री,मूल–सचिव: श्री विवेकानन्द जोइशी, सचिव: आकाश उपाध्याय, खुश्बु थापा, विष्णु बराल, आकाश सुनार, सांगठनिक सचिव: शुभम थापा, बसु जोइशी, विरु थापा, बसु शर्मा, प्रचार सचिव: बिनोद क्षेत्री, शिक्षा सचिव: विशाल जोइशी, सह–शिक्षा सचिव: रिता सार्की र जेसिका सुनार, मुखपत्र सचिव: प्रतिक कार्की, सांस्कृतिक सचिव: कुसुम जोइशी, सह–सांस्कृतिक सचिव: ममता जोइशी र सीता गुरुङ, कार्यालय सचिव: रूपक शर्मा, स्वयंसेवक प्रमुख: केशव साइक, खेलकुद सचिव: रोहित जोइशी र गौरव शर्मा, अर्थ सचिव: सिबु उपाध्याय, साहित्य सचिव: सोनिया सुनार, सुचना एवं प्रविधि सचिव: उज्ज्वल जोइशी, कार्यकारिणी सदस्य: प्रकाश सुनार, अर्जुन सुनार, प्रकाश शर्मा, दीपक शर्मा, प्रेम जोइशी, गणेश शर्मा, बिन उपाध्याय, यमलाल घिमिरे, निख राना भट, गोविन्द क्षेत्री। नयाँ समिति गठनसँगै पहिलो दिनको प्रतिनिधि सभा समापन भयो।

दोस्रो दिन २३ नोभेम्बरमा आमसभा कार्यक्रम अत्यन्त उत्साहपूर्ण वातावरणमा सम्पन्न भयो। आमसभा निर्वतमान सभापति श्री केशव शर्मा ज्यूको अध्यक्षतामा आयोजना गरिएको थियो। सम्बोधनका क्रममा उहाँले विगत कार्यकालमा AAGSU डिमा हासाओ जिल्ला समितिले सामाजिक सेवा, सामुदायिक गतिविधि, शैक्षिक कार्यक्रम, युवा चेतना तथा गोर्खा पहिचान संरक्षणमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्नुभयो। उहाँले संगठनप्रतिको जिम्मेवारी पदावधिभन्दा ठूलो हुने बताउँदै आग्सु लाई अझ जनमुखी, पारदर्शी र प्रभावकारी बनाउन सबै तहका सदस्यहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

आमसभामा डिमा हासाओ स्वायत्त परिषदका MAC श्री कृष्ण प्रसाद जोइशी सहित प्रतिष्ठित अतिथिहरूले उपस्थिति जनाए। उनीहरूले आग्सु ले समाजमा खेलेको नेतृत्व, विद्यार्थी हितमा गरेको काम, सामाजिक उत्तरदायित्व तथा गोर्खा समुदायको पहिचान संरक्षणमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै भविष्यमा पनि निरन्तर सहयोग र सहकार्य जारी रहने आश्वासन व्यक्त गरे। वक्ताहरूले नयाँ समितिलाई सक्षम, समर्पित तथा उत्तरदायी नेतृत्वका रूपमा अभिव्यक्त गर्दै संगठनलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरे।

आमसभामा सहभागी प्रतिनिधि, पदाधिकारी र समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूले नयाँ नेतृत्वलाई पूर्ण विश्वास व्यक्त गर्दै डिमा हासाओ जिल्लामा आग्सु का कार्यक्रम, अभियान र गतिविधिहरूलाई अझ विस्तार, सुदृढ र प्रभावकारी बनाउने प्रतिज्ञा गरे। अधिवेशनमा केन्द्र, क्षेत्रीय, जिल्ला र आञ्चलिक स्तरका पदाधिकारी तथा गोर्खा समाजका बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

दुई दिनको सफल कार्यक्रम सम्पन्न गर्दै अधिवेशनलाइ संघका सबै समर्थक, सदस्य तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दै समापन गरिएको छ।

प्रतिवेदन: प्रतिक कार्की-मुखपत्र सचिव, डिमा हासाओ जिल्ला समिति (आग्सु)।

📤 Share this story
Scroll to Top