All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #30
May 14, 2026

उल्टापानी–लावन्यपुर जीवन ज्योति आञ्चलिक समितिद्वारा सफल विद्यार्थीहरूलाई भव्य सम्मान

📅 May 14, 2026
✍️ AAGSU
🕒 12:06 AM

कोकराझार, १० मइ : अखिल असम गोर्खा छात्र संघ (आग्सु) उल्टापानी–लावन्यपुर जीवन ज्योति आञ्चलिक समितिको आयोजनामा सन् २०२५–२६ को असम माध्यमिक तथा उच्च माध्यमिक परीक्षामा सफलतापूर्वक उत्तीर्ण भएका विद्यार्थीहरूलाई सम्मान तथा सम्बर्धना गर्ने कार्यक्रम आइतबार उल्टापानी (प्रोभि.) उच्च विद्यालय प्राङ्गणमा भव्य रूपमा सम्पन्न भयो। दिउँसो १ बजेबाट आरम्भ भएको उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षकवर्ग तथा संगठनका विभिन्न तहका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको मुख्य उद्देश्य शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रोत्साहन प्रदान गर्नुका साथै समाजमा शिक्षाको महत्वलाई अझ व्यापक बनाउनु रहेको आयोजक समितिले जनाएको छ। कार्यक्रममा माध्यमिक तथा उच्च माध्यमिक परीक्षामा सफल भएका विद्यार्थीहरूलाई सम्मान पत्र प्रदान गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरिएको थियो। सम्मानित विद्यार्थीहरूलाई खादा, प्रमाणपत्र तथा शुभकामना सहित सम्मान जनाइएको थियो।

कार्यक्रममा क्षेत्रीय समितिका शिक्षा सचिव श्रीमान् शंकर राईज्यू मुख्य वक्ताका रूपमा उपस्थित भई विद्यार्थीहरूलाई मेहनत, अनुशासन र लक्ष्यप्रतिको दृढताले मात्र सफलता सम्भव हुने उल्लेख गर्नुभयो। उहाँले वर्तमान प्रतिस्पर्धात्मक युगमा विद्यार्थीहरूले अध्ययनसँगै सामाजिक चेतना र नैतिक मूल्यलाई पनि आत्मसात गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले आग्सुले सदैव विद्यार्थीहरूको हकहित, शिक्षा तथा सामाजिक उन्नयनका लागि कार्य गर्दै आएको बताउँदै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

त्यसैगरी कार्यक्रमका मुख्य अतिथि अखिल असम गोर्खा छात्र संघ (आग्सु) कोकराझार जिल्ला समितिका वर्तमान सभापति श्रीमान् आइता सिंह लामाज्यूले विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै समाजको भविष्य शिक्षित युवाहरूको काँधमा रहेको बताउनुभयो। उहाँले ग्रामीण क्षेत्रका विद्यार्थीहरूले सीमित स्रोत–साधनका बीच पनि उत्कृष्ट नतिजा ल्याएर समाजको गौरव बढाएको उल्लेख गर्नुभयो। साथै उहाँले अभिभावक तथा शिक्षकहरूको योगदानको पनि प्रशंसा गर्नुभयो।

विशिष्ट उपस्थितिका रूपमा कार्यक्रममा सहभागी आग्सु कोकराझार जिल्ला समितिका मुख्य उपदेश्टा श्रीमान् मुकुन्द भट्टराईज्यूले विद्यार्थीहरूलाई निरन्तर अध्ययनशील रहन प्रेरित गर्दै शिक्षा नै समाज परिवर्तनको सबैभन्दा ठूलो माध्यम भएको धारणा व्यक्त गर्नुभयो। उहाँले युवापुस्ताले समाज, भाषा, संस्कृति तथा पहिचानको संरक्षणमा समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा विभिन्न वक्ताहरूले सफल विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ उच्च सफलता हासिल गर्न प्रेरणा दिएका थिए। कार्यक्रममा सांस्कृतिक प्रस्तुति तथा शुभकामना मन्तव्यहरूले थप आकर्षण थपेको थियो। अन्त्यमा आयोजक समितिले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि, शिक्षक, अभिभावक तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गरेको थियो।

प्रतिवेदक: सुमन तामाङ- साहित्य सचिव, कोकराझार जिल्ला समिति।

📤 Share this story
Scroll to Top