
टंला : 06 फेब्रुअरी: अखिल असम गोर्खा छात्र संघ, वि.टि.आर. क्षेत्रीय समितिद्वारा आयोजना गरिएको Special Merit Examination 2026 मा प्रथम स्थान हासिल गर्न सफल ओडालगुडी जिल्ला अन्तर्गत टङ्ला आञ्चलिक क्षेत्रका श्री चन्द्र थापा र सुश्री चन्दना थापा का सुपुत्र विवेक थापालाई औपचारिक रूपमा अभिनन्दन तथा शुभेच्छा व्यक्त गरिएको छ। उहाँको यो उल्लेखनीय उपलब्धिलाई टङ्ला आञ्चलिक क्षेत्र मात्र नभई सम्पूर्ण जिल्ला र वि.टि.आर. क्षेत्रकै लागि गौरवको विषयका रूपमा लिइएको छ।
अखिल असम गोर्खा छात्र संघका मान्यवर सभापति श्री सुनिल कुमार छेत्री ज्यूको नेतृत्वमा केन्द्रीय, क्षेत्रीय, जिल्ला तथा आञ्चलिक समितिका नेतृत्ववर्ग विवेक थापाको निवासमा उपस्थित भई सम्मान, अभिनन्दन तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभएको थियो। यस अवसरमा विद्यार्थीको मेहनत, अनुशासन र लगनशीलताले नै सफलता सम्भव भएको भन्दै निरन्तर अध्ययनप्रति समर्पित रहन प्रेरणा प्रदान गरिएको थियो। अभिभावकहरूको त्याग, मार्गदर्शन र सहयोगको पनि उच्च प्रशंसा गरिएको थियो।
उक्त प्रतिनिधिमण्डलमा आग्सुका सभापति श्री सुनिल कुमार छेत्री, मुख्य सल्लाहकार श्री बिरेन्द्र सुब्बा, वि.टि.आर. क्षेत्रीय समितिका सभापति श्री रोहित कुमार दाहाल, प्रचार सचिव श्री सोमराज सोनार, IT सचिव श्री किरण खड्का, सांस्कृतिक सचिव श्री त्रिदेव विष्ट, वि.टि.आर. क्षेत्रीय समितिका उपसभापति श्री पूर्ण विष्ट, ओडालगुडी जिल्ला समितिका उपसभापति श्री किरण सिग्देल, कार्यकारिणी सदस्य श्री रुपम आत्रेय, टङ्ला आञ्चलिक समितिका सभापति श्री सुरज कार्की, उपसभापति श्री मनोज सिग्देल तथा मूल सचिव श्री सञ्जय छेत्रीको गरिमामय उपस्थिति रहेको थियो।
उक्त भेटघाटका क्रममा शिक्षा क्षेत्रको महत्व, विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक वातावरणमा अघि बढ्न आवश्यक प्रेरणा तथा संगठनले विद्यार्थीहरूको प्रतिभा पहिचान र प्रोत्साहनमा खेलिरहेको भूमिकाबारे पनि संक्षिप्त छलफल भएको थियो। यस्ता सम्मान कार्यक्रमहरूले अन्य विद्यार्थीहरूमा समेत उत्कृष्टता हासिल गर्ने प्रेरणा जगाउने र शैक्षिक वातावरणलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको थियो।
साथै, संगठन र समुदायबीचको सम्बन्ध अझ प्रगाढ बनाउने, अभिभावक–विद्यार्थी–संगठनबीच आपसी विश्वास र सहकार्य बढाउने दिशामा यस प्रकारको पहल अत्यन्त महत्वपूर्ण रहेको धारणा राखिएको थियो। विवेक थापाको यस उपलब्धिले सम्पूर्ण क्षेत्रका विद्यार्थीहरूलाई उच्च लक्ष्य निर्धारण गरी निरन्तर प्रयास गर्न उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ।
प्रतिवेदन : सञ्जय छेत्री,:मुल सचिव, टंला आञ्चलिक समिति।