
दुलियाजन, फेन्सी बजार, नोभेम्बर १५: अखिल असम गोर्खा छात्र संघ (आग्सु ) केन्द्रिय समितिद्वारा गत ९ नोभेम्बरका दिन सम्पन्न वर्धित कार्यकारिणी सभामा पारित निर्णयअनुसार आज दुलियाजनस्थित विष्णु मन्दिर प्रक्षागृहमा स्वर्णजयन्ती वर्षको पहिलो कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्नुपर्ने उद्देश्यले एक भव्य आमसभा सम्पन्न भयो। यस आमसभाले आगमी २६ र २७ डिसेम्बर २०२५ मा डिब्रूगढ़मा भव्य रूपमा मनाइने संघको ५० औं स्थापना दिवस तथा त्यसै दिनबाट प्रारम्भ हुने स्वर्णजयन्ती वर्षका विविध कार्यक्रमहरूको तयारीलाई सुदृढ बनाउँदै स्वागतकारिणी समिति गठन गरेको छ।
सभाको अध्यक्षता रत्न थापाले गरेका थिए। कार्यक्रमका प्रमुख उद्देश्य र पृष्ठभूमिबारे दिपु घिसिङले विस्तृत प्रस्तुति दिँदै आग्सुको ५० वर्षे संघर्ष, योगदान र उपलब्धिहरूका साथै गोर्खा समुदायको सांस्कृतिक तथा सामाजिक पहिचान प्रसारमा संघको ऐतिहासिक भूमिकालाई स्पष्ट पारे। उनका अनुसार, आगामी स्वर्णजयन्ती वर्ष केवल आग्सु को इतिहासको सम्झना मात्र नभई सम्पूर्ण गोर्खा समाजलाई एकता, जिम्मेवारी र सामाजिक नेतृत्वतर्फ उन्मुख गराउने अवसर हो।
सभामा आग्सु केन्द्रिय समितिबाट मूल–सचिव नुमल छेत्री, सचिव अजय कुमार आले, सांगठनिक सचिव दीपक नेवार, शिक्षा सचिव भोजराज शर्मा एवं तिनसुकिया जिल्ला समितिबाट अशोक लामा तथा शेखर गुरुङको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई थप महत्व प्रदान गर्यो। साथै, गोर्खा सम्मेलन, नेपाली साहित्य सभा, गोर्खा नारी परिषद (डिब्रूगढ़ जिल्ला तथा आञ्चलिक एकाइ) सहित आग्सु, डिब्रूगढ़ जिल्लाअन्तर्गत सबै आञ्चलिक समितिहरूको सक्रिय सहभागिता उल्लेखनीय रह्यो।
सभामा सहभागी वक्ताहरूले संघको पाँच दशकको गौरवमय यात्रालाई स्मरण गर्दै संगठनलाई भविष्यमा अझ मजबुत बनाउने प्रतिवद्धता व्यक्त गरे। उनीहरूले गोर्खा समुदायको सामाजिक, सांस्कृतिक तथा शैक्षिक उन्नतिमा आग्सुले खेलेको भूमिकालाई प्रशंसनीय भन्दै स्वर्णजयन्ती वर्षलाई ‘ऐतिहासिक उपलब्धिको वर्ष’का रूपमा स्थापित गर्न सबैलाई आह्वान गरे।
कार्यक्रमलाई व्यवस्थित ढङ्गले सञ्चालन तथा अतिथि–सत्कार सुनिश्चित गर्न आजै स्वागतकारिणी समिति गठन गरिएको छ। यसमा सभापति-प्रेम बहादुर छेत्री,कार्यकारी सभापति-जापान थापा र प्राञ्जल शर्मा, मूल–सचिव- रत्न थापा रहेका छन्। समितिले सम्पूर्ण तयारीलाई संयोजित गर्दै डिब्रूगढ़मा हुने स्वर्णजयन्ती वर्षको उद्घाटन कार्यक्रमलाई ऐतिहासिक बनाउने लक्ष्य लिएको छ।
आग्सु को ५० औं स्थापना दिवस तथा स्वर्णजयन्ती वर्षका कार्यक्रमहरूले असमभरि सांस्कृतिक प्रस्तुती, सामाजिक परियोजना, शैक्षिक पहल, युवा नेतृत्व विकास तथा संगठनात्मक सुदृढीकरणका माध्यमबाट गोर्खा समुदायको पहिचान, समृद्धि र सामाजिक उत्तरदायित्वलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा व्यक्त गरिएको छ।
प्रतिवेदन : रत्न थापा – सभापति, डिब्रूगढ़ जिल्ला समिति (आग्सु )
