
गोलपारा,दामरा, १६ नोभेम्बरः अखिल असम गोर्खा छात्र संघ (आग्सु) गोवालपाड़ा जिल्ला अन्तर्गत दामरा आञ्चलिक समिति तथा दामरा आञ्चलिक गोर्खा महिला समितिको संयुक्त पहल र बाख्राखुटी गोर्खा समाजको सहयोगमा दशौं वार्षिक ‘तिहार बिदाई समारोह’ बाख्राखुटी युथ क्लब प्राङ्गणमा एक दिने विशेष कार्यसूची सहित भव्यतापूर्वक सम्पन्न भयो। गोर्खा समुदायको संस्कृति, परम्परा र सामाजिक ऐक्यताको प्रतीकका रूपमा आयोजना गरिएको यस समारोहले स्थानीय क्षेत्रमा उत्साह, एकता र सौहार्दपूर्ण वातावरण सिर्जना गरेको थियो।
समारोहकै अवसरमा दामरा आञ्चलिक समितिको प्रतिनिधि सभा सम्पन्न गरी नयाँ कार्यकारिणी समिति गठन गरिएको थियो। सर्वसम्मत निर्णयअनुसार गोपि बिस्वकर्मालाई सभापति र गनेश शर्मालाई मूल–सचिवका रूपमा महत्वपूर्ण दायित्व प्रदान गरियो। दामरा क्षेत्रमा संगठनलाई अझ सबल, सक्षम र जिम्मेवार बनाउने उद्देश्यासहित गठन गरिएको यो समितिलाई समुदायले स्वागत सहित शुभकामना व्यक्त गर्यो।
यसैगरी गोवालपाड़ा जिल्ला गोर्खा महिला समितिको तर्फबाट पनि नयाँ नेतृत्व घोषणा गरिएको थियो। जुतिका देवीलाई सभानेत्री र मंगली तामाङ जैसीलाई सम्पादिकाको दायित्व अर्पण गर्दै महिला संगठनलाई अझ सक्रिय तथा परिणाममुखी रूपमा अघि बढाउने संकल्प व्यक्त गरियो। महिला सहभागिता, सशक्तिकरण तथा सामाजिक चेतनाको क्षेत्रमा यो नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (आग्सु) केन्द्रीय समितिका उप-सभापति रोहित लम्साल, सह–सचिव रामकुमार श्रेष्ठ, असम गोर्खा सम्मेलन का उप-सभापति के.बी. सुनार, गोवालपाड़ा जिल्ला समितिका सभापति चुडामणी शर्मा, स्थानीय प्रशासनका प्रतिनिधि तथा दुधनै थाना OC ले विशेष आतिथ्य ग्रहण गरेका थिए। अतिथिहरूले गोर्खा समुदायको सांस्कृतिक पहिचान जोगाउन, संगठनात्मक एकता बलियो बनाउन र युवा पुस्तामा संस्कारगत चेतना जगाउन यस्ता कार्यक्रमहरू अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गरे।
साँझपख आयोजना गरिएको दीपप्रज्वलन समारोहले कार्यक्रमलाई झनै आकर्षक र भावनात्मक बनाएको थियो। गोवालपाड़ा जिल्ला गोर्खा छात्र संघका सभापति विनोद लम्साल तथा जिल्ला भारप्राप्त मूल–सचिव शिव शर्माले संयुक्त रूपमा दीप प्रज्वलन गर्दै सांस्कृतिक मञ्चको उद्घाटन गरे। उद्घाटनका विशेष अतिथिमा टंकेश्वर राभा, मुख्य कार्यबाही सदस्य, राभा हासंं अटोनोमस काउन्सिलको उपस्थिति उल्लेखनीय रह्यो। उहाँहरूले गोर्खा र राभा समुदायबीचको सुमधुर सम्बन्ध, सांस्कृतिक आदान–प्रदान तथा समाजिक सद्भावलाई अझ बलियो बनाउन यस्ता कार्यक्रमहरू सहयोगी हुने धारणा व्यक्त गरे।
गीत, नृत्य, देउसी–भैलो र परम्परागत सांस्कृतिक प्रस्तुतीहरूले कार्यक्रमलाई जीवन्त बनाएको थियो। स्थानीय युवा, महिला, वरिष्ठ नागरिक, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उत्साहपूर्ण उपस्थिति रह्यो। दामराको बाख्राखुटी क्षेत्र सांस्कृतिक र सामुदायिक रंगीन वातावरणले दिनभर गुञ्जिएको थियो।
दशौं वार्षिक तिहार बिदाई समारोह सफलतापूर्वक सम्पन्न भएपछि आयोजक समितिले सहभागी सबै प्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ सशक्त रूपमा सांस्कृतिक, सामाजिक र संगठनात्मक गतिविधिहरू अघि बढाइने प्रतिवद्धता व्यक्त गर्यो।
प्रतिवेदन: गणेश शर्मा,मूल-सचिव दामरा आञ्चलिक समिति (आग्सु) ।
