All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #11
January 1, 2026

अखिल असम गोर्खा छात्र सङ्घ (आग्सु) को स्वर्ण जयन्ती संघर्ष, पहिचान र भविष्य निर्माणको ऐतिहासिक यात्रा

📅 January 1, 2026
✍️ AAGSU
🕒 12:01 AM

अखिल असम गोर्खा छात्र सङ्घ (आग्सु) असमका गोर्खालीहरूको लागि केवल एउटा विद्यार्थी संगठन मात्र होइन, यो चेतना, संघर्ष, आत्मसम्मान र पहिचानको सशक्त प्रतीक हो। स्थापना भएको पचास वर्षको ऐतिहासिक यात्रा पूरा गर्दै छात्र संघ स्वर्ण जयन्तीको चरणमा प्रवेश गर्नु असमका गोर्खा समाजका लागि अत्यन्त गौरवको विषय हो। यहाँ गौरवमय अवसरमा 26 र 27

डिसेम्बर 2025 का दिन असमको डिब्रुगढ जिल्लाअन्तर्गत दुलियाजानमा स्वर्ण जयन्ती शुभारम्भ कार्यक्रम भव्य र ऐतिहासिक रूपमा आयोजना गरिएको थियो। यो कार्यक्रम केवल उत्सवमा मात्र सीमित नभई गोर्खा समाजको विगत, वर्तमान र भविष्यलाई एकै सूत्रमा बाँध्ने महत्त्वपूर्ण अवसरका रूपमा स्थापित भएको छ।

अखिल असम गोर्खा छात्र सङ्घको स्थापना असममा बसोबास गर्ने गोर्खा समुदायका विद्यार्थीहरूले भोग्दै आएको शैक्षिक, सामाजिक तथा पहिचानसम्बन्धी चुनौतीहरूको समाधान खोज्ने उद्देश्यका साथ भएको हो। स्थापनाकालदेखि नै संघले गोर्खा विद्यार्थीहरूको हक हित संरक्षण, समान अवसरको सुनिश्चितता, भाषा र संस्कृतिको जगेर्ना तथा सामाजिक न्यायका पक्षमा निरन्तर संघर्ष गर्दै आएको छ। अनेकौँ चुनौती, उपेक्षा र कठिन परिस्थितिका बाबजुद पनि छात्र

संघले आफ्नो मूल उद्देश्यबाट विचलित नभई संगठित चेतनाको मार्गमा अघि बढ्दै आएको इतिहास आज नयाँ पुस्ताका लागि प्रेरणाको अमूल्य स्रोत बनेको छ।

‘शिक्षा नै समाज परिवर्तनको आधार हो’ भन्ने मान्यतालाई आत्मसात् गर्दै आग्सुले असमका विभिन्न भू-भागमा शैक्षिक जागरण अभियान सञ्चालन गर्दै आएको छ। छात्रवृत्ति वितरण, शैक्षिक परामर्श, करियर मार्गदर्शन, गोष्ठी, सेमिनार तथा प्रतियोगितामार्फत संघले गोर्खा विद्यार्थीहरूलाई शिक्षाको मूलधारमा ल्याउन उल्लेखनीय योगदान पुऱ्याएको छ। यससँगै मातृभाषा, साहित्य, संस्कृति र ऐतिहासिक पहिचानको संरक्षणमा पनि संघको भूमिका अत्यन्त सराहनीय रहेको छ। भाषा, साहित्यकार, बुद्धिजीवी, सामाजिक अगुवा र आम जनताबीच संवाद र सहकार्यको वातावरण सिर्जना गर्दै गोर्खा छात्र संघले एकताको भावना सुदृढ बनाउँदै आएको छ।

दुलियाजानमा आयोजना गरिएको स्वर्ण जयन्ती शुभारम्भ कार्यक्रम असमका गोर्खा समाजका लागि ऐतिहासिक महत्त्व बोकेको छ। कार्यक्रमको प्रारम्भ परम्परागत गोर्खा संस्कृतिलाई झल्काउने झाँकी, झण्डोत्तोलन तथा दीप प्रज्वलनसँगै गरिएको थियो। यस अवसरमा संघका संस्थापक, पूर्व अध्यक्ष, मूलसचिव तथा विभिन्न कालखण्डमा नेतृत्व प्रदान गरेका व्यक्तित्वहरूको योगदानको स्मरण गर्दै विशेष सम्मान कार्यक्रम आयोजना गरिएको थियो। यसले संगठनको गौरवमय इतिहासलाई नयाँ पुस्तासँग जोड्ने सेतुको काम गर्नेछ भन्ने विश्वास गरिन्छ।

शुभारम्भ समारोहमा असम सरकारका प्रतिनिधि, विभिन्न सामाजिक-सांस्कृतिक संस्थाका अगुवा, शिक्षाविद्, साहित्यकार तथा बुद्धिजीवीहरूको उपस्थितिमा शैक्षिक, सामाजिक र समसामयिक विषयमा विचार गोष्ठी तथा परिचर्चा आयोजना गरिएको थियो। गोष्ठीमा गोर्खा समाजको शैक्षिक अवस्था, पहिचानको सवाल, भाषा संरक्षण, रोजगारका सम्भावना, युवाको भूमिका तथा संगठनको भावी दिशा सम्बन्धी गम्भीर विमर्श गरिने अपेक्षा गरिएको छ। यसले स्वर्ण जयन्तीलाई केवल उत्सव नभई वैचारिक चिन्तन र भविष्यको दिशानिर्देशन गर्ने मञ्चका रूपमा स्थापित गर्नेछ।

कार्यक्रमअन्तर्गत विद्यार्थी प्रतिभा सम्मान, पुस्तक विमोचन तथा स्वर्ण जयन्ती स्मारिका प्रकाशनजस्ता रचनात्मक गतिविधिहरू पनि समावेश गरिएका थिए। साथै, गोर्खा समाजको कला, संस्कृति र परम्परालाई उजागर गर्ने लोक संस्कृति प्रदर्शन, लोकनृत्य, गीत-संगीत तथा नाटक प्रस्तुति मार्फत महोत्सवलाई जीवन्त र स्मरणीय बनाइएक थियो। यी सांस्कृतिक प्रस्तुतिहरूले गोर्खा महाजातिको समृद्ध पहिचानलाई व्यापक समाजसमक्ष प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ।

स्वर्ण जयन्ती केवल विगतको स्मरण मात्र होइन, भविष्य निर्माणप्रतिको दृढ प्रतिबद्धता पनि हो। आगामी दिनहरूमा आग्सुले शिक्षा, रोजगार, सामाजिक न्याय, सांस्कृतिक संरक्षण र युवा नेतृत्व विकासका क्षेत्रमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। संगठित चेतना, शैक्षिक सशक्तीकरण र सामूहिक उत्तरदायित्व नै गोर्खा समाजको उज्ज्वल भविष्यको आधार हो भन्ने सन्देश यस स्वर्ण जयन्तीले प्रवाह गरेको छ।

यस ऐतिहासिक तथा गौरवमय अवसरमा सम्पूर्ण असमका गोर्खा समाज, विद्यार्थी, अभिभावक, बुद्धिजीवी तथा सामाजिक संस्थाहरूको स्वर्ण जयन्ती शुभारम्भ कार्यक्रममा सक्रिय सहभागिता रहेको देखिन्छ। सबैको साझा प्रयास, सहयोग र ऐक्यबद्धताबाट मात्र यो महोत्सव सफल, अर्थपूर्ण र दीर्घकालसम्म स्मरणीय बन्ने विश्वास गरिन्छ।

प्रतिवेदन: अनुप शर्मा खतिवडा, विश्वनाथ जिला समिति (आग्सु)

📤 Share this story
← First Story in Issue
Scroll to Top