
दुलीयाजान, दिसम्बर 12: अखिल असम गोर्खा छात्र संघ (आग्सु) को गौरवशाली स्वर्ण जयन्ती वर्षको शुभारम्भ उपलक्ष्यमा आयोजित पहिलो औपचारिक कार्यक्रम-“शुभारम्भ स्तम्भ” (लाईखुटा) स्थापना समारोह आज दिब्रुगढ जिल्लाको तेलनगरी दुलियाजनस्थित बिहुतली प्राङ्गणमा एक अत्यन्त श्रद्धाभावपूर्ण वातावरणमा सम्पन्न भयो। पाँच दशकको संघर्ष, योगदान र गौरवलाई स्मरण गर्दै संघले सुरु गरेको यो ऐतिहासिक समारोहले संगठनको स्वर्णिम यात्रामा नयाँ ऊर्जा, प्रतिबद्धता र एकताको सन्देश दिएको छ।
कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (आग्सु) का सभापति श्रीमान सुनील छेत्री, मूल–सचिव श्रीमान नुमल छेत्री सहित केन्द्रिय समितिका पदाधिकारीहरू सम्मानित रूपमा उपस्थित रहे। उनीहरूले संयुक्त रूपमा लाईखुट्टा स्थापना गर्दै स्वर्ण जयन्ती वर्षका विविध क्रियाकलापहरूलाई ऐतिहासिक, प्रभावकारी र सफल बनाउन सबै गोर्खा समाजलाई एकजुट रहने आह्वान गरे। सभापति छेत्रीले विगत ५० वर्षमा आग्सु ले खेलेको संघर्षपूर्ण भूमिकाको स्मरण गर्दै गोर्खा समुदायको पहिचान, अधिकार र अस्तित्व–सुरक्षाका लागि संगठन अझ सबल र सक्षम बन्दै जाने उल्लेख गरे। मूल–सचिव नुमल छेत्रीले स्वर्ण जयन्ती वर्षमा जनजागरण, संगठन विस्तार र लक्ष्य–आधारित कार्यक्रमहरूलाई प्राथमिकता दिइने जानकारी प्रस्तुत गरे।
उक्त समारोहलाई विशिष्ट बनाउने प्रमुख पक्ष भने विभिन्न गणमान्य व्यक्तित्वहरूको उपस्थिति थियो। गोर्खा उन्नयन परिषद् (GDC) का अध्यक्ष तथा आग्सुका पुर्व सभापति श्री प्रेेम तामाङ प्रमुख रूपमा उपस्थित रहे। उनले आग्सु को पाँचदशकसम्मको संघर्ष र योगदानप्रति सम्मान व्यक्त गर्दै गोर्खा समाजको भावी प्रगतिमा संगठनको भूमिका अझ निर्णायक हुने टिप्पणी गरे। त्यस्तै, मिचिंग स्वायत्तशासी परिषद् (MAC) का कार्यकारी सदस्य श्री पद्म कुमार राईले गोर्खा–मिचिंग समुदायबीचको सहकार्य, सद्भाव र सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउँदै सामाजिक एकताको उदाहरण स्थापित गर्नुपर्ने धारणा प्रस्तुत गरे।
स्वागतकारिणी समितिका सभापति श्री प्रेम बा. छेत्री, कार्यकारी सभापति श्री जापान थापा, कोषाध्यक्ष श्री नमराज प्रधान, मूल-सचिव सचिव श्री रत्न थापा, साथै दिब्रुगढ जिल्ला समिति, तिनसुकिया जिल्ला समिति र दिब्रुगढ जिल्ला नारी परिषद्का पदाधिकारीहरूको सक्रिय उपस्थिति र संयोजनले कार्यक्रमलाई थप आकर्षक, मर्यादित र सार्थक बनायो। समारोहमा स्थानीय नागरिक, विद्यार्थी, शुभेच्छुक तथा विविध सामाजिक संस्थाका प्रतिनिधिहरूको उत्साहजनक सहभागिताले सम्पूर्ण कार्यक्रम भव्य र सफल रह्यो।
आज दुलियाजनको बिहुतली प्राङ्गणमा स्थापित गरिएको परम्परागत बाँसको “शुभारम्भ स्तम्भ” लाईखुट्टाले स्वर्ण जयन्ती वर्षको औपचारिक सुरुवात मात्र होइन, असमका सम्पूर्ण गोर्खा समाजलाई एकताको सूत्रमा बाँध्ने प्रेरणादायी सन्देश प्रदान गरेको छ। आग्सु ले यस ऐतिहासिक वर्षमा सम्पूर्ण गोर्खा जनसमुदायलाई संगठनका लक्ष्यहरू सफल बनाउन हातेमालो गर्न हार्दिक आह्वान गरेको छ।
प्रतिवेदन : सोमराज सोनार — प्रचार सचिव, अखिल असम गोर्खा छात्र संघ (आग्सु)
