All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #6
November 27, 2025

अखिल असम गोर्खा छात्र संघ (आग्सु) को स्वर्ण–जयंती समारोह दुलियाजानमा भव्य रूपमा प्रारम्भ हुने तयारी

📅 November 27, 2025
✍️ AAGSU
🕒 12:02 AM

दुलियाजन, नवेम्बर 21: अखिल असम गोर्खा छात्र संघ (आग्सु)को गौरवशाली स्वर्ण–जयंती समारोह आगामी २६ र २७ डिसेम्बरमा डिब्रुगढ जिल्लाको दुलियाजानमा ऐतिहासिक गरिमाका साथ सम्पन्न हुने तयारीमा छ। गोर्खा समाजको गौरव, अस्तित्व, इतिहास, त्याग र संघ–संगठनको पाँच दशक लामो यात्रा स्मरण गर्दै दुलियाजानलाई केन्द्र बनाएर आयोजना गर्न लागिएको यो महोत्सव असमभरिका गोर्खाहरूका लागि विशेष गर्वको विषय बनेको छ।

आज २१ नोभेम्बर २०२५ का दिन दुलियाजानस्थित अइल बिहुतली परिसरमा स्वर्ण जयन्तीको अस्थायी कार्यालयको औपचारिक उद्घाटन गरियो। असममा बसोबास गर्ने सम्पूर्ण गोर्खा समुदायको साझा भावना, एकता र पहिचानलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको यस महोत्सवलाई सफल बनाउन असमवासी दाजुभाइ–दिदीबहिनीहरूका तर्फबाट व्यापक सहयोग र सहभागिताको अपेक्षा राखिएको छ।

उद्घाटन समारोहमा अखिल असम गोर्खा छात्र संघ (आग्सु)का माननीय सभापति श्री सुनिल छेत्री ज्यू विशेष रूपमा उपस्थित रहनुभयो। उहाँले सन्तान, संस्कार, भाषा, साहित्य, परम्परा र राजनीतिक चेतनाको क्षेत्रबाट असमका गोर्खाहरूले समाजमा देखाउँदै आएको योगदानको चर्चा गर्दै पाँच दशक पुरानो यो संगठनले एकताबद्ध रूपले अघि बढ्नु आजको प्रमुख आवश्यकता भएको बताउनुभयो। उहाँका अनुसार, स्वर्ण–जयंती केवल उत्सव मात्र नभई आगामी दशकको मार्गचित्र निर्माण गर्ने ऐतिहासिक क्षण पनि हो।

कार्यक्रममा संघका उपदेष्टा श्री बिरेन्द्र सुब्बा ज्यू, मूल–सचिव श्री नुमल छेत्री ज्यू, केन्द्रीय समितिका अन्य विषयगत पदाधिकारीहरू, स्वागत समिति (अभ्यर्थना समिति) का सभापति श्री प्रेम बहादुर छेत्री, वित्त सचिव श्री नमराज प्रधान, सांस्कृतिक उपदेशक श्री प्रकाश राई, सांस्कृतिक सचिव श्री बादल गुरुङ लगायत केन्द्रीय टोलीका सदस्यहरू उपस्थित रहनुभयो।

त्यसैगरी डिब्रुगढ जिल्ला समिति का सभापति तथा स्वागत समितिका “मूल–सचिव” श्री रत्न थापा ज्यू सहित डिब्रुगढ जिल्ला समितिका विषयगत पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति देखियो। धेमाजी जिल्ला समितिका सभापति श्री सोमराज पुरी, दारंग जिल्ला समितिका सभापति(तदर्थ) श्री हरि कार्की लगायत विभिन्न जिल्लाबाट आएका पदाधिकारी तथा शुभेच्छुकहरूले दुलियाजानमा हुने ऐतिहासिक समारोहको तयारीलाई थप ऊर्जा प्रदान गरेका छन्।

कार्यक्रममा उपस्थित वक्ताहरूले अखिल असम गोर्खा छात्र संघ (आग्सु) ले विगत ५० वर्षमा संघर्ष र योगदानका माध्यमबाट असमको सामाजिक, सांस्कृतिक र शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गराउँदै स्वर्ण–जयंती वर्षले संगठनलाई अझ सबल र सशक्त रुपमा अघि बढाउने विश्वास व्यक्त गरे।

स्वर्ण–जयंती समारोहको तयारी तीव्र गतिमा अघि बढिरहेको आयोजक समितिले जनाएको छ। दुलियाजानका स्थानीय स्वयम्सेवक, नागरिक समाज, बुद्धिजीवी, विद्यार्थी, विभिन्न सामाजिक संस्था र गोर्खा समुदायका प्रतिनिधिहरू निरन्तर समन्वयमा जुटिरहेका छन्। समारोहमा असमका विभिन्न जिल्लाबाट हजारौँ गोर्खा प्रतिनिधि, विद्यार्थी, कार्यकर्ता र शुभेच्छुकहरूको सहभागिता हुने अनुमान गरिएको छ।

उद्घाटन समारोह सफलतापूर्वक सम्पन्न गर्दै आयोजक पक्षले असमवासी सबैलाई दुलियाजानमा हुने यस ऐतिहासिक अवसरलाई अझ भव्य बनाउने लक्ष्यका साथ हार्दिक निमन्त्रणा व्यक्त गरेको छ।

📤 Share this story
Scroll to Top