
मार्घेरिटा, १४ जुनः असम नेपाली साहित्य सभा केन्द्रीय समिति, मार्घेरिटा जिल्ला समिति तथा अन्तर्गतका सम्पूर्ण शाखा समितिहरूको संयुक्त सहयोगमा आयोजित मारुनी नृत्य प्रशिक्षण शिविर आइतबार सफलतापूर्वक सम्पन्न भएको छ। नेपाली कला, साहित्य, भाषा तथा सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले आयोजित उक्त प्रशिक्षण शिविरको समापन समारोह उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
कार्यक्रममा विभिन्न क्षेत्रका साहित्यप्रेमी, संस्कृतिकर्मी, प्रशिक्षार्थी तथा सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विशेषगरी अखिल असम गोर्खा छात्र संघ तिनसुकिया जिल्ला समितिको सक्रिय सहभागिताले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो। समापन समारोहमा आग्सु तिनसुकिया जिल्ला समितिका मूल–सचिव शंकर जैसी, उप-सभापति गोपी छेत्री, उप-सभापति मिलन शर्मा, शिवु छेत्री, विष्णु शर्मा तथा मुन्ना प्रधान लगायतका प्रतिनिधिहरू उपस्थित भई कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए।
समारोहमा वक्ताहरूले गोर्खाली समाजको मौलिक पहिचान बोकेको मारुनी नृत्य केवल मनोरञ्जनको माध्यम मात्र नभई भाषा, संस्कृति र परम्पराको जीवित धरोहर भएको उल्लेख गरे। बदलिँदो सामाजिक परिवेशमा यस्ता लोककलाहरूलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउनु अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गर्दै उनीहरूले सांस्कृतिक चेतना अभिवृद्धिका लागि यस्ता प्रशिक्षण शिविरहरू निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिएका थिए।
प्रशिक्षण अवधिभर सहभागीहरूले मारुनी नृत्यको इतिहास, सांस्कृतिक महत्व, प्रस्तुतीकरण शैली तथा व्यावहारिक पक्षबारे प्रशिक्षण प्राप्त गरेका थिए। प्रशिक्षार्थीहरूले पनि प्रशिक्षणबाट महत्वपूर्ण ज्ञान र अनुभव हासिल गरेको बताउँदै आयोजकप्रति आभार व्यक्त गरेका थिए।
समापन समारोहमा प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरेका सम्पूर्ण प्रशिक्षार्थीहरूलाई बधाई तथा उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरिएको थियो। साथै नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सबै पक्षले सामूहिक रूपमा योगदान दिनुपर्ने आवश्यकता औँल्याइएको थियो।
कार्यक्रमको सफल आयोजनाले नेपाली समुदायमा सांस्कृतिक चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सहभागीहरूले बताएका छन्। आयोजक संस्थाहरूले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा संस्कृतिमूलक कार्यक्रमहरूलाई निरन्तरता दिँदै नेपाली समाजको मौलिक पहिचान जोगाउन थप प्रभावकारी पहल गरिने विश्वास व्यक्त गरेका छन्।
प्रतिवेदक: जतन प्रधान- सांगठनिक सचिव (IT Incharge) , तिनसुकिया जिल्ला समिति।