
तामुलपुर, १२ अगस्त: प्रलयकारी बाढीका कारण सर्वस्व गुमाएका माथिल्लो असमका बाढीपीडित परिवारहरूलाई सरकार प्रशासन, विभिन्न दल संगठन, स्वयंसेवी संस्था तथा सहृदयी व्यक्तिहरूले आ-आफ्नो गच्छेअनुसार मानवीय सहयोग पुर्याउँदै आएका छन्।
यसै क्रममा शिवसागर जिल्लाअन्तर्गत नाजिराको बिहुबर नेपालीखुट्टीका बाढीपीडित परिवारहरूको साथमा उभिँदै तामुलपुर जिल्लाको पूर्व डेफेलीवासी गोर्खा समाजले मानवीय सहयोगको हात अघि सारेको छ।
जानकारी अनुसार, अखिल असम गोर्खा छात्र संघ, असम गोर्खा सम्मेलन, असम नेपाली साहित्य सभा तथा गोर्खा नारी विकास समिति, भोलाझारको संयुक्त आह्वानमा पूर्व डेफेली अञ्चलवासी गोर्खा समुदायका विभिन्न कीर्तन संघ तथा सहृदयी व्यक्तिहरूको सक्रिय सहयोगमा नेपालीखुट्टीका बाढीपीडित असहाय परिवारहरूबीच राहत सामग्री वितरण गरिएको हो।
राहत अभियानमा पूर्व डेफेली अञ्चलको गोर्खा समाजको प्रतिनिधित्व गर्दै छविलाल ओली, जगत प्रधान, शिबु सोनार, बुद्धिकृष्ण उप्रेती, विप्लव चिमरिया, विशाल मैनाली, दिग्विजय लुइँटेल, विनोद चापागाईं, अनुप ओली, चिरञ्जीवी विश्वकर्मा तथा राजु मगरलगायत प्रतिनिधिहरू नेपालीखुट्टी पुगेका थिए।
प्रतिनिधिमण्डलले १०० भन्दा बढी बाढीपीडित परिवारलाई नगद सहयोग राशि तथा छात्रछात्राहरूलाई लेखन सामग्री वितरण गर्नुका साथै बाढीपीडितहरूसँग प्रत्यक्ष संवाद गरी उनीहरूको समस्या र वर्तमान अवस्थाबारे जानकारी लिएको थियो।
प्राकृतिक विपत्तिको यस कठिन घडीमा बाढीपीडितहरूको पीडाप्रति पूर्व डेफेलीवासी गोर्खा समाज गम्भीर र मर्माहत रहेको जनाउँदै उनीहरूको साथमा निरन्तर उभिने प्रतिबद्धता पनि प्रतिनिधिमण्डलले व्यक्त गरेको थियो।
उक्त प्रतिनिधिमण्डलले पीडित गोर्खा परिवारहरूको सहयोगिताको लागि निरन्तर जुटिरहेको अखिल असम गोर्खा छात्र संघ केन्द्रीय समितिलाई १० हजार रूपैयाँ रकम राशि सहयोग पुर्याएको छ।
उल्लेखनीय छ कि गत् १९ जुलाईमा नागा पहाडबाट दिखौं नदीमा अचानक आएको प्रलयकारी बाढीले उक्त क्षेत्रमा ठूलो विनाश मच्चाएको थियो। बाढीका कारण भोग्नुपरेको भयावह अवस्था र अवर्णनीय पीडाबारे स्थानीय बाढीपीडितहरूले प्रतिनिधिमण्डलसमक्ष बताएका थिए।
यता बाढीका कारण सर्वस्व गुमाएका परिवारहरूको अवस्था तथा उनीहरूले वर्षौंको मेहनतले जोडेको मूल्यवान् सामानहरू यत्रतत्र छरिएको दृश्य आफ्नै आँखाले देख्दा प्रतिनिधिमण्डलका सदस्यहरू समेत भावुक बने।
बाढीको विभीषिकाबाट प्रभावित परिवारहरूको पुनःस्थापना तथा उनीहरूलाई पुनः सामान्य जीवनमा फर्काउने यात्रा अझै चुनौतीपूर्ण रहेको प्रतिनिधिमण्डलका सदस्यहरूले बताउँछन्।
प्रतिवेदक: बिप्लव चिमरीया- मूल-सचिव, तामुलपुर जिल्ला समिति।