गुवाहाटी, २९ अक्टोबर २०२५ — अखिल असम गोर्खा छात्र संघ (AAGSU) ले गोर्खा महजातिको अस्तित्व, अधिकार, पहिचान तथा स्वाभिमानसँग सम्बन्धित प्रमुख मुद्दाहरूमा व्यापक विचार–विमर्श गर्ने उद्देश्यले ‘जातीय मुद्दा मथन’ शीर्षकमा एक महत्वपूर्ण कार्यक्रम आयोजना गर्न गईरहेको छ।
यो विशेष गोष्ठी आगामी ०८ नोभेम्बर २०२५ (शनिबार) का दिन बिहान १०:०० बजेदेखि साँझ ६:०० बजेसम्म गुवाहाटीस्थित पी.डब्ल्यू.डी. कनभेन्सन हल, दिसपुर लास्ट गेटमा सम्पन्न हुनेछ। कार्यक्रमको तयारी तीव्र गतिमा भइरहेको छ र यसले सम्पूर्ण असमका गोर्खा समुदायका प्रमुख प्रतिनिधिहरूलाई एकै मञ्चमा ल्याउने अपेक्षा गरिएको छ।
संघको तर्फबाट जारी निमन्त्रणपत्रमा उल्लेख गरिएको छ कि, उक्त गोष्ठीमा गोर्खा महजातिसँग सम्बन्धित विभिन्न संगठनहरू, जातीय तथा उप–जातीय संस्था, सामाजिक संगठन, साहित्यिक र सांस्कृतिक संस्था, साथै गोर्खा समाजका बुद्धिजीवी, विद्यार्थी, समाजसेवी तथा समन्धित सबै महानुभावहरूको उपस्थितिमा विचार–विमर्श गरिनेछ।
कार्यक्रमको मूल उद्देश्य गोर्खा समाजले विगत लामो समयदेखि सामना गर्दै आएका ज्वलन्त मुद्दाहरू — जस्तै अनुसूचित जाति/जनजातिकरण (Scheduled Tribe Status), गोर्खा स्वायत्त शासनको स्थापना, सामाजिक–राजनीतिक अधिकारको सुनिश्चितता, शैक्षिक र आर्थिक सशक्तिकरण, लगायतका विषयहरूमा साझा दृष्टिकोण तयार पार्नु रहेको छ।
अखिल असम गोर्खा छात्र संघ (AAGSU) का सभापति श्री सुनील कुमार छेत्री र मूल–सचिव श्री नुमल छेत्रीले संयुक्त रूपमा जारी गरेको पत्रमा सबैलाई हार्दिक निमन्त्रण दिँदै गोर्खा समुदायका समन्धित सबै महानुभावलाइ आफ्नो मूल्यवान् विचार, सुझाव र मत प्रस्तुत गरी यस ऐतिहासिक बैठकलाई सफल बनाउन अनुरोध गर्नुभएको छ।
संघले स्पष्ट गरेको छ कि कार्यक्रममा उपस्थित प्रत्येक वक्ताले ३ देखि ५ मिनेट अवधिभित्र आफ्नो विचार प्रस्तुत गर्न सक्नुहुनेछ, साथै विस्तृत सुझावहरू लिखित रूपमा पनि पेस गर्न सक्ने व्यवस्था गरिएको छ। कार्यक्रमको सञ्चालन प्रक्रिया व्यवस्थित र समयबद्ध हुने छ।
अखिल असम गोर्खा छात्र संघ (AAGSU) को भनाइछ, “आजको बदलिँदो राजनीतिक परिदृश्यमा गोर्खा समाजका अधिकार र पहिचानका मुद्दा पुनः केन्द्रमा ल्याउनु समयको माग हो। गोर्खा समुदायको सामाजिक, राजनीतिक र प्रशासनिक अधिकार सुनिश्चित गर्न अब सामूहिक आवाजको आवश्यकता छ।”
संघले यस कार्यक्रमलाई “नीति निर्माण र भविष्य रणनीति तय गर्ने निर्णायक मञ्च”को रूपमा चित्रण गरेको छ। यस कार्यक्रमले केवल छलफल मात्र होइन, गोर्खा समाजका दीर्घकालीन हितका लागि ठोस र व्यावहारिक रणनीति निर्माण गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
अन्ततः, अखिल असम गोर्खा छात्र संघ (AAGSU) ले सम्पूर्ण गोर्खा समाजका प्रतिनिधिहरू, संगठनहरू र सचेत नागरिकहरूलाई यस ऐतिहासिक कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य विचार र सहभागिताद्वारा समुदायको उज्ज्वल भविष्यको दिशामा एकजुट हुन हार्दिक आह्वान गरेको छ।