
दुलियाजान, ९ फेब्रुअरी : गोर्खा समुदायमाथि गरिएको अपमानजनक अभिव्यक्तिको कडा विरोध जनाउँदै गोर्खा छात्र संघ र गोर्खा नारी परिषद डिब्रुगड़ जिल्ला समितिको संयुक्त उद्योगमा आज दुलियाजानमा विशाल प्रतिवादी समदल तथा पुत्ला दहन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सयौंको संख्यामा विद्यार्थी, युवायुवती तथा महिला प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमअन्तर्गत दुलियाजानको फेन्सी बजारबाट सुरु भएको विरोध समदल पीपलतल तिनालीसम्म पुगेको थियो। सहभागीहरूले हातमा प्लेकार्ड र ब्यानर बोकेर नाराबाजी गर्दै साईजुद्दिन आहमेदविरुद्ध कडा कारबाहीको माग गरेका थिए। समदलको क्रममा साईजुद्दिन आहमेदको पुत्ला घसिट्दै लैजाने कार्य गरिएको थियो भने अन्त्यमा पीपलतल तिनालीमा उक्त पुत्ला दाह गरिएको थियो। प्रदर्शनकारीहरूले सईजुद्दिन आहमेदले अविलम्ब बिना सर्त मफि नमागे थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएका छन्।
उक्त कार्यक्रममा अखिल असम गोर्खा छात्र संघका सचिव अजय कुमार आलेले सम्बोधन गर्दै गोर्खा समुदायको स्वाभिमान र अस्मितामाथि कुनै पनि प्रकारको प्रहार सह्य नहुने स्पष्ट पारे। उनले समुदायलाई लक्षित गरी गरिने अपमानजनक टिप्पणीले सामाजिक सद्भाव खल्बलिने उल्लेख गर्दै दोषीमाथि कडा कारबाहीको माग गरे। डिब्रुगड़ जिल्लाका पूर्व मूलसचिव सन्तोष लिम्बुले पनि आफ्नो धारणा राख्दै गोर्खा समुदायलाई कमजोर ठान्ने भ्रम कसैले नपाल्न आग्रह गरे। उनले संगठन सधैं समुदायको अधिकार र सम्मानको पक्षमा दृढतापूर्वक उभिने बताए।
गोर्खा नारी परिषद डिब्रुगड़ जिल्ला समितिका सभानेत्री बबी छेत्रीले महिलाहरू पनि समुदायको सम्मानको सवालमा अग्रपंक्तिमा रहेको उल्लेख गरिन्। उनले गोर्खा नारी परिषद सधैं अन्याय र अपमानविरुद्ध आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा आग्सुको दुलियाजान, टेंगाखात, नाहरकटीया, नामरुप, टिंखं र डिब्रुगड़ नगर समितिका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो। त्यसैगरी गोर्खा नारी परिषदका दुलियाजान, नाहरकटीया, टेंगाखात, टिंखं र डिब्रुगड़ नगर समितिका पदाधिकारी तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। सहभागीहरूले एक स्वरमा समुदायमाथि गरिने कुनै पनि प्रकारको अपमान सह्य नहुने चेतावनी दिएका थिए।
कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकहरूले जानकारी दिएका छन्। उनीहरूले सम्बन्धित पक्षले चाँडोभन्दा चाँडो स्पष्ट धारणा सार्वजनिक गरी बिना सर्त माफी माग्नुपर्ने र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्नुपर्ने माग गरेका छन्। समुदायको अस्मिता र स्वाभिमानको रक्षा गर्न यस्ता आन्दोलनहरू निरन्तर जारी रहने चेतावनीसमेत कार्यक्रममा दिइएको थियो।
प्रतिवेदक: रत्न थापा- सभापति, ढिब्रुगड जिला समिति।