
खौराङ, अक्टोबर १२ : शिक्षा समाजको मेरुदण्ड हो भन्ने विश्वासका साथ, अखिल असम गोर्खा छात्र संघ (AAGSU), खौराङ आञ्चलिक समिति ले आफ्नो आञ्चलिक क्षेत्रमा विद्यार्थीहरूको शैक्षिक स्तर सुधार तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले एक विशेष “शैक्षिक भ्रमण कार्यक्रम” सुरु गरेको छ। यस अभियानको मुख्य उद्देश्य विद्यार्थीहरूको अध्ययन अवस्था बुझ्नु, उनीहरूले सामना गरिरहेका शैक्षिक कठिनाइहरूको पहिचान गर्नु तथा आगामी दिनमा तिनको समाधानका लागि योजनाबद्ध पहल गर्नु हो। कार्यक्रम विशेषगरी कक्षा १० र १२ (माध्यमिक र उच्च माध्यमिक) तहका छात्र–छात्राहरूमा केन्द्रित गरिएको छ, जसअन्तर्गत समितिले उनीहरूको घर–घरमा पुगेर प्रत्यक्ष अध्ययन–अवलोकन गरिरहेको छ।
शैक्षिक भ्रमण कार्यक्रमको नेतृत्व शिक्षा सचिव श्री सन्तोष शर्मा र श्री ललित छेत्री ले गरिरहेका छन्। कार्यक्रम सम्बन्धी सम्पूर्ण समन्वय तथा आधिकारिक जानकारी खौराङ आञ्चलिक समितिका मूल–सचिव श्री अभिषेक महन्तले सम्बन्धित पक्षहरूलाई पठाइरहनुभएको छ र उहाँकै पहलबाट यो अभियान प्रभावकारी रूपमा अघि बढाइएको छ। उक्त टोलीले आञ्चलिक क्षेत्रका विविध गाउँहरू — जंगल वडिगाउँ, उत्तर र दक्षिण रनेन्दपुर, वडिगाउँ, ४ नम्बर वडिगाउँ (पूर्व र पश्चिम सुवा), ३ नम्बर आमजुली, फूलबारी आदिमा पुगेर अध्ययन–अवलोकन, अभिभावक सङ्ग संवाद र विद्यार्थीहरूको तयारीको मूल्यांकन गरेको छ।
कार्यक्रमको क्रममा विद्यार्थीहरूको अध्ययन तयारी, परीक्षा सम्बन्धी मानसिकता, समय व्यवस्थापन, र घरपरिवारको शैक्षिक वातावरणका बारेमा विस्तृत रूपमा जानकारी संकलन गरिएको छ। विद्यार्थीहरूको पढाइमा निरन्तरता र सुधार ल्याउनका लागि टोलीले प्रत्यक्ष संवाद र सुझाव आदानप्रदान पनि गरेको छ। यस अभियानको विशेष पक्ष भनेको आर्थिक रूपमा कमजोर विद्यार्थीहरूका लागि शैक्षिक सहयोग व्यवस्था हो। समितिको अगुवाइमा पहिचान गरिएका विद्यार्थीहरूका लागि ट्युशन कक्षा संचालन, अध्ययन सामग्री उपलब्ध गराउने, र आवश्यक परे आर्थिक सहयोग प्रदान गर्ने पहल गरिँदैछ। यसरी प्रदान गरिने सहयोगले विद्यार्थीहरूमा आत्मविश्वास र अध्ययनप्रतिको अभिरुचि बढाउने अपेक्षा गरिएको छ।
भ्रमणका क्रममा हालसम्म करिब १०० विद्यार्थीका परिवारहरूसँग प्रत्यक्ष भेटघाट गरी संवाद गरिएको छ। अभिभावकहरूले आफ्ना सन्तानको शिक्षामा देखाएका उत्साह र समितिप्रतिको विश्वासले कार्यक्रमलाई अझ सशक्त बनाएको छ। विद्यार्थीहरूको वास्तविक अवस्थाको प्रत्यक्ष अवलोकनबाट समितिले भविष्यमा अपनाउनुपर्ने शैक्षिक रणनीति निर्धारणमा महत्वपूर्ण आधार प्राप्त गरेको बताइएको छ।
समितिका सभापति, बिर बहादुर क्षेत्री , मूल–सचिव श्री अभिषेक महन्त, शिक्षा सचिव लगायतका पदाधिकारीहरूले जनाएका छन् कि यो अभियान केवल भ्रमणमा सीमित नरही, यसलाई एक दीर्घकालीन शैक्षिक अभियान का रूपमा निरन्तरता दिइनेछ। आञ्चलिक समिति निकट भविष्यमा “विद्यार्थी शैक्षिक मार्गदर्शन शिविर”, “अभिभावक सचेतना गोष्ठी” तथा “प्रतिभा प्रोत्साहन कार्यक्रम” समेत सञ्चालन गर्ने तयारीमा छ।
कार्यक्रममा खौराङ आञ्चलिक समितिका सभापति, मूल–सचिव, शिक्षा सचिव, पदाधिकारी, सदस्य तथा विभिन्न शाखा समितिका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको छ। स्थानीय विद्यालयका शिक्षक तथा अभिभावकहरूले समितिको यो प्रयासको प्रशंसा गर्दै निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। शिक्षा र समाजबीचको सम्बन्धलाई सुदृढ गर्दै, अखिल असम गोर्खा छात्र संघ (AAGSU) खौराङ आञ्चलिक समितिको यो अभियानले सम्पूर्ण क्षेत्रमै शैक्षिक चेतनाको नयाँ उर्जा भर्ने विश्वास लिइएको छ।
अन्ततः, समितिले यस कार्यक्रमलाई खौराङ क्षेत्रका सम्पूर्ण विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणतर्फको सामूहिक प्रयासको रूपमा व्याख्या गर्दै, सबै पक्षहरूलाई निरन्तर सहयोगका लागि आह्वान गरेको छ।
