All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #9
December 18, 2025

कोक्राझार जिल्ला समितिको 19 औं द्वि–वार्षिक अधिवेशनको व्यापक तयारी

📅 December 18, 2025
✍️ AAGSU
🕒 12:05 AM

कोक्राझार, डिसेम्बर 17: अखिल असम गोर्खा छात्र संघ (आग्सु), कोक्राझार जिल्ला समितिको 19औं द्वि–वार्षिक अधिवेशनलाई भव्य र ऐतिहासिक रूपमा सम्पन्न गर्ने उद्देश्यका साथ व्यापक तयारी कार्य तीव्र रूपमा अगाडि बढिरहेको जानकारी जिल्ला समितिले दिएको छ। उक्त अधिवेशन आउँदो अंग्रेजी महिनाको 3 र 4 जनवरी 2026 का दिनहरूमा दुई दिने विस्तृत कार्यसूचीसहित कोक्राझार जिल्ला अन्तर्गत उल्टापानी–लाबन्यपुर, बनगाउँस्थित 622 नं. प्राथमिक विद्यालयको खेल मैदानमा सम्पन्न हुने तय गरिएको छ।

दुई दिने अधिवेशनको पहिलो दिन 3 जनवरी 2026 का दिन बिहान झण्डोत्तोलन, दीप प्रज्वलन तथा शहीद वेदीमा तर्पण कार्यक्रममार्फत औपचारिक सुरुआत गरिनेछ। यस पश्चात् जिल्ला अन्तर्गतका विभिन्न क्षेत्रबाट सहभागी हुने युवाहरूको उल्लेखनीय उपस्थितिमा “युवा सँगोष्ठी” तथा “Youth Conclave” कार्यक्रम आयोजना गरिनेछ। उक्त कार्यक्रममा दार्जीलिङबाट गोर्खाल्याण्ड एक्टिभिस्ट समूहका मुख्य संयोजक किशोर प्रधान प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् भने अखिल असम गोर्खा छात्र संघ (आग्सु) का केन्द्रीय उप–सभापति रोहित लम्सालको विशेष उपस्थितिमा युवाहरूलाई वैचारिक तथा सांगठनिक मार्गदर्शन प्रदान गरिनेछ। युवा सँगोष्ठी सम्पन्न भएपछि सोही दिन अपराह्नबाट कोक्राझार जिल्ला समितिको 19 औं द्वि–वार्षिक अधिवेशनको प्रतिनिधि सभा औपचारिक रूपमा प्रारम्भ हुने छ।

अधिवेशनको दोस्रो दिन 4जनवरी 2026 का दिन बिहान पुनः दीप प्रज्वलन तथा शहीद वेदीमा तर्पण कार्यक्रम सम्पन्न गरी सांस्कृतिक शोभायात्रा आयोजना गरिनेछ। उक्त शोभायात्रामा गोर्खा महाजातिभित्र रहेका विभिन्न जातीय, भाषिक तथा सांस्कृतिक पहिचानहरूको जीवन्त प्रस्तुति रहनेछ, जसले गोर्खा समाजको बहुआयामिक सांस्कृतिक विरासतलाई उजागर गर्ने विश्वास आयोजक समितिले व्यक्त गरेको छ।

सांस्कृतिक शोभायात्रा पश्चात् अखिल असम गोर्खा छात्र संघ (आग्सु) को कोक्राझार जिल्ला समितिको 19औं द्वि–वार्षिक अधिवेशनको आम सभा सुरु हुनेछ। आम सभामा अखिल असम गोर्खा छात्र संघ (आग्सु) का केन्द्रीय सभापति श्रीमान सुनिल छेत्री मुख्य अतिथिका रूपमा उपस्थित रहनेछन् भने मूल–सचिव श्रीमान नुमल छेत्री निर्दिष्ट वक्ताका रूपमा सहभागी हुनेछन्। यसका अतिरिक्त BTC का Chief हाग्रामा मोहिलारी विशिष्ट सम्माननीय अतिथिका रूपमा रहनेछन्। विशेष सम्माननीय अतिथिहरूमा BTC Deputy Chief रिहन दैमारी, गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङ, खर्साङ–दार्जीलिङका विधायक बी.पी. बजगाईं, बनगाउँका MCLA जुविराज नार्जारी, कोक्राझारका MLA लरेन्स इस्लारी, BTC सरकारका EM प्रकाश बसुमतारी, रविराम नार्जारीलगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने जानकारी दिइएको छ। साथै BTC क्षेत्रीय समिति आग्सुका सभापति रोहित दाहाल तथा मूल–सचिव राजु सुवेदीको समेत गरिमामय उपस्थिति रहनेछ।

आम सभा सम्पन्न भएपछि 4 जनवरीको साँझ “हिउँदे कोशेली” सांस्कृतिक साँझ कार्यक्रम आयोजना गरिनेछ, जसमा दार्जीलिङकी चर्चित गायिका विमोचना लम्जेलको सुमधुर गायनले सम्पूर्ण कोक्राझार क्षेत्रलाई सांगीतिक माहोलले गुञ्जायमान बनाउने अपेक्षा गरिएको छ।

अधिवेशनलाई सफल बनाउन जिल्ला समिति आग्सुका सम्पूर्ण पदाधिकारी, सदस्य तथा स्वयंसेवकहरू सक्रिय रूपमा जुटिरहेको र गोर्खा समाजका सबै तहका व्यक्तिहरूलाई कार्यक्रममा सहभागी भई अधिवेशनलाई ऐतिहासिक बनाउन आयोजक समितिले हार्दिक अपिल गरेको छ।

प्रतिवेदन:भुवन पौडेल-सूचना एवं प्रविधि सचिव, कोक्राझार जिल्ला समिति (आग्सु)

📤 Share this story
Scroll to Top