All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #34
June 11, 2026

आग्सु उदालगुडीद्वारा ‘स्वर्गीय दीपक दाहाल स्मृति आदर्श छात्र पुरस्कार–२०२६’ तथा अभिनन्दन समारोह सम्पन्न।

📅 June 11, 2026
✍️ AAGSU
🕒 12:05 AM

उदालगुडी, ७ जुन २०२६ः अखिल असम गोर्खा छात्र संघ (आग्सु), उदालगुडी जिल्ला समितिको आयोजनामा “स्वर्गीय दीपक दाहाल स्मृति आदर्श छात्र पुरस्कार–२०२६” तथा अभिनन्दन अनुष्ठान उदालगुडी उच्च माध्यमिक विद्यालयको सभागृहमा भव्य रूपमा सम्पन्न भएको छ।

जिल्ला समितिका सभापति राम छेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला समितिका मूल सचिव किशोर सिर्पालीले गरेका थिए। कार्यक्रमको प्रारम्भ उदालगुडी महाविद्यालयका पूर्व उपाध्यक्ष टङ्क गौतमद्वारा स्वर्गीय दीपक दाहालको तस्बिरमा माल्यार्पण तथा दीप प्रज्वलन गरी गरिएको थियो भने उदालगुडी जिल्लाका विद्यालय निरीक्षक (IS) श्री भवेश देउरीले कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए।

यस वर्षको “स्वर्गीय दीपक दाहाल स्मृति आदर्श छात्र पुरस्कार–२०२६” खुसुराबारीहावी आञ्चलिक समितिअन्तर्गतका श्री दल वाहादुर छेत्रीका सुपुत्र श्री मनिष छेत्रीलाई प्रदान गरिएको छ। शैक्षिक क्षेत्रमा जिल्ला भित्रनै उत्कृष्ट नम्बर प्राप्त गर्दै आदर्श विद्यार्थीको रूपमा चयन भएका मनिष छेत्रीलाई सम्मानपत्र तथा पुरस्कार प्रदान गरिएको थियो।

समारोहमा HSLC परीक्षामा ८० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने २४ जना, HS परीक्षामा ८० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने ५५ जना, HSLC परीक्षाको नेपाली मातृभाषा विषयमा १०० मध्ये १०० अंक प्राप्त गर्ने २ जना तथा PhD उपाधि हासिल गर्ने २ जनासहित कुल ८३ जना विद्यार्थीलाई अभिनन्दन गरिएको थियो।

कार्यक्रममा मुख्य अनुप्रेरकका रूपमा उपस्थित पूर्व ACS अधिकारी सुश्री पुनम गोगोईले विद्यार्थीहरूलाई प्रेरणादायी सम्बोधन गर्दै मेहनत, अनुशासन र लक्ष्यप्रतिको समर्पणले नै सफलताको ढोका खोल्ने बताइन्। उनले विद्यार्थीहरूलाई उच्च शिक्षा तथा प्रतिस्पर्धात्मक परीक्षाको तयारीतर्फ अग्रसर हुन आग्रह गरिन्।

यस अवसरमा असम गोर्खा सम्मेलन उदालगुडी जिल्ला समितिका सभापति पवन लुइँटेल, मूल सचिव भवेन छेत्री, असम नेपाली साहित्य सभा उदालगुडी जिल्ला समितिका सभापति तिलबहादुर छेत्री, मूल सचिव दीपेन्द्र सापकोटा, बिटिसि क्षेत्रीय समितिका उपसभापति प्रताप मगर, सांगठनिक सचिव नेत्र उपाध्याय, शिक्षक लक्ष्मण अधिकारी, मोहन कुमार छेत्री, स्वर्गीय दीपक दाहालका सुपुत्री प्रिथिका दाहाल तथा सुपुत्र तिलक दाहाललगायत विभिन्न सामाजिक, साहित्यिक तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा जिल्ला तथा आञ्चलिक समितिका पदाधिकारी, पूर्व छात्रकर्मी, अभिभावक, विद्यार्थी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। समारोहले विद्यार्थीहरूमा शैक्षिक उत्कृष्टताप्रति थप उत्साह र प्रेरणा प्रदान गरेको थियो।

📤 Share this story
Scroll to Top