
खौराङ, ३० जनवरी : अखिल असम गोर्खा छात्र संघ (आग्सु), खौराङ आञ्चलिक समितिले खौराङ हाईस्कूलका पूर्व शिक्षक, समाजसेवी तथा संगठनका मार्गदर्शक स्व. गोपाल चुडालको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। उक्त अवसरमा आग्सु खौराङ आञ्चलिक समितिको तर्फबाट दिवंगतको वासगृहमा उपस्थित भई शोक–पत्र प्रदान गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको हो।
खौराङ आञ्चलिक समितिका सभापति वीरबहादुर छेत्रीको नेतृत्वमा आञ्चलिक समितिको एउटा टोली शोणितपुर जिल्लाको गरूडुवास्थित स्वर्गीय गोपाल चुडालको वासगृहमा पुगेर श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको थियो। कार्यक्रममा दिवंगतको तस्बिरमा माल्यार्पण गर्दै एक मिनेटको मौन धारण गरियो भने त्यसपछि दिवंगत आत्माको चिरशान्तिको कामना गरियो। शोकमग्न वातावरणबीच सम्पन्न उक्त कार्यक्रममा परिवारजन, समाजका प्रतिनिधि तथा संगठनका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा खौराङ आञ्चलिक समितिका सभापति वीरबहादुर छेत्रीले स्व. गोपाल चुडालले खौराङ हाईस्कूलमा शिक्षकका रूपमा पुर्याएको शैक्षिक योगदानको स्मरण गर्दै उहाँको भूमिका विद्यार्थीहरूको जीवन निर्माणमा अत्यन्त महत्वपूर्ण रहेको बताए। शिक्षण पेशामा रहँदा उहाँले केवल पाठ्यक्रममा सीमित नभई अनुशासन, नैतिकता र सामाजिक चेतनाको विकासमा विशेष जोड दिएको कुरा उल्लेख गरियो। सभापतिले स्व. चुडाल गोर्खा समाज र संगठनका लागि मार्गदर्शक व्यक्तित्वका रूपमा सधैं स्मरणीय रहने धारणा व्यक्त गरे।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि स्व. गोपाल चुडाललाई एक निष्ठावान शिक्षक र समर्पित समाजसेवीका रूपमा चित्रण गरे। गोर्खा समाज र संगठनलाई अप्ठ्यारो पर्दा उहाँले दिएको बौद्धिक तथा सांगठनिक सहयोग उल्लेखनीय रहेको र त्यसले संगठनलाई सही दिशामा अघि बढ्न प्रेरित गरेको वक्ताहरूको भनाइ थियो। उहाँको सरल स्वभाव, सेवाभाव र समाजप्रतिको उत्तरदायित्वले खौराङ क्षेत्रका थुप्रै युवालाई प्रेरणा दिएको बताइयो। वक्ताहरूले स्व. चुडालको निधनले खौराङ क्षेत्र मात्र नभई समग्र गोर्खा समाजले अपूरणीय क्षति व्यहोर्नुपरेको धारणा व्यक्त गरे।
अन्त्यमा अखिल असम गोर्खा छात्र संघ (आग्सु) खौराङ आञ्चलिक समितिको तर्फबाट शोक–पत्र शोकसन्तप्त परिवारजनलाई औपचारिक रूपमा अर्पण गरियो। यस क्रममा दिवंगत आत्माले वैकुण्ठवास पाओस् भन्ने प्रार्थनासहित परिवारजनलाई यो दुःखको घडीमा धैर्य र शक्ति प्राप्त होस् भन्ने कामना व्यक्त गरिएको छ। आग्सु खौराङ आञ्चलिक समितिले स्व. गोपाल चुडालले शिक्षा, समाज र संगठनका लागि पुर्याएको योगदानलाई सधैं सम्मानका साथ स्मरण गरिरहने प्रतिबद्धता व्यक्त गर्दै श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ।
प्रतिवेदक : नारायण छेत्री- भारप्राप्त मूल-सचिव,खौराङ आञ्चलिक समिति (आग्सु)।