
निकासी, १४ अगस्ट २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) बीटीसी क्षेत्रीय समितिको तर्फबाट शिक्षक, साहित्यकार तथा समाजसेवी स्वर्गीय सोमनाथ पराजुलीको स्मृतिमा आयोजित संस्मरण सभामा सहभागिता जनाउँदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ।
आज संस्मरण सभा स्वर्गीय पराजुलीको सामाजिक, शैक्षिक तथा साहित्यिक योगदानको स्मरणमा सम्पन्न भएको हो। उहाँ श्रीपञ्चमी एम.ई. स्कुलका संस्थापक प्रधान शिक्षक, असम नेपाली साहित्य सभाका प्राक्तन शिक्षा उपदेष्टा तथा आजीवन सदस्य, असम गोर्खा सम्मेलनको २७औँ केन्द्रीय अधिवेशनका कार्यकारी सभापति तथा अखिल असम गोर्खा छात्र संघको अविभाजित नलबारी जिल्ला समितिको मुखपत्र ‘खुकुरी’ का संस्थापक प्रधान सम्पादकसमेत हुनुहुन्थ्यो।
संस्मरण सभामा सहभागी वक्ताहरूले स्वर्गीय पराजुलीले समाज, शिक्षा, साहित्य तथा संगठनको क्षेत्रमा पुर्याउनुभएको अतुलनीय योगदानको स्मरण गर्नु हुन्छ। उहाँको सरल, दूरदर्शी, प्रेरणादायी तथा समर्पित व्यक्तित्वका साथै गोर्खा समाजको हितका लागि उहाँले दिनुभएको मार्गदर्शन, सांगठनिक सुझाव र प्रेरणादायी विचारहरूलाई विशेष रूपमा स्मरण गरिएको थियो।
आग्सु बीटीसी क्षेत्रीय समिति, केन्द्रीय समिति, बाक्सा जिल्ला, बास्का र हिमाली आञ्चलिक समितिकाे तर्फबाट उपस्थित प्रतिनिधिहरूले स्वर्गीय पराजुलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको योगदान र आदर्शलाई आगामी पुस्ताले आत्मसात् गर्नुपर्ने धारणा व्यक्त गरे। उहाँको भौतिक अनुपस्थिति भए पनि समाज र संगठनप्रतिको उहाँको निस्वार्थ सेवा, विचार तथा आदर्श सदैव प्रेरणाको स्रोत बनिरहने बताइएको थियो।
यस दुःखद घडीमा आग्सु केन्द्रीय, क्षेत्रीय, जिल्ला तथा आञ्चलिक समितिको तर्फबाट शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै श्रद्धाञ्जलीपत्रसमेत प्रदान गरिएको थियो। सभाको अन्त्यमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उहाँप्रति पुनः भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो।
प्रतिवेदक: श्री राजु सुवेदी, मुल सचिव, आग्सु, बीटीसी क्षेत्रीय समिति।