
बाक्सा, १९ जनवरी २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) बाक्सा जिल्ला अन्तर्गत आज स्वर्गीय मित्र भण्डारी (जन्म: ०१ जनवरी १९८४ | निधन: १७ जनवरी २०२६) को पावन स्मृतिमा जिल्लाभरका प्रत्येक आञ्चलिक कार्यालयमा शोकसभाको आयोजना गरियो।
साँझ ठीक ५:०० बजे दिवा प्रज्वलन गरी स्वर्गीय भण्डारीको तस्बीरमा माल्यार्पण तथा मौनधारण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो। शोकसभा शान्त, अनुशासित तथा गरिमामय वातावरणमा सम्पन्न भयो। कार्यक्रममा आग्सुका जिल्ला तथा आञ्चलिक पदाधिकारी, कार्यकर्ता, शुभेच्छुक र विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहनुभयेको थियो। उपस्थित सबैले स्वर्गीय भण्डारीको योगदान र स्मृतिलाई सम्मानपूर्वक सम्झिए।
आग्सु अविभक्त बाक्सा जिल्ला समितिका प्राक्तन कार्यालय सचिव तथा बास्का आञ्चलिक समितिका सह–सचिव रहनुभएका स्वर्गीय मित्र भण्डारी संगठनप्रति अत्यन्त समर्पित, इमान्दार र निष्ठावान कार्यकर्ताका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँले संगठनको सुदृढीकरण, अभिलेख व्यवस्थापन, सूचना सम्प्रेषण तथा आन्तरिक समन्वयमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। युवाहरूलाई संगठनमा जोड्ने तथा सामाजिक चेतना र अधिकारप्रति सचेत बनाउने कार्यमा उहाँको योगदान उल्लेखनीय रहेको सहभागीहरूले बताए।
संगठनात्मक भूमिकासँगै स्वर्गीय भण्डारी सामाजिक सेवामा पनि सक्रिय रहनुभएको थियो। गोर्खा समुदायका बिरामी तथा पीडितहरूको उपचार सहयोगका लागि उहाँले चेन्नईमा “मानव कल्याण फाउन्डेसन (Manab Kalyan Foundation)” स्थापना गरी भारतभरिका गोर्खा समुदायलाई चिकित्सा क्षेत्रमा सहयोग पुर्याउँदै आउनुभएको थियो। उहाँको यो मानवीय पहललाई समाजसेवाको एक प्रेरणादायी उदाहरणका रूपमा स्मरण गरियो।

शोकसभाका क्रममा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै मौनधारण गरियो र शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरियो। साथै, स्वर्गीय भण्डारीले संगठन तथा समाजप्रति देखाउनुभएको निष्ठा, त्याग र सेवाभावलाई आत्मसात् गर्दै उहाँका अधुरा सपना र लक्ष्यलाई अघि बढाउने संकल्प पनि व्यक्त गरियो।
स्वर्गीय मित्र भण्डारीको असामयिक निधनले अखिल असम गोर्खा छात्र संघ मात्र होइन, सम्पूर्ण गोर्खा समुदायले एक जिम्मेवार, अनुभवी र कर्मशील व्यक्तित्व गुमाएको सहभागीहरूको भनाइ थियो। उहाँको नाम, योगदान र स्मृति आग्सु संगठनको इतिहासमा सधैं अमर रहनेछ।
ॐ शान्ति।
प्रतिवेदक: सुमन डुंगेल-प्रचार सचिव (IT Incharge),बाक्सा जिल्ला समिति, अखिल असम गोर्खा छात्र संघ