
डिमाकुची, १४ फेब्रुअरी : अखिल असम गोर्खा छात्र संघ (आग्सु) डिमाकुची आञ्चलिक समितिको शपथ ग्रहण कार्यक्रम १४ फेब्रुअरीका दिन डिमाकुची गोर्खा भवनमा भव्य तथा गरिमामय वातावरणका बीच सफलतापूर्वक सम्पन्न भएको छ। नवगठित समितिका पदाधिकारी तथा सदस्यहरूले संगठनप्रति निष्ठा, इमान्दारिता र सक्रियताको शपथ ग्रहण गर्दै विद्यार्थी हितका सवालमा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उक्त कार्यक्रममा उदालगुडी जिल्ला समितिका उप–सभापति श्रीमान किरण सिग्देल, मुखपात्र श्रीमान धर्मेन्द्र गौतम तथा कार्यकारी सदस्यहरू श्रीमान दिपक अधिकारी, श्रीमान रुपम आत्रेय र श्रीमान अर्पण छेत्रीको विशेष उपस्थिति रहेको थियो। त्यसैगरी पूर्व छात्र नेता श्रीमान कुमार कटुवाल, श्रीमान बिजु बिष्ट, श्रीमान भक्त प्रधान, श्रीमान बुद्धी सुबेदी र श्रीमान मिलन शर्मा लगायत अन्य थुप्रै गन्यमान्य व्यक्तित्वहरूको गरिमामय उपस्थिति कार्यक्रमको विशेष आकर्षण बनेको थियो।
समारोहमा वक्ताहरूले संगठनको विगतको योगदान, वर्तमान परिस्थितिको मूल्याङ्कन तथा भविष्यका कार्यदिशामाथि प्रकाश पार्दै आग्सुलाई अझ सशक्त, अनुशासित र परिणाममुखी रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले विद्यार्थी समुदायका हक–अधिकार, शैक्षिक गुणस्तर अभिवृद्धि र सामाजिक सचेतनाका क्षेत्रमा संगठनले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका थिए।
नव–निर्वाचित पदाधिकारीहरूले आफ्नो प्रतिबद्धता व्यक्त गर्दै डिमाकुची अञ्चलका छात्र–छात्राहरूको शैक्षिक, सामाजिक तथा संरचनात्मक समस्यालाई प्राथमिकताका साथ उठान गरी समाधानतर्फ ठोस पहल गरिने बताएका छन्। संगठनलाई अझ सुदृढ, संगठित र ऊर्जावान बनाउँदै अघि बढ्ने अठोटका साथ सम्पूर्ण डिमाकुची अञ्चलमा बसोबास गर्ने गोर्खाली समुदायको साथ, सहयोग र परामर्श अपरिहार्य रहेको उल्लेख गरिएको छ।
शपथ ग्रहण, शुभकामना मन्तव्य तथा सामूहिक संकल्पका साथ सम्पन्न उक्त कार्यक्रमले डिमाकुची क्षेत्रमा आग्सुको संगठनात्मक आधारलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ। स्थानीय विद्यार्थी तथा समुदायको उत्साहजनक सहभागिताले आगामी दिनमा संगठनका गतिविधिहरू अझ प्रभावकारी र दूरगामी हुने संकेत दिएको आयोजक पक्षले जनाएको छ।
प्रतिवेदक: मुल सचिव -प्रकाश बुढाथोकी,डिमाकुची आञ्चलिक समिति आग्सु।