
कोइलामोइला, २७ सेप्टेम्बर २०२६: अखिल असम गोर्खा छात्र संघ (AAGSU) चिराङ जिल्ला समितिको आयोजनामा तथा चिराङ जिल्लाअन्तर्गतका सम्पूर्ण आञ्चलिक समितिहरूको सहयोगमा आइतबार कोइलामोइला मोडल कलेजमा संगठनिक कर्मशाला भव्यताका साथ सम्पन्न भएको छ।
कर्मशालामा AAGSU केन्द्रीय समितिका सल्लाहकार वीरेन्द्र सुब्बा, संगठनिक सचिव किरण खड्का तथा पूर्व शिक्षा सल्लाहकार रोशन गुरुङ स्रोतव्यक्तिका रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै केन्द्रीय समितिका खेल सचिव गणेश छेत्री, स्वास्थ्य सचिव किरण पौडेल, वित्त सचिव रिजु छेत्री लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रारम्भ AAGSU को झण्डा उत्तोलनबाट भएको थियो। चिराङ जिल्ला समितिका सभापति निश्चल गिरीले झण्डा उत्तोलन गर्नुभएको थियो। त्यसपछि वृक्षरोपण कार्यक्रम सम्पन्न भयो। जिल्ला समितिका मूल–सचिव कृष्ण सुबेदीले वृक्षरोपण गर्नुभएको थियो। दीप प्रज्वलनपछि शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।
कर्मशालाको सभाध्यक्षता जिल्ला समितिका सभापति निश्चल गिरीले गर्नुभएको थियो भने उद्देश्य वक्तव्य तथा परिचय पर्वको सञ्चालन मूल–सचिव कृष्ण सुबेदीले गर्नुभएको थियो। कार्यक्रमको औपचारिक उद्घाटन BTC क्षेत्रीय समिति AAGSU का सभापति रोहित कुमार दाहालले गर्नुभएको थियो। जिल्ला समितिका संगठनिक सचिव उत्तम कुमार सुबेदीले संगठनिक भनाइ प्रस्तुत गर्नुभएको थियो।
सल्लाहकार वीरेन्द्र सुब्बाले संगठनलाई सुदृढ बनाउन आवश्यक एकता, अनुशासन, जिम्मेवारी र प्रतिबद्धताबारे प्रशिक्षणात्मक मन्तव्य राख्नुभयो। पूर्व शिक्षा सल्लाहकार रोशन गुरुङले विद्यार्थी तथा युवाहरूलाई शिक्षा, नेतृत्व क्षमता, सामाजिक जिम्मेवारी र संगठनप्रतिको सकारात्मक भूमिकाबारे मार्गदर्शन गर्नुभयो।
केन्द्रीय समितिका संगठनिक सचिव किरण खड्काले AAGSU को e-Bulletin, वेबसाइट तथा सदस्यता Registration सम्बन्धी जानकारी दिँदै प्रविधिको प्रभावकारी प्रयोगमार्फत संगठनका गतिविधिलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो।
कर्मशालामा BTC क्षेत्रीय समिति, बक्सा, कोकराझार तथा बोंगाइगाउँ जिल्ला समितिका पदाधिकारीहरूका साथै चिराङ जिल्लाअन्तर्गतका सम्पूर्ण आञ्चलिक तथा शाखा समितिका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
केन्द्रीय समितिको निर्देशनअनुसार चिराङ जिल्ला समितिले पहिलोपटक आयोजना गरेको यस संगठनिक कर्मशालाको उद्देश्य संगठनलाई सुदृढ बनाउनुका साथै विद्यार्थी तथा युवा कार्यकर्तामा अनुशासन, जिम्मेवारी, जातीय प्रेम, सामाजिक चेतना र संगठनप्रतिको प्रतिबद्धता विकास गर्नु रहेको आयोजकले जनाएको छ। कार्यक्रम सभ्य, अनुशासित र सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको थियो।
प्रतिवेदक : कलिदास छेत्री-शिक्षा सचिव, बन्दरगुडी आञ्चलिक समिति ।
संशोधनक : कृष्ण सुवेदी, मूल-सचिव, चिराङ जिल्ला समिति ।