All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #20
March 5, 2026

बोगीनदीमा PGR/VGR समस्या समाधानका लागि आग्सु साधारण सभा सम्पन्न

📅 March 5, 2026
✍️ AAGSU
🕒 12:05 AM

लखिमपुर, २८ फेब्रुअरी : अखिल असम गोर्खा छात्र संघ, लखिमपुर जिल्ला समिति अन्तर्गत बोगीनदी आन्चलिक समितिको आह्वानमा आज बोगीनदीमा एक महत्वपूर्ण साधारण सभा सम्पन्न भएको छ। बृहत्तर बोगीनदी भेगमा बसोबास गर्ने गोर्खा जनमानसले लामो समयदेखि भोग्दै आएको PGR/VGR सम्बन्धी समस्याको समाधान खोज्ने उद्देश्यले उक्त सभा आयोजना गरिएको हो। सभामा क्षेत्रीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।

सभाको प्रमुख आतिथिका रूपमा लखिमपुर विधान सभा क्षेत्रका सम्माननीय विधायक श्रीमान मानब डेका उपस्थित रहनुभयो। उहाँले सभामा उठाइएका PGR/VGR सम्बन्धी गुनासा, भूमि अधिकार, दर्ता प्रक्रिया तथा प्रशासनिक जटिलतासम्बन्धी विषयहरू गम्भीरतापूर्वक सुन्नुका साथै आन्चलिक समितिबाट सङ्कलन गरिएका माटोसम्बन्धी तथ्य तथा कागजातहरू ग्रहण गर्नुभयो। उहाँले समस्याको दिगो समाधानका लागि सम्बन्धित विभागसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सभामा जिल्ला सभापति युवराज कटुवालले PGR/VGR का कारण गोर्खा समुदायले भोग्नुपरेको अस्थिरता र असुरक्षाको अवस्थाबारे प्रस्ट पार्दै यस विषयमा राजनीतिक तथा प्रशासनिक तहमा दबाब सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो। मूल सचिव राज पराजुलीले समस्याको ऐतिहासिक पृष्ठभूमि र हालसम्म भएका प्रयासहरूको समीक्षा प्रस्तुत गर्नुभयो। उप सभापति सागर छेत्रीले एकताबद्ध भएर अधिकार प्राप्तिका लागि अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो भने सांगठनिक सचिव गोविन्द मगरले गाउँ–गाउँबाट यथार्थ विवरण सङ्कलन गरी तथ्यका आधारमा आन्दोलन अघि बढाइने बताउनुभयो।

सह सचिव प्रवीन छेत्रीले प्रशासनसँगको समन्वय प्रक्रिया तीव्र बनाइने जानकारी दिनुभयो। सल्लाहकार रामु छेत्रीले भूमि अधिकारको सवाललाई भावनात्मक मात्र नभई कानुनी रूपमा बलियो बनाउनुपर्ने सुझाव राख्नुभयो। बोगीनदी आन्चलिक समितिका सभापति दिपु छेत्रीले स्थानीय तहमा देखिएका विशिष्ट समस्याहरूको विवरण प्रस्तुत गर्नुभयो भने मूल सचिव राहुल उपाध्यायले आगामी कार्ययोजना सार्वजनिक गर्दै आवश्यक परे थप चरणबद्ध कार्यक्रम घोषणा गरिने जानकारी दिनुभयो।

सभामा सहभागी स्थानीय बासिन्दाहरूले आफ्ना व्यक्तिगत तथा सामूहिक समस्या खुलस्त रूपमा राखेका थिए। धेरैले PGR/VGR का कारण जमिनको स्वामित्व, घर निर्माण, सरकारी योजनाको लाभ तथा बैंक ऋण जस्ता विषयमा अवरोध भोग्नुपरेको गुनासो व्यक्त गरे।

सम्पूर्ण छलफलपछि समस्याको समाधानका लागि तथ्य संकलन अभियानलाई तीव्र पार्ने, सम्बन्धित राजनैतिक प्रतिनिधिसँग निरन्तर संवाद गर्ने तथा आवश्यक परे चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाउने निष्कर्ष निकालिएको छ। आजको सभा गोर्खा समुदायको भूमि अधिकार सुनिश्चितताका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिवेदक: युवराज कटोवाल-सभापति, लखिमपुर जिला समिति।

📤 Share this story
Scroll to Top