
उल्टापानी-लावन्यपुर, जुन २०२६ः अखिल असम गोर्खा छात्र संघ (आग्सु) जीवन ज्योति उल्टापानी-लावन्यपुर आञ्चलिक समितिले भारतीय सेनामा सफलतापूर्वक छनोट हुनुभएका १ नं. लावन्यपुरका युवा सदेउ गुरुङलाई हार्दिक बधाई तथा शुभकामना ज्ञापन गरेको छ। सदेउ गुरुङ स्थानीय पूर्व गाउँबुढाका ज्येष्ठ पुत्र हुनुहुन्छ।
यस अवसरमा आग्सुको प्रतिनिधिमण्डलले सदेउ गुरुङलाई भेटघाट गरी खादा ओढाएर तथा सम्मानपत्र प्रदान गर्दै उहाँको उपलब्धिप्रति गर्व व्यक्त गरेको थियो। कार्यक्रममा बोल्दै आग्सु जीवन ज्योति आञ्चलिक समितिका सभापति रबिन मगरले सदेउ गुरुङको सफलता सम्पूर्ण क्षेत्र तथा गोर्खा समाजका युवाहरूका लागि प्रेरणाको स्रोत बनेको बताउनुभयो। उहाँले अनुशासन, परिश्रम र दृढ संकल्पका साथ अगाडि बढेमा कुनै पनि लक्ष्य हासिल गर्न सकिने उल्लेख गर्दै भारतीय सेनामा भएको यो सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण समाजको गौरवको विषय भएको धारणा व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा आग्सु जीवन ज्योति आञ्चलिक समितिका मूल–सचिव अमित मगर, शिक्षा सचिव नीमा तामाङ तथा संगठन सचिव रितम्बर क्षेत्रीको उपस्थिति रहेको थियो। त्यसैगरी अखिल असम गोर्खा छात्र संघ कोक्राझार जिल्ला समितिका सचिव गर्जमान घले तथा साहित्य सचिव सुमन तामाङको पनि विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमका सहभागी वक्ताहरूले सदेउ गुरुङको आगामी सैन्य जीवन सफल, उज्ज्वल तथा गौरवपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए। उनीहरूले युवाहरूलाई राष्ट्रसेवा, अनुशासन र जिम्मेवारीको भावनाका साथ जीवनमा अगाडि बढ्न प्रेरित गर्दै यस्ता सफलताहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।
सम्मान ग्रहण गर्दै सदेउ गुरुङले आफूलाई बधाई तथा सम्मान प्रदान गरेकोमा आग्सु जीवन ज्योति आञ्चलिक उल्टापानी-लावन्यपुर समिति तथा उपस्थित सम्पूर्ण नेतृत्वप्रति आभार व्यक्त गर्नुभयो। उहाँले भविष्यमा पनि राष्ट्र र समाजको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। उपस्थित सबैले सदेउ गुरुङको उज्ज्वल भविष्य, सफल सैन्य जीवन तथा निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए।
प्रतिवेदक: सुमन तामाङ- साहित्य सचिव- कोक्राझार जिल्ला समिति।