
कोक्राझार २ फेब्रुवरी २०२६ : कोक्राझार जिल्लाअन्तर्गत सरलपारा क्षेत्रमा अखिल असम गोर्खा छात्र संघ (आग्सु) सरलपारा आञ्चलिक समितिको आयोजनामा स्थानीय पाँच जना सहिदको स्मृतिमा २५ औँ पञ्च सहिद स्मृति दिवस श्रद्धा र सम्मानका साथ पालन गरिएको छ। सरलपारा क्षेत्र तथा जातिको हक–अधिकारका निम्ति बलिदान दिने सहिदहरूको सम्झनामा आयोजित उक्त कार्यक्रम बिहान झण्डोत्तलनसँगै सुरु भएको थियो।
कार्यक्रमको पहिलो कार्यसूची अन्तर्गत झण्डोत्तलन सरलपारा आञ्चलिक समितिका सभापति कृष्ण छेत्री, सरलपाराका प्राक्तन हेडमेन तथा प्राक्तन आग्सु केन्द्रीय समितिका सदस्य खेमराज भट्टराईले संयुक्त रूपमा गर्नु भएको थियो। झण्डोत्तलन पश्चात् आयोजित श्रद्धाञ्जली कार्यक्रममा सरलपारा आञ्चलिक समितिका मूल–सचिव मनिष रिमालले कार्यक्रम सञ्चालन गर्दै उपस्थित अतिथि, संघ–संस्थाका प्रतिनिधि तथा सर्वसाधारणलाई सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्न आह्वान गर्नु भएको थियो। सो अवसरमा उपस्थित सबैले सहिदहरूको योगदान स्मरण गर्दै श्रद्धासुमन अर्पण गरेका थिए।
कार्यक्रमको तेस्रो कार्यसूची अन्तर्गत सहिदहरूको सम्मानमा बाईक र्याली आयोजना गरिएको थियो, जसमा युवाहरूको उत्साहजनक सहभागिता देखिएको थियो। यसै अवसरमा सरलपारा भेकका विभिन्न मार्गहरूलाई स्थानीय सहिदहरूको नाममा नामाकरण गरिएको जानकारी प्राप्त भएको छ, जसले सहिदहरूको स्मृतिलाई स्थायी रूपमा जोगाइराख्ने विश्वास व्यक्त गरिएको छ।
उक्त कार्यक्रममा मुख्य अतिथिका रूपमा आग्सु कोक्राझार जिल्ला समितिका सभापति आइता घिसिङ ज्यू उपस्थित रहनु भई सहिदहरूको सम्मानमा श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो। उहाँले सहिदहरूको बलिदानले आजको पुस्तालाई अधिकार र पहिचानका लागि सचेत र संगठित बन्न प्रेरणा दिएको उल्लेख गर्नु भयो। श्रद्धाञ्जली कार्यक्रम पश्चात् सरलपारा आञ्चलका केही मार्गहरू सहिदहरूको नाममा औपचारिक रूपमा नामाकरण गरिएको थियो, जसअन्तर्गत स्वर्गीय धनबहादुर मगर, स्वर्गीय मनबहादुर तिवारी तथा स्वर्गीय ईप कुमार छेत्रीको नाममा बाटोको नामाकरण गरिएको छ।
त्यसै दिन सरलपारा आञ्चलिक समितिको कार्यालयको शिलान्यास कार्यक्रम पनि सम्पन्न भएको छ, जसलाई आञ्चलिक संगठनलाई थप सुदृढ र क्रियाशील बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
कार्यक्रममा जिल्ला समितिका मुख्य उपदेष्टा मुकुन्द भट्टराई, आग्सु केन्द्रीय समितिका स्वास्थ्य सचिव अमृत खड्का, जिल्ला समितिका उप–सभापति निरज सुवेदी, सचिवद्वय पवन सुवेदी र विदिशा गुरुङ, शिक्षा सचिव कैलाश छेत्रीको उपस्थिति रहेको थियो। साथै सरलपारा गाउँका हेडमेन, बुद्धिजीवी वर्ग तथा ठूलो संख्यामा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो। सहभागीहरूले सहिदहरूको त्याग र बलिदानप्रति सम्मान व्यक्त गर्दै यस्ता स्मृति दिवसले नयाँ पुस्तामा इतिहास र पहिचानबारे चेतना जगाउने विश्वास व्यक्त गरेका छन्।
प्रतिवेदक: भुवन पौडेल- सचिव (IT Incharge) कोक्राझार जिला समिति (आग्सु)।