
सिलासुती, १६ नोभेम्बरः अखिल असम गोर्खा छात्र संघ (आग्सु) सिलासुती आञ्चलिक समितिको सक्रिय पहलमा पहिलो पटक आयोजना गरिएको ‘तिहार बिदाई समारोह’ ऐतिहासिक जनसमागमका बीच अत्यन्तै भव्य र सांस्कृतिक भव्यताले सम्पन्न भएको छ। दुई दिनसम्म चलेको यो विशेष सांस्कृतिक पर्वले ब्रीजबारी माङ्हिम मन्दिर परिसरलाई झिलिमिली बत्ती, पारम्परिक रौनक र उत्साहले भरिदियो।
यस समारोहमा सिलासुती आसपासका गाउँ–बस्ती मात्र नभई टाढाटाढाबाट आएका हजारौं गोर्खा समुदायका सदस्य, स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा सबै उमेरका सहभागीहरूको उत्साहपूर्ण उपस्थिति रह्यो। लामो समयदेखि यातायात र संचार सुविधाको चुनौती भोगिरहेको क्षेत्रमै यस्तो विराट सांस्कृतिक कार्यक्रम आयोजना हुनु स्वयंमा ऐतिहासिक उपलब्धि भएको स्थानीयले बताएका छन्।
कार्यक्रमको आरम्भ चर्चित गायक जुबिन गार्गको लोकप्रिय गीत ‘मायाबिनी’ बाट भयो, जसले सम्पूर्ण माङ्हिम परिसरमा उल्लास र उत्साहको माहोल सिर्जना गर्यो। त्यसपछि निरन्तर प्रस्तुत गरिएका पारम्परिक देउसि–भैलो, लोकगीत, सांस्कृतिक नृत्य तथा भजनहरूले समारोहलाई गोर्खा सांस्कृतिक रंगमा रंगाए। यी प्रस्तुतीलाई दर्शकहरूले मनोरञ्जन मात्र नभई— आफ्नो पहिचान, संस्कार र सांस्कृतिक जरा संगाल्ने महत्वपूर्ण अवसरका रूपमा अनुभूत गरेका थिए।
सांस्कृतिक साँझमा प्रसिद्ध कलाकार हरी नेवार र गायत्री सोनारको विशेष प्रस्तुतीले वातावरण झनै जीवन्त बनायो। उनीहरूको भावपूर्ण आवाज, परम्परागत ताल–लयप्रतिको लगाव र सांगीतिक क्षमताले सम्पूर्ण दर्शकलाई मन्त्रमुग्ध बनायो। नयाँ पुस्ताले पनि ती प्रस्तुतीमार्फत गोर्खाली कला–संस्कृतिप्रति गहिरो रुचि देखाएको पाइयो।
समारोहमा अखिल असम गोर्खा छात्र संघ, केन्द्रीय समितिका खेलकुद सचिव मोहन बिश्वकर्मा, धेमाजी जिल्ला समितिका सभापति सोमराज पुरी, मूल–सचिव दिलीप खनाल, गोर्खा उन्नयन परिषदका सदस्य राजु तामाङ, धेमाजी जिल्ला समितिका मुख्य सलाहकार खेम बहादुर प्रधान, प्रमुख स्वयंसेवी दस्ता प्रमुख दिलीप कुमार लिम्बु, प्राक्तन सम्पादक जीवन शर्मा, सिलासुती आञ्चलिक समितिका सभापति अरुण खतिवडा, मूल–सचिव मनोज कुमार लिम्बु, सांस्कृतिककर्मी जितेन बैरागी तथा स्थानीय बुद्धिजीवी, शिक्षक, समाजसेवी र सर्वसाधारणहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमको उद्देश्य स्पष्ट गर्दै संघले भनेको छ— “गोर्खा समुदायको मौलिक परम्परा, संस्कार र सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै आधुनिक पुस्तासम्म गर्वका साथ पुर्याउनु नै यस समारोहको मूल ध्येय हो।”
दुई दिनसम्म चलेको यस महोत्सवमा स्थानीय नारी समूह, विद्यार्थी, युवा समाज, बालबालिका र विभिन्न सांस्कृतिक टोलीहरूको सहभागिताले क्षेत्रभित्र एकता, सांस्कृतिक चेतना र सामुदायिक सौहार्दको शक्तिशाली सन्देश फैलाएको देखियो। कार्यक्रमले गोर्खा समुदायको सांस्कृतिक आत्मविश्वास बढाएको, स्थानीय क्षेत्रको सांस्कृतिक पर्यटन सम्भावनालाई उजागर गरेको तथा सामुदायिक सहकार्यको नयाँ अध्याय सुरु गरेको सहभागीहरूले प्रतिक्रिया व्यक्त गरेका छन्।
अखिल असम गोर्खा छात्र संघले आगामी वर्षमा ‘तिहार बिदाई समारोह’लाई अझै भव्य रूप–रेखामा, अझ ठूलो सहभागिताका साथ निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिवेदन : सोमराज पुरी – सभापति, धेमाजी जिल्ला समिति (आग्सु)
