
बी.टी.सी, ०४ फेब्रुअरी: अखिल असम गोर्खा छात्र संघ (आग्सु) बी.टी.सी. क्षेत्रीय समितिद्वारा आयोजित Special Merit Examination/2026 को नतिजा आज ०४ फेब्रुअरी २०२६, बुधबार सार्वजनिक गरिएको छ। उक्त परीक्षा ११ जनवरी २०२६ का दिन सम्पन्न भएको थियो। आग्सु, बी.टी.सी. क्षेत्रीय समितिको आयोजनामा सम्पन्न यस परीक्षाले बी.टी.सी. क्षेत्रभरिका विद्यार्थीहरूलाई समेट्दै शैक्षिक प्रतिस्पर्धा र मूल्याङ्कनको एउटा महत्वपूर्ण मञ्च प्रदान गरेको आयोजक पक्षले जनाएको छ।
Special Merit Examination/2026 बी.टी.सी. क्षेत्र अन्तर्गत रहेका जम्मा ३२ वटा आञ्चलिक समितिमार्फत सञ्चालन गरिएको थियो। परीक्षा केन्द्र नम्बर १ देखि ३२ सम्म व्यवस्थित रूपमा परीक्षा सञ्चालन गरिएको थियो। परीक्षामा SEBA र CBSE दुबै बोर्डअन्तर्गत अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो, जसले परीक्षालाई समावेशी र व्यापक बनाएको थियो। प्राप्त विवरणअनुसार यस वर्षको Special Merit Examination/2026 मा जम्मा 1581 जना उम्मेदवार दर्ता भएका मध्ये 1062जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
घोषित नतिजा अनुसार उदलगुरी जिल्ला अन्तर्गत टाङ्गला आञ्चलिकका विद्यार्थी विवेक थापाले १०० पूर्णाङ्कमध्ये ८६ अंक प्राप्त गर्दै प्रथम स्थान हासिल गर्न सफल भएका छन्। उनले MCQ (Section A) तर्फ ५० र वर्णनात्मक (Section B) तर्फ ३६ अंक प्राप्त गरेका हुन्। त्यस्तै, तमुलपुर जिल्ला अन्तर्गत कुम्रिकाता आञ्चलिकका अमित लिम्बुले ८५ अंकसहित दोस्रो स्थान हासिल गरेका छन् भने बक्सा जिल्ला अन्तर्गत बास्का आञ्चलिककी कृतिका छेत्रीले ८४ अंक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेकी छन्।
मेरिट सूचीको चौथो स्थानमा कोक्राझार जिल्ला अन्तर्गत सरलपाड़ा आञ्चलिककी सुस्मा छेत्री रहेकी छन्। उनले ८३.५ अंक प्राप्त गरेकी हुन्। पाँचौं स्थानमा तमुलपुर जिल्ला अन्तर्गत कुम्रिकाता आञ्चलिकका साहिल प्रधान (८३ अंक), छैटौं स्थानमा बक्सा जिल्ला अन्तर्गत बास्का आञ्चलिकका धिरज गौतम (८२.५ अंक), सातौं स्थानमा कोक्राझार जिल्ला अन्तर्गत कोक्राझार आञ्चलिककी अनिशा प्रधान (८१ अंक), आठौं स्थानमा तमुलपुर जिल्ला अन्तर्गत कुम्रिकाता आञ्चलिककी सुम्निमा राई (८० अंक), नवौं स्थानमा उदलगुरी जिल्ला अन्तर्गत ओराङ आञ्चलिककी निशिता छेत्री (७९ अंक) र दशौं स्थानमा चिराङ जिल्ला अन्तर्गत हिमाली आञ्चलिककी बर्षा छेत्रीले ७८.५ अंक प्राप्त गर्दै स्थान सुरक्षित गर्न सफल भएकी छन्।

आग्सु, बी.टी.सी. क्षेत्रीय समितिका पदाधिकारीहरूले परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै सफल विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरेका छन्। शिक्षा सचिव, शंकर राइ, मूल–सचिव, राजु सुबेदी तथा सभापति, रोहित दाहालको
संयुक्त हस्ताक्षरसहित नतिजा सार्वजनिक गरिएको हो। आयोजक समितिका अनुसार आगामी दिनमा पनि यस्ता शैक्षिक गतिविधिहरूलाई निरन्तरता दिँदै विद्यार्थीहरूको प्रतिभा पहिचान र प्रोत्साहन गर्ने कार्यलाई थप मजबुत बनाइनेछ।
प्रतिवेदक: शंकर राइ-शिक्षा सचिव, बि. टि. सि क्षेत्रीय समिति(आग्सु)