All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #28
April 30, 2026

एयर ट्राफिक कन्ट्रोलर (ATC) बन्न सफल हाफलोंगका स्वरूप पाण्डेलाई आग्सु, दिमा हासाओ जिल्ला समिति द्वारा भव्य सम्मान

📅 April 30, 2026
✍️ AAGSU
🕒 12:05 AM

दिमा हासाओ, 26 अप्रेल : अखिल असम गोर्खा छात्र संघ (आग्सु), दिमा हासाओ जिल्ला समितिले आज साँझ एक विशेष सम्मान समारोहको आयोजना गर्दै माथिल्लो बागेटार, हाफलोंग निवासी श्री स्वरूप पाण्डेलाई सम्मानित गरेको छ। भारत सरकारको नागरिक उड्डयन मन्त्रालय अन्तर्गत एयरपोर्ट अथोरिटी अफ इन्डिया (AAI) को प्रतिष्ठित एयर ट्राफिक कन्ट्रोलर (ATC) परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेको ऐतिहासिक उपलब्धिका लागि उहाँलाई यसरी कदर गरिएको हो। यस गरिमामय सम्मान कार्यक्रममा AAGSU का विभिन्न तहका पदाधिकारी तथा सदस्यहरू, स्थानीय बुद्धिजीवी, बासिन्दाहरू र शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो। उपस्थित जनसमुदायको उत्साह र हर्षोल्लासले कार्यक्रमलाई अझ बढी अर्थपूर्ण, भव्य र ऊर्जावान बनाएको थियो।


श्री धर्मराज पाण्डे र श्रीमती सीता कुमारी पाण्डेका सुपुत्र स्वरूप पाण्डेले आफ्नो कडा मेहनत, निरन्तरको लगनशीलता र दृढ संकल्पको बलमा यो विशिष्ट सफलता हासिल गर्नुभएको हो। लाखौं परीक्षार्थीहरू सहभागी हुने यस कठिन र उच्च प्रतिस्पर्धात्मक परीक्षामा उहाँले प्राप्त गरेको सफलताले दिमा हासाओ जिल्ला र समग्र समुदायको नाम उच्च बनाएको छ। उहाँको यस सफलतालाई समर्पण र मेहनतको उत्कृष्ट उदाहरणको रूपमा लिइएको छ, जुन आजका युवापुस्ताका लागि एक उत्कृष्ट मार्गदर्शन र प्रेरणाको स्रोतसमेत बनेको छ।


समारोहमा स्वरूपलाई सम्मान गर्दै आग्सुले यस शानदार सफलताको लागि हार्दिक बधाई ज्ञापन गर्नुका साथै उड्डयन क्षेत्रमा आगामी उज्ज्वल भविष्य र सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। “हामी सबै मिलेर यस सफलताको उत्सव मनाऔं र आउने नयाँ पुस्तालाई लक्ष्य प्राप्तिका लागि प्रेरित गरौं” भन्ने सकारात्मक सन्देश प्रवाह गर्दै जिल्ला समितिले कार्यक्रमको समापन गरेको थियो। यो सम्मान समारोह केवल एउटा व्यक्तिको सफलताको उत्सव मात्र नभएर, कडा परिश्रम गरे असम्भव केही छैन भन्ने कुरालाई प्रमाणित गर्ने एउटा महत्वपूर्ण कडी बनेको छ।

प्रतिवेदक: विषाल जैसी- शिक्षा सचिव, दिमा हसाओ जिल्ला समिति।

📤 Share this story
Scroll to Top