
टंला : 8 फेब्रुअरी: अखिल असम गोर्खा छात्र संघ, टंला आञ्चलिक समिति अन्तर्गत यस वर्ष उच्च तथा उच्चतर माध्यमिक परीक्षा दिन लागेका विद्यार्थीहरूका गृहमा पुगेर शुभेच्छा तथा हौसला प्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।
आञ्चलिक समितिका शिक्षा सचिव श्री हङ्शराज छेत्री ज्यूको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रमअन्तर्गत समितिका प्रतिनिधिहरू विद्यार्थीहरूको निवासमै पुगेर परीक्षा तयारीको अवस्थाबारे जानकारी लिँदै आवश्यक सुझाव, प्रेरणा तथा मनोबल वृद्धि गर्ने कार्य सम्पन्न गरेका हुन्।
कार्यक्रमको उद्देश्य केवल शुभकामना व्यक्त गर्नु मात्र नभई विद्यार्थीहरूलाई आत्मविश्वासका साथ परीक्षामा सहभागी हुन प्रेरित गर्नु, अध्ययनप्रति सकारात्मक सोच विकास गर्नु तथा अभिभावकहरूसँग समन्वय गरी शैक्षिक वातावरण सुदृढ बनाउन सहयोग पुर्याउनु रहेको थियो।
यस अवसरमा विद्यार्थीहरूले आफ्नो तयारी, जिज्ञासा तथा अनुभवहरू साझा गरेका थिए भने समितिका पदाधिकारीहरूले अनुशासन, समय व्यवस्थापन र आत्मविश्वासका साथ परीक्षा दिन सुझाव प्रदान गर्नुभयो।
यस्ता कार्यक्रमले विद्यार्थी र संगठनबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै शैक्षिक क्षेत्रमा संगठनको सकारात्मक भूमिकालाई थप मजबुत बनाउने विश्वास लिइएको छ।
प्रेरक: सञ्जय छेत्री, मुल सचिव, टंला आञ्चलिक समिति ।