All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #34
June 11, 2026

विश्व वातावरण दिवसको अवसरमा डिमौ गोर्खा भवनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

📅 June 11, 2026
✍️ AAGSU
🕒 12:06 AM

धेमाजी, ५ जुनः विश्व पर्यावरण दिवसको अवसर पारेर अखिल असम गोर्खा छात्र संघ (आग्सु) डिमौ आञ्चलिक समितिको आयोजनामा गोर्खा भवन परिसरमा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ र स्वस्थ भविष्य निर्माण गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा आञ्चलिक समितिका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा दिमौ आञ्चलिक समितिका सभापति राम ढुङ्गाना, उप–सभापति बिरेन गिरी, सचिव प्रदीप धमला तथा शिक्षा सचिव ओम क्षेत्रीको विशेष उपस्थिति रहेको थियो। सहभागीहरूले विभिन्न प्रजातिका बिरुवाहरू रोप्दै वातावरणीय सन्तुलन कायम राख्न वृक्षारोपणको महत्त्वबारे चर्चा गरेका थिए।

उक्त अवसरमा वक्ताहरूले जलवायु परिवर्तन, वन विनाश तथा बढ्दो प्रदूषणले मानव जीवनमा पारिरहेको प्रभावबारे चिन्ता व्यक्त गर्दै वातावरण संरक्षणका लागि प्रत्येक नागरिकले व्यक्तिगत तथा सामूहिक रूपमा जिम्मेवारी वहन गर्नुपर्ने धारणा राखे। उनीहरूले विश्व वातावरण दिवस केवल एक दिनको कार्यक्रममा सीमित नभई दैनिक जीवनमा वातावरणमैत्री व्यवहार अपनाउने संकल्पका रूपमा लिनुपर्नेमा जोड दिएका थिए।

सभापति राम ढुङ्गाना प्रकृतिको संरक्षण वर्तमान पुस्ताको मात्र नभई भावी पुस्ताप्रतिको दायित्व भएको उल्लेख गर्दै वृक्षारोपण जस्ता अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए। सचिव प्रदीप धमेलाले वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धिका लागि आग्सु दिमौ आञ्चलिक समितिले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा जनहितका कार्यक्रमहरूलाई निरन्तरता दिने जानकारी दिए।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले “हरियाली र स्वच्छ भविष्यका लागि आजको सानो प्रयास, भोलिको ठूलो उपलब्धि” भन्ने सन्देशसहित वातावरण संरक्षणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए। विश्व वातावरण दिवसको अवसरमा सम्पन्न उक्त वृक्षारोपण कार्यक्रमले स्थानीय क्षेत्रमा वातावरणीय चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रतिवेदक: ओम छेत्री- शिक्षा सचिव, डिमौ आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top