
उदालगुड़ी, 16 नोभेम्बर 2025 — अखिल असम गोर्खा छात्र संघ (आग्सु) उदालगुड़ी आञ्चलिक समितिद्वारा जङ्ल बडिगाउँ विद्यालयको प्राङ्गणमा आज एक महत्वपूर्ण प्रतिनिधि सभा भव्य रूपमा सम्पन्न भयो। संस्थागत विकासदेखि आगामी कार्यदिशासम्मका महत्वपूर्ण विषयमा व्यापक छलफल भएको यो प्रतिनिधि सभाले उदालगुड़ी आञ्चलिक समितिको आगामी कार्यकालका लागि नयाँ नेतृत्व पनि सर्वसम्मत रूपमा चयन गरेको छ, जसलाई सहभागी प्रतिनिधिहरूले एकमत समर्थन प्रदान गरे।
कार्यक्रमको अध्यक्षता समितिका सम्माननीय सभापति सुरज छेत्री ज्यूले गर्नुभएको थियो। उहाँले सम्बोधन गर्दै उदालगुड़ी क्षेत्रमा AAGSU ले विगतका वर्षहरूमा निर्वाह गर्दै आएको सामाजिक, सांस्कृतिक र शिक्षामूलक भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनहरूमा संगठनलाई अझ व्यवस्थित, सुदृढ र जनसरोकारमुखी बनाउन सबै तहका नेतृत्व तथा सदस्यहरू एकजुट भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो। प्रतिनिधि सभाको सञ्चालन समितिका मूल–सचिव चन्दन छेत्री ज्यूले गर्नुभएको थियो।
सभामा उपस्थित प्रतिनिधिहरूबीच भएको विस्तृत विचार–विमर्शपछिको सर्वसम्मत निर्णयअनुसार आगामी कार्यकालका लागि उदालगुड़ी आञ्चलिक समितिको नयाँ नेतृत्व यसप्रकार चयन गरिएको छ—सभापति : श्री तेजबहादुर कार्की,मूल–सचिव : श्री अर्जुन थापा।
नयाँ नेतृत्वले संगठनलाई अघि बढाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै वक्ताहरूले संघको नीतिगत कार्यसूची, संगठन विस्तार, जातीय पहिचान संरक्षण, विद्यार्थी–हित अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वका क्षेत्रहरूमा सामूहिक प्रतिबद्धता जनाए। नवीन नेतृत्वप्रति पूर्ण विश्वास व्यक्त गर्दै सहभागीहरूले उदालगुड़ी आञ्चलिक समितिलाई आगामी दिनमा अझ प्रभावकारी, पारदर्शी तथा गतिशील रूपमा कार्यान्वित गर्न समर्थन प्रकट गरे।
आजको प्रतिनिधि सभामा अखिल असम गोर्खा छात्र संघ का केन्द्रीय, क्षेत्रीय, जिल्ला तथा बान्दरगुडी आञ्चलिक समितिका सभापति, पदाधिकारी, प्रतिनिधि तथा विभिन्न सामाजिक–सांस्कृतिक क्षेत्रका बुद्धिजीवी व्यक्तित्वहरूको सक्रिय उपस्थिति रहेको थियो। संस्थाको हितमैत्री, जातीय चेतना अभिवृद्धि तथा भविष्य उन्मुख अभियानमा साथ–सहयोग प्रदान गरिरहेका सबै महानुभावहरूलाई समितिको तर्फबाट हार्दिक आभार व्यक्त गरिएको छ।
— प्रतिवेदन: पंकज खतिवडड़ा, उप–सभापति, उदालगुड़ी आञ्चलिक समिति (AAGSU)
