All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #3
November 6, 2025

उदालगुड़ी आञ्चलिक समितिको बर्धित कार्यकारिणी सभा सम्पन्न, प्रतिनिधि सभा आयोजना गर्ने निर्णय

📅 November 6, 2025
✍️ AAGSU
🕒 12:17 AM

उदालगुड़ी, नोभेम्बर २, : अखिल असम गोर्खा छात्र संघ, उदालगुड़ी आञ्चलिक समितिले आफ्नो दुई वर्षे कार्यकाल पूरा गरेसँगै जंगलबोरी गाउँ शाखा समितिको सभाकक्षमा विशेष बर्धित कार्यकारिणी सभा सफलतापूर्वक सम्पन्न गरेको छ। सभामा उदालगुड़ी आञ्चलिक समितिका सम्पूर्ण प्रतिनिधिहरू, चारवटा शाखा समितिका सभापति र मूल सचिवहरू, उदालगुड़ी महाविद्यालय इकाइका पदाधिकारीहरू, साथै विभिन्न शाखा र इकाइ समितिहरूका सक्रिय कार्यकर्ताहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा अध्यक्षता आञ्चलिक सभापति श्री सुरज छेत्रीले गर्नु भएको थियो भने सञ्चालन आञ्चलिक मूल सचिव श्री चन्दन थापाले गर्नु भएको थियो।

कार्यक्रमको प्रमुख उद्देश्य विगत दुई वर्षमा सम्पन्न संगठनात्मक कार्यको समीक्षा, उपलब्धि र चुनौतीहरूको विश्लेषण गर्नु र संघको आगामी योजनाहरूको रूपरेखा तय गर्नु रहेको थियो। सभामा उपस्थित सदस्यहरूले संगठनको विस्तार, सुदृढीकरण र आगामी गतिविधिहरूमा समन्वयको महत्वमा बल दिएका थिए। सभामा बहसका क्रममा विगत दुई वर्षमा संगठनले हासिल गरेका महत्वपूर्ण उपलब्धिहरू, साथै सामना गर्नुपर्ने चुनौतीहरूको खुलस्त समीक्षा गरिएको थियो। यसले संघका सदस्यहरूलाई संगठनप्रति आफ्नो जिम्मेवारी र प्रतिबद्धता पुनः स्मरण गराउने अवसर पनि प्रदान गरेको थियो।

विशेष चर्चा विषयको रूपमा आगामी प्रतिनिधि सभा आयोजनाको निर्णय लिइएको थियो। उपस्थित सदस्यहरूको सहमति अनुसार, आगामी १६ नोभेम्बर २०२५ मा आञ्चलिक समितिको प्रतिनिधि सभा जंगलबोरी गाउँ शाखा समितिको आयोजनामा, आञ्चलिक समितिको पूर्ण सहयोगमा सम्पन्न गरिने निर्णय गरिएको छ। कार्यक्रम स्थल जंगलबोरी गाउँ प्राथमिक विद्यालय रहनेछ। सभापति श्री सुरज छेत्रीले आफ्नो मन्तव्यमा प्रतिनिधि सभा संगठनको नयाँ दिशा, एकता र जिम्मेवारीको पुनःप्रेरणा स्वरूप हुने बताएका छन्। उनले संगठनलाई अझ सशक्त, जिम्मेवार र जनसमर्पित बनाउने लक्ष्यसहित सम्पूर्ण सदस्य, सतिर्थजन र समर्थकहरूलाई उक्त प्रतिनिधि सभामा सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्।

मूल सचिव श्री चन्दन थापाले पनि आगामी प्रतिनिधि सभा सम्बन्धी तयारी र सदस्यहरूको समर्पणमा जोड दिँदै संगठनलाई भविष्यमा अझ प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। यस बर्धित कार्यकारिणी सभाले उदालगुड़ी आञ्चलिक समितिलाई आगामी योजनाहरूको स्पष्ट मार्गचित्र प्रदान गरेको छ। संगठनले आगामी प्रतिनिधि सभामा सदस्यहरूको सक्रिय सहभागिता सुनिश्चित गर्दै, आञ्चलिक समितिको दायरा विस्तार गर्ने, विभिन्न शाखा र इकाइ समिताहरूसँग समन्वय बढाउने तथा सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेको छ।सदस्यहरूले संगठनको गतिविधिमा निरन्तर सहभागिता जनाउँदै समुदायमा गोर्खा चेतना, शिक्षा र सामाजिक उत्तरदायित्वको प्रवर्धन गर्ने संकल्प गरेका छन्। आगामी प्रतिनिधि सभा यस दिशामा महत्वपूर्ण कदम बन्ने विश्वास पनि व्यक्त गरिएको छ।

उदालगुड़ी आञ्चलिक समितिको बर्धित कार्यकारिणी सभा यसरी संगठनको ऐतिहासिक निर्णय, नयाँ योजनाहरूको रूपरेखा र सदस्यहरूको सक्रिय संलग्नतासहित सम्पन्न भएको छ, जसले अखिल असम गोर्खा छात्र संघको भविष्यलाई थप सशक्त र दिगो बनाउने अपेक्षा गरिएको छ।

✒ सुरज छेत्री- सभापति, उदालगुरी आञ्चलिक समिति

📤 Share this story
Last Story in Issue →
Scroll to Top