
उदालगुडी, २६ फेब्रुअरी २०२६ — अखिल असम गोर्खा छात्र संघ (आग्सु) उदालगुडी जिल्ला समितिको कार्यकारिणी सभा आज जिल्ला समितिका सम्माननीय सभापति राम छेत्री ज्यूको सभापतित्वमा सम्पन्न भएको छ। सभाको सञ्चालन मान्यवर मूल–सचिव किशोर सिर्पाली ज्यूले गर्नुभएको थियो भने जिल्ला उप–सभापति किशोर काश्यप ज्यूले सभालाई व्यवस्थित रूपमा सफल बनाउन महत्वपूर्ण सहयोग पुर्याउनुभयो।
उक्त सभामा आग्सुका प्रचार सचिव सम्माननीय सोमराज सोनार ज्यू तथा बि.टि.आर.क्षेत्रीय समिति का सम्माननीय सभापति रोहित कुमार दाहाल ज्यूको विशेष उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले संगठनलाई सुदृढ, सक्रिय र परिणाममुखी बनाउन जिल्ला समितिको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो।
सभामा शैक्षिक, सांगठनिक तथा समसामयिक विषयहरूमा विस्तृत छलफल गरिएको थियो। विशेषगरी जिल्लाभर विद्यार्थीहरूको शैक्षिक समस्या, संगठन विस्तार, सदस्यता अभियान, अनुशासन सुदृढीकरण तथा आगामी कार्यक्रमहरूको रूपरेखा सम्बन्धी विषयमा गहन विचार–विमर्श भएको जनाइएको छ। वक्ताहरूले संगठनलाई अझ दर्विलो र प्रभावकारी बनाउन जिम्मेवारी स्पष्ट र सक्रिय नेतृत्व आवश्यक रहेकोमा जोड दिनुभयो।
सभाले जिल्ला समितिलाई थप मजबुत बनाउने उद्देश्यले केही कार्यकारिणी सदस्यहरूलाई विभिन्न पदहरूमा पदोन्नति गर्ने महत्वपूर्ण निर्णय पारित गरेको छ। पारित प्रस्तावअनुसार दुर्गा बस्नेत ज्यू र अर्पण छेत्री ज्यूलाई उप–सभापति पदमा पदोन्नति गरिएको छ। त्यसैगरी नवीन चन्द्र दाहाल ज्यू र लया प्रसाद उपाध्याय ज्यूलाई सचिव पदको जिम्मेवारी प्रदान गरिएको छ। शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै रूपम आत्रेय ज्यू र दीपक अधिकारी ज्यूलाई शिक्षा सचिव पदमा पदोन्नति गरिएको निर्णय सभाले सर्वसम्मतिले अनुमोदन गरेको छ।
यसैगरी, सभाले संगठनको अनुभव र मार्गदर्शनलाई अझ सशक्त बनाउने उद्देश्यले आग्सु उदालगुडी आञ्चलिकका उपदेश्ता मनोज कुमार राउत ज्यूलाई उदालगुडी जिल्ला समितिको कार्यकारिणी सदस्यको रूपमा ग्रहण गर्ने प्रस्ताव पनि पारित गरेको छ। उहाँको समावेशले जिल्ला समितिलाई वैचारिक तथा सांगठनिक रूपमा थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।
सभापति राम छेत्री ज्यूले आफ्नो समापन मन्तव्यमा संगठनको उद्देश्य प्राप्तिका लागि एकता, अनुशासन र सक्रियता अपरिहार्य रहेको उल्लेख गर्दै नवपदोन्नत पदाधिकारीहरूलाई जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न आह्वान गर्नुभयो। मूल–सचिव किशोर सिर्पाली ज्यूले पारित निर्णयहरू कार्यान्वयनमा ल्याउन सम्पूर्ण सदस्यहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गर्नुभयो।
यसरी सम्पन्न भएको कार्यकारिणी सभाले आग्सु उदालगुडी जिल्ला समितिलाई आगामी दिनहरूमा अझ सशक्त, संगठित र विद्यार्थीमुखी गतिविधि सञ्चालनतर्फ उन्मुख गराउने विश्वास लिइएको छ।
प्रतिवेदक: संजय छेत्री-मूल सचिव, टंला आञ्चलिक समिति।