All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #38
July 9, 2026

उदालगुडीमा आग्सुद्वारा कृति विद्यार्थी छात्र पुरस्कार तथा प्रतिभा सम्मान कार्यक्रम सम्पन्न, करिब ७० विद्यार्थी सम्मानित

📅 July 9, 2026
✍️ AAGSU
🕒 12:10 AM

उदालगुडी, ५ जुलाई: अखिल असम गोर्खा छात्र संघ (आग्सु) उदालगुडी आञ्चलिक समितिको आयोजनामा ‘कृति विद्यार्थी छात्र पुरस्कार तथा स्वर्गीय कुन्ती देवी स्मृति छात्र पुरस्कार वितरण एवं प्रतिभा सम्मान कार्यक्रम–२०२६’ भव्य तथा गरिमामय वातावरणमा सम्पन्न भएको छ। शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूको सम्मान गर्दै उनीहरूलाई भविष्यमा अझ उच्च सफलता हासिल गर्न प्रेरित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा उदालगुडी आञ्चलिक क्षेत्रअन्तर्गत HSLC तथा HS परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण भएका करिब ७० जना छात्र–छात्रालाई सम्मानपत्र, पुरस्कार तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रमको सभापतित्व आग्सु उदालगुडी आञ्चलिक समितिका सभापति तेजबहादुर कार्कीले गर्नुभएको थियो भने मूल–सचिव अर्जुन थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सदिया विश्वविद्यालयका सहायक प्राध्यापक डा. दिपेन्द्र कुमार खनालको उपस्थिति रहेको थियो। उहाँले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा, अनुशासन, मेहनत, लक्ष्यप्रतिको प्रतिबद्धता तथा समाजप्रतिको उत्तरदायित्वबारे प्रेरणादायी मन्तव्य व्यक्त गर्दै वर्तमान प्रतिस्पर्धात्मक युगमा सफल हुन निरन्तर अध्ययन, आत्मविश्वास र सकारात्मक सोच आवश्यक रहेको बताउनुभयो। साथै, विद्यार्थीहरूले आफ्नो क्षमता पहिचान गरी राष्ट्र र समाज निर्माणमा योगदान पुर्‍याउनुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वरिष्ठ शिक्षक लक्ष्मण उपाध्याय, असम नेपाली साहित्य सभा उदालगुडी जिल्ला समितिका उपसभापति तथा उदालगुडी उच्चतर माध्यमिक विद्यालयका वरिष्ठ शिक्षक मोहन कुमार छेत्री, उदालगुडी उच्चतर माध्यमिक विद्यालयका सहायक शिक्षक लक्ष्मण तिम्सिना, आग्सु BTR क्षेत्रीय समितिका उपसभापति तथा समाजसेवी पूर्ण बिष्ट, उदालगुडी महाविद्यालयका प्राध्यापक एर्विन दैमारी तथा समाजसेवी सोमनाथ नेपालको उपस्थिति रहेको थियो। अतिथिहरूले विद्यार्थीहरूलाई आफ्नो अनुभव, संघर्ष र सफलताका कथा सुनाउँदै शिक्षा नै उज्ज्वल भविष्यको आधार भएको उल्लेख गरे। उनीहरूले विद्यार्थीहरूलाई समयको सदुपयोग, अनुशासित जीवनशैली तथा निरन्तर अध्ययनमार्फत जीवनका प्रत्येक क्षेत्रमा सफलता हासिल गर्न सकिने विश्वास व्यक्त गरे।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई ‘कृति विद्यार्थी छात्र पुरस्कार’ तथा ‘स्वर्गीय कुन्ती देवी स्मृति छात्र पुरस्कार’ प्रदान गरिएको थियो। पुरस्कार प्राप्त विद्यार्थीहरूलाई सम्मानपत्र, पुरस्कार तथा मायाको चिनो प्रदान गर्दै उनीहरूको उपलब्धिको उच्च मूल्याङ्कन गरिएको थियो। आयोजक समितिका अनुसार यस प्रकारको सम्मान कार्यक्रमले विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि वृद्धि गर्नुका साथै अन्य विद्यार्थीहरूलाई पनि उत्कृष्ट नतिजा हासिल गर्न प्रेरित गर्ने विश्वास लिइएको छ।

कार्यक्रममा आग्सु उदालगुडी जिल्ला समितिका उपसभापति दुर्गा बस्नेत, सचिव हेमराज छेत्री, सांगठनिक सचिव सागर खड्का छेत्री, शिक्षा सचिव दीपक अधिकारी, प्रचार सचिव तिलक गौतम, जिल्ला कार्यकारिणी सदस्य विकास भट्टराई तथा मनोज राउत लगायत जिल्ला तथा आञ्चलिक समितिका पदाधिकारी, शिक्षक, अभिभावक, विद्यार्थी, सामाजिक व्यक्तित्व तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता शैक्षिक सम्मान कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै समाजमा शिक्षाप्रति जागरण ल्याउने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रमको समापन गर्दै आयोजक समितिले विद्यार्थीहरूको शैक्षिक उपलब्धिलाई सम्मान गर्ने परम्परालाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ। साथै, कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण अतिथि, शिक्षक, अभिभावक, विद्यार्थी, सहयोगी, पदाधिकारी, कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति अखिल असम गोर्खा छात्र सङ्घ (आग्सु) उदालगुडी आञ्चलिक समितिले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।

प्रतिवेदक: अर्जुन थापा-मूल सचिव, उदालगुरी अञ्चलिक समिति ।

📤 Share this story
Last Story in Issue →
Scroll to Top