
बङ्गाईगाउँ, २अक्टोबर २०२६: अखिल असम गोर्खा छात्र संघ(आग्सु) बङ्गाईगाउँ विश्वविद्यालय इकाईको उद्योगमा र बङ्गाईगाउँ जिल्ला समितिको सहयोगमा
२३औँ नवागत छात्र–छात्राहरूको स्वागत समारोह साथै शैक्षिक जागरूकता एवम प्रेरणादायी कार्यक्रम भव्य तथा उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भयो।
उक्त कार्यक्रममा मुख्य अतिथि को रूपमा आग्सु केन्द्रीय समितिका शिक्षा सचिव श्रीमान भोजराज शर्माज्यू उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी विशिष्ट अतिथिहरुको रूपमा बङ्गाईगाउँ जिल्ला समिति का सभापति श्रीमान प्रभाकर छेत्रीज्यू,आग्सु केन्द्रीय समितिका वित्त सचिव श्रीमान रिजु छेत्रीज्यू ,बङ्गाईगाउँ विश्वविद्यालयका परीक्षा नियन्त्रक, प्रा. भवानी प्रसाद शर्मा, स्वागत अस्पतालकी डा. भेनुका कार्की,बिजनी विधानसभा क्षेत्रका विधायक श्रीमान अरूप कुमार दे, स्नातकोत्तर शिक्षक तथा PGSU, गुवाहाटी विश्वविद्यालयका पूर्व मूलसचिव श्रीमान लक्ष्मण उपाध्याय, साइबर सुरक्षा विशेषज्ञ श्रीमान सागर दाहाल, बङ्गाईगाउँ हक्की एसोसिएसनका मूलसचिव तथा सामाजिक कार्यकर्ता श्रीमान प्रबिन कुमार बैश्य, लगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागिताले कार्यक्रमलाई अझैं गरिमामय बनाएको थियो।
यसैगरी चिराङ तथा कोकराझार जिल्ला आग्सु समितिका सभापति/मूलसचिव साथै बङ्गाईगाउँ जिल्ला समिति र किसान बजार/बङ्गाईगाउँ टाउन अञ्चलिक समितिका सम्पूर्ण पदाधिकारीगणको उल्लेखनीय उपस्थिति रहेको थियो। उहाँहरूको उपस्थितिले नवागत विद्यार्थीहरूलाई अझ उत्साहित र प्रेरित बनाएको थियो।
कार्यक्रममा आग्सु बङ्गाईगाउँ विश्वविद्यालय इकाई द्वारा पहिलोपटक वार्षिक मुखपत्र ‘गोर्खा मञ्जरी’ को भव्य रूपमा उन्मोचन गरिएको थियो। उक्त वार्षिक मुखपत्रको उन्मोचन कार्यक्रमका विशिष्ट अतिथि प्रा. भवानी प्रसाद शर्माज्यूबाट सम्पन्न भएको थियो। ‘गोर्खा मञ्जरी’का मुख्य सम्पादक श्री मुक्तिनाथ काफ्ले तथा सह–सम्पादक सुश्री लीला देवी रहनुभएको छ। विश्वविद्यालयको साहित्यिक, शैक्षिक तथा सिर्जनात्मक गतिविधिलाई अभिलेखीकरण गर्दै विद्यार्थी, शिक्षक तथा स्रष्टाहरूका प्रतिभालाई उजागर गर्ने उद्देश्यले प्रकाशित यस मुखपत्रले कार्यक्रमको महत्त्वलाई अझैं उचाइ प्रदान गरेको थियो।
कार्यक्रमको मुख्य उद्देश्य विश्वविद्यालयमा नयाँ प्रवेश गरेका विद्यार्थीहरूलाई आत्मीय स्वागत गर्नुका साथै शिक्षा, व्यक्तित्व विकास, नेतृत्व क्षमता, अनुशासन तथा भविष्यप्रतिको सकारात्मक सोच सम्बन्धमा जागरूक गराउनु रहेको थियो। कार्यक्रममा उपस्थित अतिथि तथा वक्ताहरूले विद्यार्थी जीवनको महत्त्व, उच्च शिक्षाको आवश्यकता, लक्ष्य निर्धारण तथा सफल भविष्य निर्माणका लागि निरन्तर मेहनत र सकारात्मक सोच आवश्यक रहेको विषयमा प्रेरणादायी मन्तव्य प्रस्तुत गर्नुभयो।
कार्यक्रमलाई थप आकर्षक तथा मनोरञ्जनात्मक बनाउन नवागत तथा अन्य विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम, गीत, नृत्य तथा प्रतिभामूलक प्रस्तुतिहरू प्रस्तुत गरे। विद्यार्थीहरूको उत्साहजनक सहभागिता र प्रतिभाले समारोहलाई अझ जीवन्त, आकर्षक तथा स्मरणीय बनाएको थियो।
सम्पूर्णमा २३औँ नवागत छात्र–छात्रा स्वागत समारोह तथा शैक्षिक जागरूकता एवम प्रेरणादायी कार्यक्रम अत्यन्त सफलतापूर्वक सम्पन्न भयो। अतिथिहरूको प्रेरणादायी मन्तव्य, अग्रजहरूको मार्गदर्शन तथा नवागत विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई विशेष रूपमा सफल र अर्थपूर्ण बनाएको थियो। उक्त कार्यक्रमले नवागत विद्यार्थीहरूमा आत्मविश्वास, सकारात्मक सोच तथा आफ्नो शैक्षिक यात्राप्रति नयाँ उत्साह र प्रेरणा प्रदान गरेको छ।
प्रतिवेदक: श्री योगेश गिरी, सूचना एवं प्रविधि सचिव, बङ्गाईगाउँ जिला समिति।