
कार्बि आंलङ, ३ डिसेम्बर: आगामी 4, 5 र 6 डिसेम्बर 2025 मा कार्बि आंलङ पहिलो पटक व्यापक र ऐतिहासिक सांस्कृतिक उद्यमको साक्षी बन्नेछ। अखिल असम गोर्खा छात्र संघ (आग्सु ) कार्बि आंलङ तथा पश्चिम कार्बि आंलङ जिल्ला समिति, आ.गो.स पूर्व–पश्चिम जिल्ला समिति, भ.गो.प कार्बि आंलङ, ने.सा.स पूर्व–पश्चिम जिल्ला समितिहरूको संयुक्त पहलमा ‘गोर्खा सांस्कृतिक अभिवर्तन’ नामक वृहत् सांस्कृतिक आयोजनाको तयारी तिव्रगतिमा भइरहेको आयोजकहरूले जानकारी दिएका छन्।
उद्योग, सहयोग र सक्रिय सहभागितामा स्थानीय गोर्खा समुदाय, समाजसेवी तथा संस्कृति–प्रेमी नागरिकहरूले अभिवर्तनलाई सफल तथा ऐतिहासिक बनाउने लक्ष्य लिएका छन्। कार्बि आंलङमा पहिलोपटक आयोजित हुन लागेको यस कार्यक्रमले गोर्खा सांस्कृतिक पहिचान, परम्परा र सामूहिक उत्तरदायित्वलाई सुदृढ बनाउने स्पष्ट उद्देश्य बोकेको छ। गोर्खा समाजभित्र विगत केही वर्षयता भइरहेको पहिचान–अभियान, सांस्कृतिक संरक्षण तथा संगठनात्मक एकतालाई थप प्रस्ट पार्ने अभिवर्तनले नयाँ सामाजिक मार्गचित्र निर्माण गर्ने अपेक्षा गरिएको छ।
अभिवर्तनको पहिलो दिन प्रतिनिधिहरूको पञ्जीकरण सम्पन्न गरिनेछ। त्यसपछि गोर्खा सांस्कृतिक समाज गठनका लागि क्रियाशील आह्वायक समितिको अन्तिम कार्यकारिणी बैठक बस्नेछ, जहाँ विभिन्न सुझाव, योजनाहरू तथा आगामी संरचनाबारे अन्तिम निर्णयहरू गरिनेछन्। दोस्रो दिन प्रतिनिधि सभासँगै गोर्खा सांस्कृतिक समाजको पूर्णाङ्ग समिति गठन गरिनेछ, जुन दीर्घकालीन सांस्कृतिक अभियानको नेतृत्वकर्ता निकायका रूपमा कार्य गर्नेछ। प्रतिनिधिहरूद्वारा प्रस्तुत विचार, सिफारिस तथा प्रस्तावहरू समिति गठन प्रक्रियाको मूल आधार हुने बताइएको छ।
तेस्रो दिन कार्यक्रमको मुख्य आकर्षण सांस्कृतिक शोभायात्रा हुनेछ, जसमा परम्परागत पोशाक, धुन, नृत्य तथा सांस्कृतिक पहिरनका माध्यमबाट गोर्खा समुदायको सांस्कृतिक विविधता प्रस्तुत गरिनेछ। शोभायात्रापछि खुला सभा आयोजना हुनेछ, जसलाई गोर्खा सांस्कृतिक समाजका मुख्य आह्वायक श्री बलराम थापाले सभापतित्व गर्नेछन्। खुला सभाको प्रमुख अतिथिका रूपमा कार्बि आंलङ स्वायत्तशासी परिषद्का मुख्य कार्यकारी सदस्य डा. तुलिराम रंहां उपस्थित हुनेछन्। साथै विभिन्न गोर्खा संगठन, सामाजिक संस्थाका प्रमुख जिम्मेवारहरू, स्थानीय नेतृत्त्व तथा बुद्धिजीवीहरूको उपस्थिति रहनेछ।
आयोजकहरूको भनाइमा यो अभिवर्तन केवल सांस्कृतिक कार्यक्रम मात्र नभई समुदायलाई आफ्नो मौलिकता, परम्परा र पहिचानलाई सुदृढ रूपमा प्रस्तुत गर्ने साझा मञ्च हो। यसले युवा पुस्तालाई सांस्कृतिक अभियानसँग जोड्ने, विगतका मूल्यहरूलाई पुनर्जीवित गर्ने र भविष्यको दिशानिर्देश तयार गर्न मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ।
यस तीनदिने अभिवर्तनले कार्बि आंलङका गोर्खा समुदायबीच सांस्कृतिक गर्व, एकता र सामूहिक जिम्मेवारीबोधलाई गहिरो बनाउने अपेक्षा गरिएको छ। आयोजक समितिले कार्यक्रमलाई अनुशासित, भव्य र ऐतिहासिक बनाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
प्रतिवेदन: नारायण छेत्री- सभापति, कार्वि-आंलङ जिला समिति (आग्सु) ।