All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #14
January 22, 2026

एकल मञ्चमा आयोजित ऐतिहासिक बागुरुम्बा नृत्य प्रस्तुतिमा सांस्कृतिक एकता र गौरवको सन्देश

📅 January 22, 2026
✍️ AAGSU
🕒 12:03 AM

असम सरकारको आयोजनामा एकल मञ्चमा प्रस्तुत गरिएको बागुरुम्बा नृत्यको ऐतिहासिक कार्यक्रम मिति १७ जनवरी २०२६ का दिन साँझ ठीक ६:०० बजे गुवाहाटीस्थित अर्जुन भोगेश्वर बरुवा क्रीडा परियोजनामा भव्य र सफलतापूर्वक सम्पन्न भयो। उक्त कार्यक्रमले असमको समृद्ध जनजातीय संस्कृति, परम्परा र सामाजिक एकताको सशक्त सन्देश सम्पूर्ण देश तथा विश्वसमक्ष प्रस्तुत गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्‍यो।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा भारतका माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूको गरिमामय उपस्थिति रहेको थियो। उहाँको उपस्थितिले कार्यक्रममा राष्ट्रिय स्तरको विशेष महत्त्व थपेको थियो। साथै असमका माननीय राज्यपाल श्री लक्ष्मण प्रसाद आचार्यज्यू तथा असमका माननीय मुख्यमन्त्री डा. हिमन्त विश्व शर्मा ज्यूसमेत गौरवमय उपस्थितिमा रहनु भएको थियो। यी विशिष्ट व्यक्तित्वहरूको सहभागिताले असमको संस्कृति, आदिवासी पहिचान र परम्पराप्रति केन्द्र तथा राज्य सरकारको प्रतिबद्धता स्पष्ट रूपमा अभिव्यक्त गर्‍यो।
एकल मञ्चमा १०००० भन्द बडी कलाकारद्वारा प्रस्तुत गरिएको बागुरुम्बा नृत्यले दर्शकहरूलाई मन्त्रमुग्ध बनायो। बोडो समुदायको परम्परागत नृत्य बागुरुम्बा केवल नृत्य मात्र नभई प्रकृति, जीवनशैली र सामूहिक सौहार्दको प्रतीक भएको सन्देश प्रस्तुतिमा स्पष्ट रूपमा झल्किएको थियो। कार्यक्रम स्थलमा उपस्थित हजारौँ दर्शकहरूले तालियाँ र उत्साहका साथ कलाकारहरूको प्रस्तुति अवलोकन गरे।
उक्त ऐतिहासिक सांस्कृतिक कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (आग्सु) का मूल–सचिव श्री नुमल छेत्री पनि विशेष रूपमा सहभागी हुनु भएको थियो। आग्सु मूल–सचिवको उपस्थितिले गोर्खा समुदायको तर्फबाट सांस्कृतिक एकता, सद्भाव र असमको साझा पहिचानप्रति समर्थन प्रकट भएको स्पष्ट संकेत दियो। आग्सु सधैंजसो असमको सामाजिक, शैक्षिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएको सन्दर्भमा यस किसिमको ऐतिहासिक कार्यक्रममा सहभागिता अत्यन्तै अर्थपूर्ण मानिएको छ।
कार्यक्रमको समग्र वातावरण अनुशासित, उल्लासपूर्ण र गौरवमय रहेको थियो। असम सरकारद्वारा आयोजना गरिएको यस ऐतिहासिक बागुरुम्बा नृत्य प्रस्तुतिले विभिन्न समुदायबीच आपसी समझदारी, सम्मान र सहअस्तित्वको भावनालाई अझ मजबुत बनाएको छ। यस कार्यक्रमले असमको विविधताभित्रको एकता भन्ने अवधारणालाई जीवन्त रूपमा उजागर गर्दै भावी पुस्ताका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको सबैको धारणा रहेको छ।

📤 Share this story
Scroll to Top