All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #14
January 22, 2026

आग्सु आम्रेङ–कपिली आञ्चलिक समितिद्वारा पहिलो पटक सञ्चालन गरिएको MCQ परीक्षा सफल, नतिजा सार्वजनिक।

📅 January 22, 2026
✍️ AAGSU
🕒 12:06 AM

पश्चिम कार्बी आङलङ : अखिल असम गोर्खा छात्र संघ (आग्सु), पश्चिम कार्बी आङलङ जिल्ला अन्तर्गत आम्रेङ–कपिली आञ्चलिक समितिको आयोजनामा उच्च माध्यमिक तह (HSLC) का विद्यार्थीहरूलाई लक्षित गरी पहिलो पटक सञ्चालन गरिएको MCQ (Multiple Choice Question) ढाँचाको परीक्षा सफलतापूर्वक सम्पन्न भई यसको नतिजा गत २० जानुवारीका दिन सार्वजनिक भएको छ।
विद्यार्थीहरूको शैक्षिक स्तर मूल्याङ्कन गर्नुका साथै आगामी उच्च माध्यमिक परीक्षाको तयारीमा सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको यस परीक्षा आञ्चलिक समितिको एक ऐतिहासिक तथा दूरदर्शी पहलका रूपमा लिइएको छ।
आग्सु आम्रेङ–कपिली आञ्चलिक समितिले विद्यार्थीहरूको आत्मबल, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित उक्त परीक्षा पहिलो पटक सञ्चालन गरेको हो। परम्परागत लिखित परीक्षाभन्दा फरक, वस्तुनिष्ठ र समय–सचेत तयारीमा सहयोग पुर्‍याउने MCQ ढाँचाको प्रयोगले विद्यार्थीहरूलाई वास्तविक परीक्षा प्रणालीसँग परिचित गराउने विश्वास गरेको छ। यस प्रकारको परीक्षा यस क्षेत्रमा पहिलो पटक आयोजना हुनु आफैंमा प्रशंसनीय कदम मानिएको छ ।
मिति ११ जनवरी २०२६ का दिन पाँचवटा विभिन्न परीक्षा केन्द्रहरूमा एकैसाथ सम्पन्न भएको उक्त परीक्षामा जम्मा ३५० जना परीक्षार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विभिन्न विद्यालय तथा पृष्ठभूमिबाट आएका विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिताले यस कार्यक्रमको आवश्यकता र महत्वलाई स्पष्ट रूपमा उजागर गरेको छ। परीक्षा सञ्चालनको सम्पूर्ण प्रक्रिया अनुशासित, शान्त र व्यवस्थित वातावरणमा सम्पन्न गरिएको जानकारी आञ्चलिक समितिले दिएको छ।
परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने परीक्षार्थीहरूलाई नगद पुरस्कार प्रदान गरिने निर्णय गरिएको छ। साथै प्रथमदेखि दशौँ स्थानसम्म स्थान प्राप्त गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई सम्मानपत्र प्रदान गरिने निर्णय पनि आञ्चलिक समितिले गरेको छ। यस निर्णयले विद्यार्थीहरूमा स्वस्थ प्रतिस्पर्धा विकास गर्नुका साथै अध्ययनप्रति थप रुचि र लगनशीलता बढाउने अपेक्षा गरिएको छ।
उक्त परीक्षाको परिणाम मिति २० जनवरी २०२६ का दिन आग्सुको आधिकारिक वेबसाइट www.aagsu.org मार्फत सार्वजनिक गरिएको छ। परिणाम सार्वजनिक भएसँगै विद्यार्थी, अभिभावक तथा शिक्षक वर्गमा सकारात्मक प्रतिक्रिया देखिएको छ। धेरैले यसलाई विद्यार्थीमुखी र भविष्य निर्माणतर्फ उन्मुख महत्वपूर्ण पहलका रूपमा मूल्याङ्कन गरेका छन्। परिणाम मार्फत शिर्ष स्थानमा रहने विद्यार्थीहरू यस प्रकार छन् –
१) पहिलो स्थान- अनिर्वन नुनिसा
२) दोस्रो स्थान- सारकिरी तोक्बी
३) दोस्रो स्थान- किरसन केम्प्राई
४) तेस्रो स्थान- पूजा सुब्बा
५) चौथो स्थान- सुभम अधिकारी
६) पाँचौं स्थान- अङ्किता सुवेदी
७) छैठौं स्थान- नीरज दाहाल
८) सातौं स्थान- रूपमाहुन बेपी
९) सातौं स्थान- रोनक ठाकुर
१०) सातौं स्थान- गीतेश रय
११) आठौं स्थान- पाचाङ लामा
१२) आठौं स्थान- आशुतोष नुनिसा
१३) नवौं स्थान- उदय छेत्री
१४) नवौं स्थान- सारनोखुम तेराङ
१५) दसौं स्थान- खेमराज छेत्री
१६) दसौं स्थान- सुरज चौहान


यो MCQ परीक्षा आग्सुको कार्यक्षेत्रभित्र सञ्चालन गरिएको एक महत्वपूर्ण शैक्षिक गतिविधि हो, जसले उच्च माध्यमिक परीक्षा दिन तयारी गरिरहेका विद्यार्थीहरूलाई थप ऊर्जा, आत्मविश्वास र प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ। आगामी दिनहरूमा पनि यस प्रकारका शैक्षिक तथा मार्गदर्शक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने अपेक्षा गरिएको छ।
यस महत्वपूर्ण कार्यलाई सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने आग्सु आम्रेङ–कपिली आञ्चलिक समिति, परीक्षा सञ्चालन समिति, स्वयंसेवकहरू तथा सम्पूर्ण सहयोगी हातहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरिएको छ। आग्सुले भविष्यमा पनि विद्यार्थी हितलाई केन्द्रमा राखी यस्ता रचनात्मक तथा परिणाममुखी कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

For result click here :

प्रतिवेदक: रोशन शर्मा- सभापति,आग्सु, आम्रेङ–कपिली आञ्चलिक समिति

📤 Share this story
Scroll to Top