
विश्वनाथ, १५ मार्च २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) विश्वनाथ जिल्ला समितिको सभापति श्रीमान् सुनील सूतार ज्यूको सभापतित्वमा आज जिल्ला वर्धित कार्यकारिणी सभा सम्पन्न भएको छ। उक्त सभामा जिल्ला समितिका पुर्व मूल-सचिव श्रीमान् प्रकाश खनाल ज्यूले नव नियुक्त कार्यवाहक मूल-सचिव श्री नवदीप छेत्री ज्यूलाई आफ्नो दायित्व औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो।
नवदीप छेत्री ज्यूले सभाको उद्देश्य प्रष्ट पार्दै आफ्नो मन्तव्य राख्नुभयो। उहाँले विश्वनाथ जिल्ला समितिको नेतृत्व गर्दै केन्द्रीय समितिको उप-सभापति जस्तो गरिमामय पदमा रहनु भएका श्रीमान् दिलीप गजुरेल दाजु तथा जिल्ला समितिका मूल-सचिवको दायित्व निर्वाह गरिरहनु भएका श्रीमान् प्रकाश खनाल दाजुले आ–आफ्नो पदबाट अवकाश लिइसक्नु भएको जानकारी गराउनुभयो। उहाँहरूले वर्षौँदेखि आग्सु प्रति देखाउनुभएको माया, समर्पण, आस्था, सम्मान र त्याग तथा विभिन्न कठिन परिस्थितिमा प्रदान गर्नुभएको सहयोग, मार्गदर्शन र प्रेरणा सधैं स्मरणीय रहने बताउँदै उहाँहरूको आगामी जीवन सफल र समृद्ध रहोस् भन्ने कामना व्यक्त गर्नुभयो। साथै, उहाँहरूको सम्मानमा यही २१ मार्च २०२६ का दिन विदाई सभाको आयोजना गरिने प्रस्ताव प्रस्तुत गर्नुभयो।
उक्त प्रस्तावलाई जिल्ला समिति अन्तर्गत शिक्षा सचिव नुमल भट्टराई, प्रचार सचिव उमेश शर्मा लगायत उपस्थित सदस्यहरू तथा सभापतिबाट सर्वसम्मत समर्थन प्राप्त भयो। त्यसपछि सभापतिले उपस्थित आञ्चलिक समितिहरूलाई आ–आफ्नो धारणा राख्न आग्रह गर्नुभयो। सो क्रममा सदर, बाघमारा, बिहाली र गोहपुर आञ्चलिक समितिका प्रतिनिधिहरूले प्रस्तावप्रति पूर्ण समर्थन जनाए।
सभामा विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गरियो। पहिलो, बालिचाङ आञ्चलिक समितिलाई पूर्ण रूपमा खारेज गर्ने निर्णय गरियो र एक महिनाभित्र नयाँ समिति गठन गरिने जानकारी दिइयो। उक्त नयाँ समिति नवदीप छेत्री, गंगाराम फुयल, लोहित छेत्री, नुमल भट्टराई र उमेश शर्मा को नेतृत्वमा गठन हुने निर्णय गरिएको छ।

दोस्रो, केन्द्रीय उप-सभापति दिलीप गजुरेल, जिल्ला मूल-सचिव तथा अन्य सदस्यहरूको विदाई समारोह २१ मार्च २०२६ मा विश्वनाथ चारियालीमा आयोजना गरिने निर्णय गरियो। तेस्रो, बिहाली आञ्चलिक समितिबाट पंकज भराली र गोहपुर आञ्चलिक समितिबाट नयन चालिसालाई जिल्ला सदस्यको रूपमा मनोनयन गरिएको छ। चौथो, विश्वनाथ जिल्ला समितिद्वारा आगामी अप्रिल महिनामा रक्तदान शिविर आयोजना गरिने निर्णय समेत गरिएको छ।
अन्त्यमा सभापति श्री सुनील सूतार ज्यूले समापन मन्तव्य राख्दै सभा भंगको घोषणा गर्नुभयो।
प्रतिवेदक: उमेश शर्मा (IT incharge) प्रचार सचिव, विश्वनाथ जिल्ला समिति, आगसु