
तिनसुकिया, ३० मार्च २०२६ : अखिल असम गोर्खा छात्र संघ (आग्सु) तिनसुकिया जिल्ला समितिको पहिलो कार्यनिर्वाहक तथा बर्धित कार्यनिर्वाहक सभा सफलतापूर्वक सम्पन्न भएको छ। जिल्लाको सांगठनिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको उक्त सभा उत्साहजनक सहभागिताका बीच सम्पन्न भएको हो।
सभामा केन्द्र समिति का भारप्राप्त सभापति श्रीमान सञ्जीव चौहान तथा मूल सचिव श्रीमान नुमल छेत्रीको विशेष उपस्थिति रहेको थियो। उहाँहरूको उपस्थितिले सभा थप अर्थपूर्ण र प्रभावशाली बनेको सहभागीहरूले बताएका छन्। सभामा जिल्ला अन्तर्गतका विभिन्न आञ्चलिक समिति, शाखा समिति तथा संगठनका जिम्मेवार पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रारम्भ संगठनको उद्देश्य र सिद्धान्तप्रति प्रतिबद्धता व्यक्त गर्दै गरिएको थियो। त्यसपछि जिल्ला समितिको वर्तमान सांगठनिक अवस्था, विगतका गतिविधिहरूको समिक्षा तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो। विशेषगरी संगठनलाई गाउँ–गाउँसम्म मजबुत बनाउने, नयाँ सदस्यता विस्तार गर्ने तथा युवाहरूलाई संगठनप्रति आकर्षित गर्ने विषयमा गम्भीर विचार विमर्श भएको थियो।
सभामा बोल्दै केन्द्रका भारप्राप्त सभापति श्रीमान सञ्जीव चौहानले संगठनको मजबुतीका लागि तल्लो तहदेखि नै एकता, अनुशासन र सक्रियता अत्यावश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले तिनसुकिया जिल्ला समितिलाई उदाहरणीय रूपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै सबै कार्यकर्तालाई जिम्मेवारीपूर्वक अगाडि बढ्न आह्वान गर्नुभयो। त्यस्तै, मूल सचिव श्रीमान नुमल छेत्रीले संगठनभित्र समन्वय र नियमित गतिविधिको महत्वबारे जोड दिँदै समयानुकूल रणनीति निर्माण गर्नुपर्ने बताउनुभयो।
सभामा गोर्खा समुदायका विविध समस्या, शैक्षिक चुनौती, रोजगारका अवसर, नागरिक अधिकारका सवाल तथा सामाजिक एकताको विषयमा समेत गहन छलफल गरिएको थियो। सहभागीहरूले स्थानीय स्तरमा देखिएका समस्याहरूको पहिचान गरी त्यसको समाधानका लागि संगठनले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखेका थिए। साथै, आगामी दिनहरूमा विभिन्न जनचेतनामूलक कार्यक्रम, विद्यार्थी केन्द्रित गतिविधि तथा सामाजिक पहलहरू सञ्चालन गर्ने निर्णय समेत गरिएको छ।
उक्त सभाले तिनसुकिया जिल्ला समितिलाई अझ संगठित, सशक्त र सक्रिय बनाउने दिशामा महत्वपूर्ण मार्गनिर्देशन प्रदान गरेको विश्वास लिइएको छ। सभाको अन्त्यमा सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै संगठनलाई एकताबद्ध रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
प्रतिवेदक: जतन प्रधान- सांगठनिक सचिव ( IT Incharge) तिनसुकिया जिल्ला समिति।