
बाक्सा, २२ अप्रेल: अखिल असम गोर्खा छात्र संघ (आग्सु), बाक्सा जिल्ला समितिको ऐतिहासिक १९ औं द्वि-वार्षिक अधिवेशन तथा प्रतिनिधि सभा आगामी २ र ३ मईका दिन भव्य रूपमा आयोजना हुने भएको छ। बास्का आञ्चलिक समितिको आतिथ्यमा निकासीस्थित ज्ञानपीठ डिग्री कलेजको प्रेक्षागृहमा हुन गइरहेको यस दुई दिने कार्यक्रममा ‘शैक्षिक सजगता तथा विशेष सम्बर्धना समारोह’ मुख्य आकर्षण रहनेछ। कार्यक्रमको पहिलो दिन अर्थात् २ मई (शनिवार) को बिहान सर-सफाई अभियानबाट अधिवेशनको औपचारिक सुरुवात गरिनेछ। यसलगत्तै मुख्यद्वार उद्घाटन BTC का E.M आगास्टुस टिक्का द्वारा मुख्यद्वारको उद्घाटन गरिनेछ,भने बाक्सा जिल्ला समितिका सभापति पारशमणि पराजुलीले झण्डोत्तोलन र मूल सचिव एमकान्त पौड्यालले शहीद तर्पण गर्नुहुनेछ।
सोही दिन बिहान १०:३० बजे ज्ञानपीठ डिग्री कलेजका भारप्राप्त अध्यक्ष चन्द्रप्रसाद घिमिरेले ‘शैक्षिक सजगता तथा विशेष सम्बर्धना सभा’ को समुद्घाटन गर्नुहुने कार्यक्रम तय भएको छ। उक्त विशेष सभामा आग्सुका कार्यवाहक सभापति सञ्जीव चौहान मुख्य अतिथिका रूपमा उपस्थित हुनुहुनेछ। समारोहमा असम लोक सेवा आयोगका पूर्व अध्यक्ष देवराज उपाध्यायले अति विशिष्ट अतिथिको आसन ग्रहण गर्नुहुनेछ भने आग्सुका मूल सचिव नुमल छेत्री निर्दिष्ट वक्ताको रूपमा सहभागी हुनुहुनेछ। यसैगरी, ए.सि.एस. अधिकृत विजित पाठकले अनुप्रेरक वक्ताको रूपमा विद्यार्थीहरूलाई मार्गदर्शन गर्नुहुनेछ। कार्यक्रममा असम विधानसभाका पूर्व सभामुख विश्वजीत दैमारी र बि.टि.सि. शिक्षा विभागका इ.एम. रविराम नार्जारीको समेत विशिष्ट आतिथ्य रहनेछ।
अधिवेशनको दोस्रो दिन अर्थात् ३ मई (आइतवार) संगठनको प्रतिनिधि सभा सञ्चालन हुनेछ। बि.टि.सि. आग्सुका पूर्व मूल सचिव पृथिविलास भट्टराईले प्रतिनिधि सभा गृहको उद्घाटन गर्नुहुनेछ भने बि.टि.सि. क्षेत्रीय समिति, आग्सुका मूल सचिव राजु सुवेदीले उक्त प्रतिनिधि सभाको विधिवत उद्घाटन गर्नुहुनेछ। गोर्खा विद्यार्थीहरूको हक-हितको संरक्षण र शैक्षिक उन्नयनका लागि हुन गइरहेको यस ऐतिहासिक अधिवेशनमा उपस्थित भई कार्यक्रम सफल बनाइदिन स्वागतकारिणी समितिका सभापति शान्तिराम पोख्रेल, कार्यकारी सभापति शिखरनाथ बराल र मूल सचिव दिपेन्द्र कार्कीले सम्पूर्ण गोर्खा समुदायलाई हार्दिक आह्वान गर्नुभएको छ।
प्रतिवेदक: एमकान्त पौडेल- मूल-सचिव, बाक्सा जिल्ला समिति।