
ढेकियाजुली, ११ अप्रिल २०२६ — हालै घोषित माध्यमिक (HSLC) परीक्षामा क्षेत्रका होनहार विद्यार्थीहरूले हासिल गरेको उल्लेखनीय सफलताले सिङ्गो गोर्खा समाजमा गर्व र उत्साहको माहोल सिर्जना गरेको छ। यसै सफलतालाई सम्मान गर्दै तथा विद्यार्थीहरूको आगामी शैक्षिक यात्रामा प्रेरणा प्रदान गर्ने उद्देश्यले अखिल असम गोर्खा छात्र संघ (आग्सु), ढेकियाजुली आञ्चलिक समितिको पहलमा विभिन्न शाखाहरूमा घरदैलोमै पुगेर अभिनन्दन कार्यक्रम निरन्तर रूपमा सञ्चालन भइरहेको छ।
गत १० अप्रिलदेखि सुरु गरिएको यो अभिनन्दन अभियान अन्तर्गत ढेकियाजुली गाउँ शाखा र गोवालपारा शाखाबाट आरम्भ गरिएको कार्यक्रमले अहिले व्यापकता पाउँदै भोटपारा शाखा, १ नं. सूर्यपुर शाखा र २ नं. सूर्यपुर शाखासम्म विस्तार भएको छ। प्रत्येक शाखामा परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूको घर-घरमै पुगेर सम्मान प्रकट गर्दै उनीहरूको मेहनत र उपलब्धिको उच्च कदर गरिएको छ।
भोटपारा शाखामा आयोजित कार्यक्रममा आग्सुका अभिभावक एवं पूर्व आञ्चलिक सभापति गोपाल नेवारले विद्यार्थीहरूलाई बधाई दिँदै निरन्तर परिश्रम र अनुशासनमार्फत अझ उच्च लक्ष्य हासिल गर्न प्रेरित गर्नुभयो। त्यस्तै, १ नं. सूर्यपुर शाखामा स्थानीय नागरिक समाजले सामूहिक रूपमा सफल विद्यार्थीहरूलाई अभिनन्दन गरेको अवसरमा गोर्खा छात्र संघका पूर्व उपसभापति रमेश सुब्बाले आग्सु ढेकियाजुलीको प्रतिनिधित्व गर्दै विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो। २ नं. सूर्यपुर शाखामा आञ्चलिक समितिका अभिभावक नेत्र बहादुर जोगीले विद्यार्थीहरूको सफलता समाजको गर्व भएको उल्लेख गर्दै उनीहरूलाई निरन्तर अगाडि बढ्न आग्रह गर्नुभयो।
यस अभिनन्दन यात्रामा शोणितपुर जिल्ला आग्सु कार्यनिर्वाहक सदस्य रजत भारद्वाजको सक्रिय उपस्थिति रहेको थियो। उहाँका साथमा आग्सु ढेकियाजुली आञ्चलिक समितिका उपसभापतिद्वय रुद्र छेत्री र अभिषेक खर्का, सह-सचिव गौरव बस्नेत, सांगठनिक सचिव बिपुल बस्नेत, सह-सांस्कृतिक सचिव सोहन खनाल तथा कार्यक्रमका मूल संयोजक एवं शिक्षा सचिव प्राञ्जल निरौला लगायतका पदाधिकारीहरू विभिन्न शाखाहरूमा पुगेर विद्यार्थी, अभिभावक तथा स्थानीय व्यक्तित्वहरूसँग प्रत्यक्ष भेटघाट गर्दै खुशी साटासाट गर्नुभयो।
कार्यक्रमका क्रममा अभिभावकहरू आफ्ना सन्तानको सफलताप्रति अत्यन्त हर्षित देखिन्थे भने आग्सुका प्रतिनिधिहरूले यस्तो उपलब्धिले सम्पूर्ण समाजलाई नै प्रेरणा दिएको धारणा व्यक्त गरे। यस प्रकारको घरदैलो अभिनन्दन कार्यक्रमले विद्यार्थीहरूमा थप आत्मविश्वास वृद्धि हुनुका साथै समाज र संगठनबीचको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ।
आगामी दिनमा पनि यस्ता रचनात्मक तथा प्रेरणादायी कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिँदै आयोजक पक्षले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण शाखा पदाधिकारी, अभिभावक तथा स्थानीय महानुभावहरू प्रति हार्दिक आभार व्यक्त गरेको छ। साथै, समाजका विद्यार्थीहरूले आगामी दिनहरूमा अझ उत्कृष्ट नतिजा हासिल गर्दै समाज र राष्ट्रको नाम उज्ज्वल बनाउने विश्वास व्यक्त गरिएको छ।
प्रतिवेदक : प्राञ्जल खर्का, प्रचार सचिव, ढेकियाजुली आञ्चलिक समिति ।
