All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #28
April 30, 2026

अखिल असम गोर्खा छात्र संघ (आग्सु) नगाउँ जिल्ला समितिको तेस्रो द्वि-वार्षिक अधिवेशनसम्पन्न: रोहित शर्माको अध्यक्षतामा विशाल कार्यसमिति गठन ।

📅 April 30, 2026
✍️ AAGSU
🕒 12:02 AM

कलियाबर,26 अप्रेल: असमका गोर्खा विद्यार्थी तथा आम गोर्खा समुदायको हक, अधिकार, पहिचान र संवैधानिक सुरक्षाका लागि सन् १९७६ देखि निरन्तर संघर्षरत अग्रणी तथा सशक्त संस्था अखिल असम गोर्खा छात्र संघ (आग्सु) को नगाउँ जिल्ला समितिको तेस्रो द्वि-वार्षिक अधिवेशन एवं प्रतिनिधि सभा आज ऐतिहासिक र भव्य रूपमा सम्पन्न भएको छ। कलियाबोरको उगुरीस्थित गोर्खा भवनमा आयोजना गरिएको यस गरिमामय समारोहले गोर्खा समुदायको एकता, साँस्कृतिक संरक्षण र शैक्षिक जागरणको सन्देशलाई पुनः एकपटक दृढताका साथ प्रस्तुत गरेको छ। कार्यक्रममा गोर्खा समुदायका विभिन्न विशिष्ट व्यक्तित्वहरू, विद्यार्थी नेताहरू र स्थानीय जनसमुदायको उत्साहजनक सहभागिता रहेको थियो जसले संगठनको लोकप्रियता र यसप्रतिको जनविश्वासलाई प्रस्ट पारेको छ।


यस महत्वपूर्ण अधिवेशनमा अतिथिका रूपमा नगाउँ जिल्ला समितिका संस्थापक मूल-सचिव, केन्द्रीय समितिका शिक्षा विभागका पूर्व सदस्य तथा वर्तमान जिल्ला समितिका सल्लाहकार श्रीमान लेखनाथ शर्माको गरिमामय उपस्थिति रहेको थियो। उहाँका साथै कलियाबोर भानु समितिका सभापति श्रीमान् खरानन्द उपाध्याय र स्थानीय प्रतिष्ठित समाजसेवी श्रीमान् पुष्प क्षेत्रीले पनि विशिष्ट अतिथिको आसन ग्रहण गर्दै नवयुवाहरूलाई समाज सेवा र संगठनात्मक सुदृढीकरणका दिशामा महत्त्वपूर्ण मार्गदर्शन गर्नुभएको थियो। अधिवेशनको सम्पूर्ण निर्वाचन तथा समिति गठन प्रक्रियालाई पारदर्शी र विधिवत् रूपमा सम्पन्न गर्नका लागि आग्सु केन्द्रीय समितिको तर्फबाट केन्द्रीय सूचना एवं प्रविधि (आईटी) सचिव किरण खर्का र केन्द्रीय कार्यकारिणी सदस्य खगेन्द्र थापाले केन्द्रीय पर्यवेक्षकको महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। उहाँहरूकै प्रत्यक्ष रोहबर र सुपेरिवेक्षणमा पुरानो समितिलाई विघटन गरी आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्वको चयन गरिएको हो।


संगठनलाई अझ बढी गतिशील, सशक्त र जनमुखी बनाउने उद्देश्यका साथ प्रतिनिधि सभाको सर्वसम्मत निर्णयबाट रोहित शर्माको अध्यक्षतामा नगाउँ जिल्ला समितिको नयाँ कार्यसमिति गठन गरिएको छ। समितिको मूल-सचिव जस्तो महत्त्वपूर्ण र गहन जिम्मेवारी रोशन बराललाई सुम्पिएको छ। त्यसैगरी, जिल्लाका विभिन्न क्षेत्रहरूलाई समेट्दै संगठनको कार्यभारलाई प्रभावकारी ढङ्गले बाँडफाँड गर्न पाँच जना उपाध्यक्षहरू चयन गरिएको छ, जसमा शुभम दमाई, पवन निरौला, प्रितम पोख्रेल, नेत्र क्षेत्री र विनिता रिकोब रहनुभएको छ। मूल-सचिव लाइ कार्यसम्पादनमा सघाउनका लागि अविनाश क्षेत्री, नारायण क्षेत्री, प्रियंका देवी र युवराज खतिवडालाई महासचिवको रूपमा निर्वाचित गरिएको छ। यसले कार्यसमितिमा युवाहरूको ऊर्जा र सहभागितालाई सुनिश्चित गरेको छ।


संगठनको आधारभूत संरचनालाई मजबुत बनाउने र गाउँ-गाउँसम्म आग्सुको अभियानलाई पुर्‍याउने उद्देश्यले संगठनिक सचिवको जिम्मेवारी अन्जन तामाङ, दीपक मिजार र सञ्जीव शर्मालाई दिइएको छ। यसैगरी, संघका गतिविधिहरूलाई आम जनमानसमा पुर्‍याउन प्रचार सचिवको रूपमा जिन्टु क्षेत्री, सुरज शर्मा र टीका उपाध्यायलाई मनोनयन गरिएको छ। विद्यार्थीहरूको शैक्षिक हकहितमा काम गर्न शिक्षा सचिवमा युवराज शर्मा, संगठनको वैचारिक दृष्टिकोणलाई मुखपत्रमार्फत प्रस्तुत गर्न मुखपत्र सचिवमा पंकज निरौला र नन्दलाल उपाध्यायलाई चयन गरिएको छ। गोर्खा कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सांस्कृतिक सचिवमा कबित निरौला र विपुल क्षेत्रीलाई चयन गरिएको छ भने उहाँहरूलाई सहायक सांस्कृतिक सचिवको रूपमा चन्द्र विश्वकर्माले साथ दिनुहुनेछ। यसका अतिरिक्त, कार्यालय सचिवको जिम्मेवारी जगदीश पोख्रेललाई, स्वयंसेवकहरूको नेतृत्व गर्न स्वयंसेवक प्रमुखमा निकाराम शर्मा र दिलीप शर्मालाई तथा प्रविधिको युगमा संगठनलाई डिजिटल रूपमा अद्यावधिक राख्न आईटी सचिवमा अर्पण कौशिकलाई सर्वसम्मतिले चयन गरिएको छ।


कार्यसमितिलाई पूर्णता दिँदै र सबै क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्दै अन्य दस जना सक्रिय सदस्यहरूलाई पनि नयाँ समितिमा समावेश गरिएको छ। जसमा किशोर उपाध्याय, टीका शर्मा, सञ्जीव ढकाल, विवेक शर्मा, सुरज क्षेत्री, अंकिता देवी, चन्द्र बहादुर क्षेत्री, जिन्टु शर्मा, मोहन थापा र राजु शर्मा रहनुभएको छ। यसरी सर्वसम्मतिले चयन भएको सम्पूर्ण कार्यसमितिको प्रस्तावित रूपरेखालाई केन्द्रीय पर्यवेक्षकद्वय किरण खर्का र खगेन्द्र थापाले आधिकारिक रूपमा हस्ताक्षर गरी विधिवत् अनुमोदन गर्नुभएको छ। नवगठित समितिले आगामी दिनमा नगाउँ जिल्लाका गोर्खा विद्यार्थीहरूको शैक्षिक स्तरोन्नति, समाजमा व्याप्त कुरीतिहरूको अन्त्य र गोर्खा पहिचानको संरक्षणका लागि अझ सशक्त रूपमा काम गर्ने प्रतिबद्धता जाहेर गर्दै यो ऐतिहासिक तेस्रो द्वि-वार्षिक अधिवेशन सफलतापूर्वक समापन भएको छ।

प्रतिवेदक: अर्पण कौशिक- सुचना एवं प्रविधि सचिव, नगाँउ जिल्ला समिति।

📤 Share this story
Scroll to Top