
तिनसुकिया, २८ अप्रिल २०२६ तिनसुकिया जिल्ला र यसका विभिन्न अञ्चलहरूमा लागुऔषध (ड्रग्स) को बढ्दो प्रकोपले युवा पुस्तालाई गम्भीर रूपमा ग्रसित बनाउन थालेपछि अखिल असम गोर्खा छात्र संघ (आग्सु) तिनसुकिया जिल्ला समितिले यस विरुद्ध कडा कदम चालेको छ। समाजलाई धमिराले झैँ भित्रभित्रै खोक्रो बनाइरहेको यस कालरूपी ड्रग्सको जालो तोड्न र युवाहरूलाई अकाल मृत्युबाट बचाउन सोमबार (२७ अप्रिल) आग्सुको एक प्रतिनिधिमण्डलले तिनसुकियाका ज्येष्ठ पुलिस अधीक्षकसँग विशेष भेटघाट गर्दै एक गम्भीर स्मारक पत्र (ज्ञापनपत्र) प्रदान गरेको छ।
पछिल्लो समय तिनसुकिया जिल्लाका विभिन्न क्षेत्रहरूमा लागुऔषधको अवैध व्यापार र सेवन चिन्ताजनक रूपमा बढेको छ। आग्सु नेतृत्वका अनुसार, जसरी धमिराले काठलाई भित्रभित्रै खाएर सखाप पार्छ, त्यसरी नै ड्रग्सले नवप्रजन्मका युवाहरूको भविष्य र जीवन निल्दै गइरहेको छ। यस ज्यानमारा कुलतले गर्दा कयौँ आमाहरूको काख उदाङ्गो भइसकेको छ भने धेरै परिवारहरू आँसुको आहालमा डुबेका छन्। अब उप्रान्त कुनै पनि आमाबुवाका सन्तानले कलिलै उमेरमा ड्रग्सका कारण मृत्युको मुखमा पर्नु नपरोस् भन्ने अत्यन्तै संवेदनशील र पवित्र उद्देश्यका साथ आग्सुले पुलिस प्रशासनको ध्यानाकर्षण गराएको हो।
तिनसुकियाका ज्येष्ठ पुलिस अधीक्षकको कार्यालयमा पुगेर आग्सुको टोलीले ज्ञापनपत्र मार्फत लागुऔषधको बढ्दो बिगबिगी तत्काल नियन्त्रण गर्न जोडदार माग गरेको छ। समाजमा खुलेआम वा लुकिछिपी भइरहेको ड्रग्सको आपूर्ति शृंखला तोड्न, तस्करहरूलाई पक्राउ गरी कडा कानुनी कारबाही गर्न र युवाहरूलाई यसको जालोबाट मुक्त गर्न पुलिस प्रशासनले अझै कठोर कदम चाल्नुपर्ने कुरामा संगठनले जोड दिएको छ।
समाजलाई लागुऔषध मुक्त बनाउने यो गम्भीर अभियानअन्तर्गत ज्येष्ठ पुलिस अधीक्षकलाई स्मारक पत्र सुम्पिन आग्सु तिनसुकिया जिल्ला समितिका शीर्ष अगुवाहरूको उपस्थिति रहेको थियो। उक्त प्रतिनिधिमण्डलमा जिल्ला समितिका मुख्य सल्लाहकार अशोक लामा, सभापति देव गुरुङ, उप-सभापतिद्वय शेखर गुरुङ र मिलन शर्माका साथै पूर्व मूल सचिव रबी छेत्री सहभागी हुनुहुन्थ्यो। यसका साथै आग्सु तिनसुकियाले समाजको यो भयानक शत्रुलाई परास्त गर्न पुलिस प्रशासनका साथसाथै स्थानीय जनता, अभिभावक र सम्पूर्ण संघ-संस्थाहरूलाई एकजुट भएर हातेमालो गर्न आह्वान समेत गरेको छ। युवा पुस्तालाई बचाउने यो अभियानमा अब सबैको सामूहिक पहल अपरिहार्य बनिसकेको छ।
प्रतिवेदक: जतन प्रधान- सांगठनिक सचिव (IT Incharge), तिनसुकिया जिल्ला समिति।